पक्राउ परेका पत्रकारको रिहाईको माग गर्दै काभ्रे महासंघद्वारा धर्ना

धुलिखेल – पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाई गर्न माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । सोही कार्यक्रम अनुसार पत्रकार महासंघ जिल्ला शाखा काभ्रेले पनि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना कार्यक्रम गरेको छ ।

महासंघले बिहीबार विहान ९:३० बजेदेखि १०:३० बजेसम्म एकघण्टा जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडी धर्ना दिएको छ । धर्ना पश्चात नेपाल पत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदुनाथ देउपुरे, पूर्व अध्यक्ष भोजराज तिमल्सिनाले पत्रकारलाई स्वतन्त्र पूर्ण लेख्न पाउने सरकारले ग्यारेन्टी गर्नुपर्ने माग गर्नुभयो ।

उक्त कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् पत्रकार अर्जुन गिरी पत्रकारलाई विनाशर्त रिहाई नगरे थप आन्दोनका कार्यक्रम गर्ने बताउनुभयो ।

पत्रकार गिरीलाई प्रहरी महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेर हिरासतमा राखेको छ । समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने भए पनि प्रहरीले पक्राउ गरेपछि पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।