तीन एआईजीका लागि २० डीआईजी प्रतिस्पर्धामा

काठमाडौं : सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेसँगै आकांक्षीहरूको दौडधुप सुरु भएको छ । स्थानीय तह निर्वाचन आचारसंहित लागु हुनुअघि नै एआईजीहरूको टुंगो लगाउने तयारी भएको छ ।
एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । हाल नेपाल प्रहरीमा जनपदतर्फ २० डीआईजी छन् । २० मध्ये १३ जना हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची छन् भने अरू सात आईजीपी क्षेत्रीकै वैकल्पिक हुन् । २० जना नै एआईजीका दाबेदार हुन् । तर, शक्तिकेन्द्रले चाहेकै व्यक्ति वढुवामा पर्ने सम्भावना बढी रहने यसअघिका घटनाक्रमले देखाउँदै आएको छ ।
आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् ।
हाल कायम रहेका पाँच एआईजीमध्ये विश्वराज पोखरेल र सहकुल थापा आईजीपी क्षेत्रीका वैकल्पिक हुन् । उनीहरू र उनीहरूकै ब्याचबाट थपिएका एआईजीमध्येबाट एकजना आईजीपी हुने सम्भावना छ । तीनजना थपिएसँगै प्रहरीमा एआईजीको संख्या आठ पुग्नेछ ।थपिएको एआईजी दरबन्दीमा आईजीपीका ब्याची पर्छन् वा पोखरेल, थापाकै ब्याची पर्छन् त्यो टुंगो छैन ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले भने एआईजी दरबन्दी बढाउने निर्णयबारे अनविज्ञता प्रकट गरेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेल र प्रहरी प्रवक्ता विष्णुकुमार केसीले दरबन्दी थपिएको बारे जानकारी नभएको बताए ।
हाल एआईजीको दौडमा वसन्त पन्त, ईश्वरबाबु कार्की, उमेश रन्जितकार, प्रकाशजंग कार्की, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी, गणेश ऐर, दिवेश लोहनीलगायत छन् ।
तर, एआईजी बन्ने चर्चामा धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्कीको नाम छ ।
अहिलेको अवस्थामा एआईजी बन्न पाए आफूहरूको आईजीपीको दौड कायमै रहने सिंह, धानुक, सुवेदी, लामाहरूको बुझाइ छ । तर, अहिले एआईजी नभएमा उनीहरू पोखरेल वा थापामध्ये एकजना आईजीपी बनेपछि एआईजी बन्नेछन् ।
स्रोतका अनुसार गृहले एक–दुई दिनमै एआईजीबारे टुंगो लगाउने तयारी गरेको छ । बढुवा समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदले एआईजी बढुवा गर्ने व्यवस्था छ ।