काठमाडौं : काठमाडौं उपत्यकाका सवारी साधनमा जोरबिजोर प्रणालीमा लागू हुने भएको छ । भोलि (शुक्रबार) बाट उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेको हो। आदेश जारी गर्नुअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले बिहीबार यस्तो आदेश जारी गरेको हो।
आदेश शुक्रबार राति १२ बजेदेखि लागू हुने काठमाडौंकी निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन्। अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि यो आदेश जारी गरिएको उनले बताइन्। यसैगरी, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य, सेनिटाइजरको वव्यवस्था, चालक र सहचालकले फेस सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्ने, मासस्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश नदिने प्रशासनको आदेशमा उल्लेख छ।
लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरूदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने, यात्रुहरूको विवरण जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउनुपर्ने छ। यस्तै, आदेशमा लामो दुरीमा चल्ने यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण व्यवस्था मिलाउन भनिएको छ।
आदेश औषधी, स्वास्थ्य सामग्री बोक्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास तथा पेट्रोलियन पदार्य बोकेका साधन, पशुपन्छीका दाना, अण्डा, फलफूल, खाद्यान्न, तरकारी र माछामासु बोकेका साधनबाहेकमा लागू हुने छ।



















