‘सदस्यहरुको हितको लागि काम गर्नु नै संस्थाको प्रमुख उद्देश्य हो’ : प्रबन्ध निर्देशक कार्की

पछिल्लो समय काभ्रे जिल्लामा सहकारी संस्थाहरुको संख्यामा बृद्धि हुदैँ गएको छ । जिल्लामा सञ्चालित सहकारी संस्थाको अवस्था र संस्थाहरु के–कसरी सञ्चालित भएका छन् लगायतका विषयलाई केन्द्रित गरेर आईकोनिक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रे बनेपाका प्रबन्ध निर्देशक दिपेश कार्कीसँग यस अंकमा कुराकानी गरेका छौँ । संस्थाका निर्देशक कार्कीसँग बेथानचोक खबर डटकमले गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

० तपाइको बुझाईमा सहकारी भनेको के हो ?
स्वाबलम्बन, उत्तरदायित्व, लोकतन्त्र, समानता, समता, एक्यवद्धता, ईमान्दारिता, खुलापन, सामाजिक उत्तदायित्व लगायतका मूल्य बोकी विभिन्न व्यक्तिहरूले स्वेच्छिक रुपमा आफ्नो सामाजिक, आर्थिक र सांस्कृतिक हितका लागि स्थापना गरेको स्वायत्त संस्था हो। सहकारीले एकै स्थानमा बसोबास गर्ने व्यक्तिहरूको स्वामित्व र व्यवस्थापनमा रहेको गैर नाफामुलक संस्था तथा व्यापारलाई समेत समावेश गर्नु नै सहकारी हो ।

० तपाइके संस्थाको परिचय दिनुहोस न ?
यस आईकोनिक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडानं १० मा अवस्थित छ । यस संस्था आर्थिक वर्ष २०७३÷२०७४मा तात्कालिन डिभिजन सहकारी कार्यालयमा दर्ता भई संचालनमा आएको हो । स्थापनाकाल देखि नै व्यवस्थापकको रुपमा रही सहकारी अभियान, प्रबर्धन, दिगो विकास र संस्थाको बृहत्तर हितका लागि कार्यरत छु ।

० यस संस्थाको प्रमुख उदेश्य के हो ?
सहकारी संस्थाको प्रमुख उदेश्य भनेको सधै सदस्यहरुको हितको लागि काम गर्नु हो । केहि गर्न चाहने जस्तैः कृषि व्यवसाय, पशुपालन, उद्योग, कलकारखाना, पसल व्यापार लगायतका व्यवसायमा सदस्यहरुलाई सर्वसुलभ ब्याजदरमा ऋण लगानी गर्नु, सदस्यहरुको आर्थिक, सामाजिक अनि व्यवसायिक जीवन विकासमा टेवा प¥याई, सबल र सक्षम सदस्यहरुको सहकारी बन्नु नै हाम्रो प्रमुख उद्देश्य हो ।

० आर्थिक कारोबारको अवस्था के छ अहिले ? आर्थिक कारोबारमा सन्तुष्ट हुनुहुन्छ ?
यस संस्थाको आर्थिक कारोबार सन्तोषजनक रहेको छ । तर बिगतमा समग्र वित्तीय क्षेत्रमा अस्वस्थ लगानीको प्रतिस्पर्धा भयो । त्यो लगानी मूलतःअनुत्पादक क्षेत्रमा भयो । कतिपय अवस्थामा बचतले धान्नेभन्दा धेरै बढी रकम यो अनुत्पादक क्षेत्र जस्तै नाफाका निम्ति निर्माण गरिने आवास क्षेत्र, जग्गाको चकलान्दी, विलासिताका गाडीहरू आदिमा लगानी भयो ।
अर्थात अर्थतन्त्र दिगो रूपमा चलायमान बनाउने क्षेत्र जस्तै उत्पादन, पूर्वाधार विकास र अनुसन्धान एवं प्रविधिको विकास आदिमा लगानी भएन वा नगन्य मात्र भए। जसले गर्दा बिगत केहि समयदेखि तरलता संकट समग्र वित्तीय क्षेत्रले सामना गर्नु परिरहेको अवस्था छ । यस किसिमको प्रतिकुल अवस्थामा पनि हामीले हाम्रो यस संस्थाको सम्पूर्ण वित्तीय सेवा तथा सविधा सदस्यहरुलाई पूर्ण रुपमा उपलब्ध गराउदै आएका छाँै । समग्रमा यस संस्थाको आर्थिक कारोबारमा म सन्तुष्ट रहेको छु ।

० यस संस्थाको लगानीका क्षेत्रहरु के के हुन् ?
मुलत हामी बनेपा नगर भित्र रही कारोबार गर्दै आईरहेका छौ । यस संस्थाले आफ्नो स्थापनाकाल देखिनै यस नगरभित्र बसोबास गर्ने मानिसहरुको व्यवसायमा टेवा पु¥याउने हेतुले कार्य गर्दै आएका छौ । कृषि व्यवसाय, पशुपालन, पसल, व्यापार, सवारी साधन, साना तथा घरेलु व्यवसाय जस्तैः सिलाई, बुनाई, हस्तकला सम्बन्धि व्यवसाय, लगायतका क्षेत्रहरुमा लगानी गर्दै आईरहेका छौ ।

० कर्जा कसरी खराब बन्न पुग्छ ? कर्जा प्रवाह गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
जुन क्षेत्रमा लगानी गरिएको हो सोहि क्षेत्रमा सदस्यहरुले लगानी नगरिदिदा र सहकारीबाट लगानी गर्नुपूर्व गर्नुपर्ने अन्वेषण र ताकेतामा कमीका कारण कर्जा खराब बन्न पुग्छ । आजकाल ऋण तिर्नकै लागि ऋण लिने प्रवृतिले पनि धेरैजसो ऋण खराब बन्ने गर्दछ । अनुत्पादनमुलक क्षेत्रमा लगानी गर्नुहुन्न, सदस्यहरुको वर्तमान आर्थिक अवस्था, आचरण, ऋण फिर्ता गर्न सक्ने क्षमता , स्वःपुँजी, धितो आदिका बिषयमा अध्ययन गरी कर्जा प्रवाह गर्नुपर्दछ ।

० अहिलेको समयमा सहकारीले मूल्य र सिद्धान्तहरु पालना गरेको छन् त ?
जबसम्म सहकारीलाई सिमित व्यक्तिको स्वार्थ पूर्ति गर्न र सहकारी एक व्यवसाय भन्ने सोचबाट माथि उठ्न सकिन्न तबसम्म सहकारीको मूल्य र मान्यता पालना गरेको ठहर्दैन । केहि सिमित सहकारी मात्र छन् जसले सहकारीको मुलभाव बुझी सहकारीको मुल्य र मान्यतामा अडिग रही कार्य गर्दै आईरहेका छन् ।

० सहकारी क्षेत्रमा अहिले देखिएका प्रमुख चुनौतिहरु के हुन् ?
राज्यबाट प्रतक्ष्य रुपमा नियमन नहुनु, सहकारीलाई व्यापारको दृष्टिकोणबाट हेरिनु, व्याजदरका विषयमा दुविधा, कर्जा जोखिम, देखासिखी, सहकारी सम्बन्धि ठोस कानुनको अभाव जस्ता विषयहरु सहकारी क्षेत्रमा अहिले देखिएका चुनौतिहरु हुन् ।

० सहकारी क्षेत्रमा देखिएका समस्या कसरी समाधान गर्न सकिन्छ ?
अस्वस्थ प्रतिस्पर्धा नगरी संख्यामा भन्दा गुणस्तरमा ध्यान दिई, प्रचलित सहकारी ऐनमा रही कार्य गर्न विभिन्न रणनीति तथा योजना बनाई तर्जुमा गर्ने, सहकारी सूचना केन्द्रको स्थापना गर्नुको साथै राज्यबाट सहकारीले कानुनको परिपालना गरि कार्य गरे–नगरेको नियमन गर्ने, नियमको परिपालना गराई कार्य गरेको खण्डमा सहकरी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिन्छ।

० अन्त्यमा , यस संस्थाको भावी रणनीति तथा योजना के छन् ?
सदस्यहरुको हितलाई नै सर्वोपरी ठानी भावी दिनहरुमा अझ सबल र सुध्रिढ समुदायमा आधारित वित्तीय सेवा प्रदान गर्ने हाम्रो रणनीति रहेको छ । केहि गर्न चाहाने युवा, महिला तथा विपन्न बर्गको सदस्यहरुको लागि सीपमूलक तालिमको आयोजना गरी रोजगारीको अवसरहरु सृजना गर्ने, संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका दायित्व बहन गर्नेका साथै सहकारी शिक्षा लगायतका कार्यक्रम र योजनाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस