
काभ्रे : जिल्लाको बनेपा नगरपालिकालाई व्यापारिक नगर पनि भनिन्छ । छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखाको व्यापारिक केन्द्र पनि हो बनेपा ।
व्यापारिक केन्द्रको पहिचान बनाएको बनेपा नगपालिकाले विकासका धेरै राम्रा कामहरु गरेतापनि फोहोर मैला व्यवस्थापनमा भने नराम्रोसँग चुकेको छ । त्यसो त संघीयताले स्थानीय तहलाई दिएको अधिकारमध्ये फोहोर मैला व्यवस्थापन पनि हो । तर आफूले पाएको अधिकार बनेपा नगरपालिकाले पाँच वर्ष बित्नै लाग्दा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेन । जसको परीणाम स्वरुप बनेपाको मुख्य बजारमै स्थानीयहरु नाक थुनेर हिँड्न बाध्य छन् ।
बनेपा नगरपालिकाको पूर्वतर्फ गोदामचोक लाग्दै गर्दा, त्यस बाटो भएर हिँड्ने जो कोही नाक नथुनी हिँडन सक्दैन । हेर्दा, लाग्छ, नगरको डम्पिङ साइट हो । सडक पेटीमा जथाभावी रुपमा फोहोर फालिएका छन् । पैदल यात्री नाक थुन्दै फोहोरमाथि कुल्चिएरै हिँडन बाध्य छन् । बनेपा नगरपालिका वडा नं २ का स्थानीय गंगाराम घिमिरे बनेपाका मुख्य सडकमा हिँड्दा नाक छोपेर हिँड्नुपर्ने बाध्यता भएको सुनाउँछन् ।
नगरपालिकाले नाकको डाँडी मात्रै सफा गरेर सिंगो नगर नै सफा गरेको भन्दै गर्वको महशुस गरेको घिमिरे बताउँछन् । उनका अनुसार यो दृश्य बनेपाको भित्रि सडकका धेरै स्थानमा देखिँदा पनि नगरपालिका भने नदेखेझैँ पानीमाथिको ओभानो हुन खोज्छ । सडक छेउमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै भएको उनले बताए । ‘हामीलाई बानी परेको जस्तै भइसक्यो, स्थानीय सरकार सुन्दैन, नगरबासी फोहोर फाल्न छाड्दैनन् ,’ घिमिरेले थपे ।
बनेपा नगरपालिकामा कर्मचारी नै नभएको हो त ? पक्कै पनि हैन । काभ्रेका १३ वटा स्थानीय तहमध्ये बनेपा नगरपालिकामा सबैभन्दा धेरै सफाइका कर्मचारी छन् । नगरपालिकासँग दुई वटा ट्याक्टर,एउटा टिपर र २३ जना सरसफाईका कर्मचारी छन् । नगरसँग भएको उक्त श्रोत र साधन त्यस क्षेत्रको सरसफाईमा प्रयोग हुँदैनन् । नगरपालिकाले सरसफाईका लागि तयार पारेको कार्यतालिकामा मानिसको जनघनत्व हुने स्थानमा पर्दैन ।
नगरपालिकाले हरेक वर्ष आफ्नो निति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई प्राथमिकता दिनुको साथै उक्त शीर्षकमा लाखौँको बजेट विनियोजन पनि गरेको छ । हरेक वर्ष लाखौँको बजेटको बिनियोजन भए अनुसार नगरमा सरसफाईको क्षेत्रमा उदाहरणीय काम भएको दस्तावेज बनेपा नगरपालिकासँग छैन ।
उल्लेखित तथ्याङकले नगरपालिकाले फोहोर मैला व्यवस्थापन र सरसफाईका विषयलाई ठूलो महत्व दिएको देखिन्छ । बनेपा नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेपनि आर्थिक वर्ष २०७७/०७८ को आफ्नो निती तथा कार्यक्रम पुस्तक(रातो किताब) मै यो विषयलाई उल्लेल्ख गरेको छैन ।स्थानीय सरकार सञ्चालन कार्यविधिले रकमान्तर गर्न पाउने प्रावधानभित्र रहेर वातावरण तथा विपद व्यवस्थापन शीर्षकबाट उक्त शीर्षकको समायोजन गरिएको नगरपालिकाको लेखा शाखाले जनाएको छ । तर रकमान्तर गरेको भन्ने विषय पुष्टि गर्ने खालको विवरण नगरपालिकासँग छैन । यी शीर्षकमा विनियोजनमा भएका बजेट कहाँ कसरी खर्च भयो भन्नेबारे विस्तृत विवरण पनि नगरपालिकासँग नभएको नगरपालिकाको लेखा शाखाले जनाएको छ ।
४० वर्ष अघिको बनेपा
तुलनात्मक रुपमा आजभन्दा ४० वर्ष अघिको बनेपा सहर निकै सफा रहेको स्थानीयहरु बताउँछन् । बनेपका स्थानीय तेज रत्न शाक्यले देखेको ४० वर्ष अघिको बनेपा बजार सफा अनि सुन्दर थियो । उनी अहिले ६० वर्षका भए । उनी स्मरण गर्छन्, ‘त्यो बेलामा प्लाष्टिकको प्रयोग कम हुने भएकाले फोहोर व्यवस्थापनमा समस्या नै थिएन । अहिलेजस्तो जथाभावी फोहोर फालिदैँनथ्यो । घरबाट निस्कने फोहोर कम्पोष्ट मलको रुपमा प्रयोग गरेर व्यवस्थापन गरिन्थ्यो ।’ तर अहिलेको अवस्था विगतको जस्तो छैन । अहिले बनेपा नगरपालिकाका लागि फोहोर व्यवस्थापनको विषय ठूलो चुनौती बन्न पुगेको छ शाक्य बताउँछन् ।
बनेपा नगरपालिका २०३९ सालमा स्थापना भयो । नगरपालिकाको स्थापनाकालसम्म पनि बनेपा सफा भएको शाक्यलाई सम्झना छ । उनका अनुसार नगरपालिका स्थापनाको १/२ वर्ष पछि मात्रै बनेपामा फोहोर संकलनको कार्य सुरु भएको हो । त्यस समयमा फोहोर व्यवस्थापनमा नगरपालिकाले गरेको राम्रो कार्य उनको मानसपटलमा अझै पनि ताजै छ ।
‘नगरपालिकाले फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्ने राम्रो अभ्यासको सुरुवात भएको थियो,’ उनी सम्झन्छन्, ‘पुनःप्रयोगमा आउने प्लास्टिकलाई राख्ने र प्रयोग गर्न नमिल्नेलाई फोहोरको कन्टेनरमा पठाउने गरिएको थियो ।’ नगरपालिकाको उक्त अभ्यास दीर्घकालिन रुपमा अघि बढ्न नसकेकाले पनि फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको उनी बताउँछन् । आजभन्दा ४/५ वर्ष अघिसम्म नीजि क्षेत्रबाट पनि प्लाष्टिकजन्य पदार्थको व्यवस्थापनका लागि नयाँ अभ्यासको थालनीको गरेको उनलाई सम्झना छ । उनी भन्छन्, ‘प्रयोगमा आएका प्लाष्टिकहरु संकलन गर्ने व्यक्तिहरु आउथेँ । तर अचेल प्लाष्टिक संकलकहरु आउँदैनन् ।’
नगरपालिकाले धुलिखेल, पनौती र बनेपाको सिमाना हाल बनेपा नगरपालिकाको वडा नं ७ स्थित आइटी पार्क अगाडी २०५१ सालमा २९ रोपनी जग्गा खरिद ग¥यो । २०५४ सालबाट त्यस क्षेत्रलाई नगरपालिकाले फोहोर विर्सजन केन्द्र (डम्पिङ साइट) बनायो । २०५४ सम्म उक्त स्थानमा ठूलो बस्ती थिएन । विर्सजन केन्द्र स्थल वरपर एक दुई वटा मात्र घरहरु थिए । बिस्तारै त्यस ठाउँमा बस्ती बिस्तार हुदैँ गयो भने फोहोरको थुप्रो पनि चुलिन थाल्यो । त्यो समयमा नगरपालिकाले यहाँ फोहोर फाल्ने ठाउँ बनाउन लागिएको होइन, यहाँ केही उद्योग स्थापना गर्ने जस्ता आर्कषक काम गर्ने भनेर झुटो आश्वासन दिएको स्थानीय टिका प्रसाद हुमागाई बताउँछन् ।
उनका अनुसार छोटो समयका लागि मात्र यहाँ फोहोर राखिने भनेर नगरपालिकाले २० वर्षसम्म फोेहोर राख्यो । जसले गर्दा वातावरण प्रदूषणमा बृद्धि हुनुको साथै खेतीयोग्य जमिनमा समेत असर परेको हुमगाईले बताए ।फोहोरका विषयलाई लिएर नगरपालिकाविरुद्ध स्थानीयले पटकपटक विरोध गरे । अन्ततः बनेपा नगरपालिकालाई फोहोर फाल्न नदिनका लागि दबाब स्वरुप स्थानीय र शैक्षिक संस्था (एसओएस), राजनितिक दलहरु मिलेर २०६९ साल भदौ ५ गते डम्पिङ साइटको विस्थापनाका लागि संघर्ष समिति नै गठन भयो ।
फोहोर फाल्न नदिनका लागि समितिले नगरपालिकालाई पटक पटक अल्टिमेटम दिएको संघर्ष समितिका सचिव टिका प्रसाद हुमागाईले बताए । उनका अनुसार यस विषयमा नगरपालिकासँग धेरै पटक छलफल भयो । तर पनि नगरपालिकाले अटेरी गर्दै फोहोर फाल्ने कामलाई निरन्तरता दिइरह्यो । ‘नगरपालिकासँगको धेरै पटकको छलफलबाट पनि कुनै निष्कर्ष निस्किएन,’ उनले भने, ‘अब छलफल गर्नुको फाइदा नभएको भन्दै समितिले कानुनी बाटो रोज्ने तर्खर गरेको थियो ।’
तर कानुनी बाटोतर्फ नलाग्दै २०७४ मंसिरको दोस्रो साता फोहोर विर्सजन स्थलमा नसोचेको घटना भयो । साँझको समयमा फोहोरको थुप्रोमा आगलागी भयो । कसले आगो लगायो भन्ने कुराको अहिलेसम्म पहिचान हुन सकेको छैन । आगो नियन्त्रणका लागि ठूलो संघर्ष गर्नु परेको स्थानीय बताउँछन् । तीन दिनसम्म त्यस क्षेत्र मात्र होइन सिंगो पनौती, बनेपा र धुलिखेलका नगरबासीहरु समेत धुवाजन्य प्रदूषणको सिकार हुन पुगेको संघर्ष समितिका सचिव हुमागाईले बताए ।
फोहोरमा आगलगाी भएपछि संघर्ष समितिले नगरपालिकालाई त्यस क्षेत्रमा फोहोर फाल्न पूर्ण रुपमा अवरोध श्रृजना गर्यो । २० वर्षसम्म यस ठाउँमा फोहोर फाल्न दिँदा पनि नगरपालिकाले यस विषयमा दीर्घकालिन योजना बनाएर काम गर्न नसकेको संघर्ष समितिका सचिव हुमागाई बताउँछन् । उनका अनुसार हामीले संघर्ष समिति नबनाएको भए, त्यसरी आन्दोलन नगरेको भए, नगरपालिकाको डम्पिङ साइट अहिलेसम्म पनि यहीँ हुन्थ्यो ।
फोहोर व्यवस्थापनका लागि निजि संस्थासँग सहकार्य
फोहोर फाल्न त्यस ठाउँमा निषेध भएपछि नगरपालिकाले निजी क्षेत्रमार्फत सःशुल्क फोहोर व्यवस्थापन गर्ने निति अवलम्बन गर्यो । यस नीतिअनुरुप २०७५ श्रावण ४ गते नेश्नल वेस्ट मेनेजमेन्ट एण्ड रिसाइक्लिनिङ सेन्टरसँग सम्झौता गरेको नगरपालिकाका सूचना अधिकारी धुव्रराज नेपालले जानकारी दिए । नगरपालिकाले उक्त संस्थासँग सम्झौता भएको मितिले ८ महिनाभन्दा बढि काम गर्न सकेन । संस्थाले सन्तोषजनक काम नगरेको भन्दै नगरपालिका उक्त संस्थासँग २०७५ फागुण १२ गते सम्झौता रद्द गरेको सूचना अधिकारीको दाबी छ ।
तत्पश्चात नगरपालिकाले २०७६ वैशाख २९ गते ग्रिन पिस इन्भाइरोमेन्ट प्रा.लि काठमाडौँसँग फोहोर व्यवस्थापन गर्न सम्झौता गर्यो । उक्त संस्थाको आधुनिक प्रविधिको इन्सिनेटर (फोहोर जलाउने मेसिन) प्रयोग गरेर वातावरणमैत्री ढंगबाट फोहोर व्यवस्थापन गर्ने योजनाबाट नगरपालिका आर्किषत भयो । नगरपालिकाले १० वर्षको लागि ग्रिन पिससँग सम्झौता गर्यो । नगरपालिकाले वडा नं ९ मा आफ्नो स्वामित्वमा रहेको जग्गामा उक्त मेसिनको प्रयोग गरेर फोहोर बिर्सजन गर्ने निर्णय गर्यो।
कृषि प्रयोजनका लागि खरिद गरिएको जग्गा कृषिकै लागि प्रयोग गर्नुपर्ने फोहोर व्यवस्थापनका लागि गर्न नपाइने भन्दै स्थानीयले विरोध गरेको वडा नं ९ का वडा अध्यक्ष सेर बहादुर सुवालले बताए । उनका अनुसार फोहोर व्यवस्थापनका लागि जहाँ जग्गा खरिद गरिएको हो, त्यहीँ फोहोर विर्सजन गर्नुपर्ने, यसले पार्ने वातावरणीय प्रभावको मूल्याकंन नगरिएको लगायतका विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका थिए ।
उक्त कार्यको थालनी अघि परीक्षणकालका लागि काम गरेर देखाउन स्थानीयले नगरपालिकालाई अनुरोध गरेका थिए । ‘परीक्षणकालको लागि व्यक्तिगत जग्गामा मेसिन राखेर काम गरेर देखाउनुस्, यदि गाउँलेले स्विकृती दिए भने नगरपालिकाको आफ्नै जग्गामा राख्नुस् भनेर पनि भनेका थियौँ । तर त्यसो गरिएन,’ स्थानीय रघुनाथ सुवाल बताउँछन् ।
नगरको फोहोर बिर्सजन कार्य पुनः असफल
ग्रिन पिससँग गरेको सम्झौता अनुरुप कार्यान्वयनका लागि नगरपालिका अघि बढ्यो । सम्झौता कार्यान्वयनको शिलशिलामा २०७६ साल कात्तिक १८ गते नगरपालिकाले ठूलो चुनौती झेल्नुपर्यो । उक्त कार्यको लागि नगरपालिकाको एकतर्फी निर्णय गरेको भन्दै स्थानीय वडाबासी नगरपालिका विरुद्ध उभिरहे । स्थानीय बिना बजगाई तिमिल्सनाका अनुसार यहाँका उपभोक्ता समिति र स्थानीयसँग कुनै छलफल नै नगरी नगरपालिकाले भित्रभित्रै फोहोर राख्ने ठाउँ बनाउन थाल्यो । यसको विरोधस्वरुप यहाँका स्थानीयले उक्त कार्यको अवरोध गरेको उनले बताइन् ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वातावरणीय मूल्याङकन नगरेको स्थानीय रघुनाथ सुवालले बताए । ‘यहाँ मेसिन राखेर फोहोर जलाउँदा त्यहाँ भएका केही फोहोर त ग्याँस बनेर हाँवामा जाला । तर त्यसमा अन्य घातक ग्याँस पनि त निस्किन सक्छ नि । केही जमिनमै रहला । फोहोर राख्ने ठाउँभन्दा अलिकति तल खानेपानीको मुहान छ । त्यो फोहोर पानीमा गयो भने गाउँभरीको मान्छेले कहाँको पानी खाने ?,’ बिनाले भनिन्, ‘यसले अरु थुप्रै रोग फैलिएला, यहाँको मान्छे कहाँ गएर बस्ने ?’ यस विषयमा नगरपालिकाले कुनै अध्ययन नै नगरेको उनले बताइरदाँ नगरपालिका भने प्रतिक्रिया बिहीन बनिरह्यो ।
उक्त मेसिन राख्नको लागि प्रयोग भएको डोजरमाथि स्थानीयले बाटोमा अवरोध पुर्याई सुरक्षाकर्मीमाथि ढुंगा प्रहार मात्र गरेनन्, डोजर समेत तोडफोड गरे । सुरक्षाकर्मीले गोली चलाउँदा समेत स्थानीय आफ्नो अडानबाट पछि हटेनन् । जसको विरोध अवरोध पश्चात सो कार्य अगाडी बढेन । स्थानीय र जनप्रतिनिधिलाई लाठीचार्ज, अश्रुग्याँस र तोडफोडको मुद्दा अहिले पनि स्थानीयहरु खेपी रहेका छन् । अन्तत नगरपालिकाको फोहोर बिर्सजन योजना बिचमै रोकियो । र सम्झौता मिति अगावै फोहोर उठाउने कार्यबाट हात झिक्यो । यो पटक पनि फोहोर उठाउने संस्थासँग नगरपािलकाको राम्रो सम्बन्ध कायम रहन सकेन । २०७८ असोज १५ गतेबाट नगरपालिकाले ग्रिन पिससँगको सम्बन्ध रद्द गर्यो ।
ग्रिन पिसबाट राम्रो काम हुन नसकेकाले बिचमै सम्झौता तोड्नुपरेको नगरपालिकाले बताइरहदाँ यता ग्रिन पिसका संस्थापक मंगल सिं लामा बल भने नगरपालिकाले यस विषयमा ठूलो आर्थिक चलखेल गरेकाले एकतर्फी सम्झौता नगरले नै रद्ध गरेको बताउँछन् । फोहोर व्यवस्थापनको विषयमा नगरपालिकाबाट अव्यवहारिक काम भएकाले नगरले बिचमै सम्झौता रद्द गरि आफूमाथि भएको अन्यायका विरुद्ध अहिले जिल्ला अदालत काभ्रेमा मुद्दा चलिरहेको लामाले बताए । ग्रिन पिस इन्भाइरोमेन्ट प्रा.लिका संस्थापक रहेका लामाले बनेपा नगरपालिकालाई २०७८ असोज १९ गते निषेधाज्ञा करार परिपालना शीर्षकमा जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गराएको देखिन्छ ।
लामाले नगरपालिकालाई आरोप लगाइरहदाँ नगरपालिकाले भने आफूहरुले एकतर्फी सम्झौता नतोडेको जिकिर गर्दै नगरबाट उत्पादित फोहोर व्यवस्थापनको काम ग्रिन पिसले राम्रोसँग गर्न नसकेकाले उक्त संस्थासँगको सम्झौता रद्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती बताउँछन् । उनका अनुसार ग्रिन पिसले हप्तौँसम्म पनि फोहोर उठाउन नसक्दा बनेपामा प्रदूषण बढ्दै गएपछि त्यसको व्यवस्थापनका लागि उक्त संस्थालाई पटक पटक पत्रचार गर्दा पनि कुनै सम्बोधन नभएपछि संस्थासँगको सम्झौता रद्द गरिएको हो ।
सम्झौतापश्चात फोहोर संकलनका लागि नगरपालिकासँग भएको श्रोत र साधनका सवालमा जिज्ञासा राख्दा नगरप्रमुख लक्ष्मी नरसिं बादेको प्रतिक्रिया यस्तो छ, – ‘हामीसँग भएको दुई वटा ट्याक्टर, एक वटा टिपर, ११ जना स्थायी र १२ जना करारका कर्मचारी छन् । नगरपालिकासँग भएका यी श्रोत र साधनले बनेपाको फोहोरको उठाउन सक्ने अवस्था रहेन । किनभने नगरपालिकाका कर्मचारी र सवारी साधन बजार क्षेत्र र कार्यालय सरसफाईका लागि मात्रै प्रयोग हुन्छन् ।’
फेरि अर्को निजि संस्थासँग सम्झौता
पछिल्लोपटक नगरपालिकाले परिर्वतन सेवा प्रा.लिलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको छ । नगर र उक्त संस्थाबिच २०७८ कात्तिक ७ गते पाँच वर्षको लागि सम्झौता भएको नगरले उपलब्ध गराएको सम्झौतापत्रले पुष्टि गर्दछ । सम्झौता अनुसार नगर क्षेत्र भित्रको घर, पसल, होटल, कार्यालय, व्यवसाय लगायतका स्थानबाट फोहोर संकलन गर्नका लागि परिवर्तनले स्थानीयसँग फोहोर उत्पादनको आधारमा शुल्क लिन पाइने कुरा उल्लेख गरिएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि यस अघि सम्झौता गरेका दुई संस्थाले पनि फोहोर संकलनका लागि स्थानीयसँग शुल्क लिदैँ आएको थियो ।
बनेपा नगरपालिकाले फोहोर उठाए बापत स्थानीयसँग लिने पैसासँग बनेपाली खुशी भएनन् । यस अघि नगरपालिकासँग सम्झौता भएका दुई निजि संस्थाले दीर्घकालिन काम गर्न नसक्दा स्थानीयले विश्वास गर्न सकेका छैनन् । फोहोर मैला व्यवस्थापन गर्ने बाहानामा जनतालाई ठगी गरेको बनेपाका स्थानीय तेजरत्न शाक्य बताउँछन् ।
उनी भन्छन्, ‘केही समय अघि फोहोर संकलन गर्ने भन्दै एउटा संस्था आएर, फोहोर संकलन गर्नका लागि सदस्य बनाएर पैसा उठाएर गयो । एक दुई पटक फोहोर संकलन गर्यो । त्यसपछि त्यो संस्था कहाँ गयो थाहा छैन ।’ फोहोर संकलनका लागि अहिले पनि अर्को संस्था आएको छ, त्यसलाई पनि कसरी विश्वास गर्ने ? उनी प्रश्न गर्छन् । सफा गर्ने बाहानामा जनताको आँखामा छारो हाल्ने काम मात्र भएको उनले बताए । सम्झौतामा दुवै पक्षले पालना गर्नुपर्ने सर्त अनुसार फोहोर व्यवस्थापनको निगरानी तथा अनुगमनको जिम्मेवारी नगरपालिकाको हो । तर नगरपालिकाले गर्ने अुनगमनको काम भने प्रभावकारी नभएको स्थानीय बताउँछन् । जसको कारण फोहोर व्यवस्थापनमा चार वर्ष बितिसक्दा पनि नगरपालिका निरिह हुन बाध्य छ ।
यसो त विगतका घटनाले गर्दा नै सेवाग्राहीको विश्वास जित्न चुनौतीको विषय भएको परिवर्तन सेवा प्रा.लि काभ्रे बनेपाका फिल्ड प्रमुख सुवास ढकाल बताउँछन् । उनका अनुसार हिजोको दिनमा धेरै समस्या झेल्दै आएकाले नागरिकले निर्धक्क भएर विश्वास गर्न सकिरहने अवस्था छैन ।
‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सन्छ’ भनेझैँ बनेपालीमा फोहोर व्यवस्थापनका लागि नयाँ संस्था आएपछि तर्सन्छन् । कतै यो पनि ठग्न त आएको होइन भनेर झस्कन्छन् । नयाँ संस्थासँग झट्टै विश्वास गर्न गाह्रो हुने बनेपा नगरपालिका वडा नं ८ की विष्णु मैँया मानन्धर बताउँछिन् । उनी भन्छिन्, ‘सहरीकरण बृद्धि हुनुभन्दा पहिले बनेपा नगरपालिकाले राम्रो काम गरेको थियो । अहिले निजी संस्थासँग मिलेर काम गर्दा भद्रगोल भएको छ । एउटै संस्थासँग टिकाउ काम गर्न सकेको छैन । कसरी नगरपालिकाको काममा विश्वास गर्ने ?’
तुलानात्मक रुपमा अहिले परिर्वतनले फोहोर व्यवस्थापनको पाटोमा राम्रो काम गरेता पनि सर्वसाधरणले आँखा चिम्लेर उनीहरुलाई विश्वास गर्न सकिरहेका छैनन् । परिर्वतनले अहिले नगरको विभिन्न स्थानबाट हाल दैनिक रुपमा करिब १८ टन फोहोर संकलन गर्दै आएको संस्थाका फिल्ड प्रमुख ढकाल बताउँछन् । उनका अनुसार नगरपालिकाको आफ्नै डम्फिङ साइट नभएकाले पनि यसको दीर्घकालिन समाधान गर्न कठिनाई भएको हो । त्यसकारण पनि यहाँको फोहोर सिस्डोल पुर्याउनुबाहेक अर्को विकल्प छैन ।
सिस्डोलसम्म पुर्याउने फोहोरको खर्च, फोहोर व्यवस्थापनका लागि प्रयोग भएको जग्गा लगायत सम्पूर्ण खर्चको जिम्मेवारी परिवर्तनले आफैले लिदैँ आएको छ । त्यसका लागि नगरबासीसँग वार्षिक र मासिक शुल्क निर्धारण गरेर उठाउँदै आएको संस्थाका फिल्ड प्रमुख ढकाल स्विकार्छन् । यसमा नगरको तर्फबाट व्यवस्थापनमा सहज होस् भन्नका लागि सरकारी नम्बर प्लेटको टिपर दिएर नगरले सहयोग पुर्याएको फिल्ड प्रमुख ढकाल बताउँछन् ।
फोहोर व्यवस्थापनका लागि नगरको गुरु योजना
फोहोर व्यवस्थापन गर्न दुई वटा निजी संस्थासँग काममा असफल भएपछि अहिले नगरपालिका स्वयंम नै यसको दीर्घकालिन व्यवस्थापन गर्न कम्मर कसेको छ । फोहोरको दीर्घकालिन व्यवस्थापन गर्ने भन्दै नगरपालिकाले २०७५ सालमा बनेपा नगरपालिका वडा नं १४ स्थित चतुरेमा १४ रोपनी जग्गा खरिद गरिसकेको नगरपालिकाले जनाएको छ । जग्गा खरिदको लागत खर्च भने नगरपालिकाले सार्वजनिक गरेको छैन ।
चतुरेमा बन्न लागेको ल्याण्ड फिल्ड साइटले फोहोर व्यवस्थापनको समस्या दीर्घकालिन रुपमा समाधान हुने नगर प्रमुख लक्ष्मी नरसिं बादेको दाबी छ । ‘चतुरेमा बन्न लागेको ल्याण्ड फिट साइटले झन्डै एक सय वर्षको लागि फोहोरलाई मोहोर बनाउन र फोहोरलाई पुनः प्रयोग गर्न सकिने बनाउनेछ,’ नगर प्रमुख बादेले भने, ‘यसलाई हामीले गुरुयोजना बनाएर काम गरिरहेका छौँ ।’ उनका अनुसार जसअन्र्तगत अहिले पहुँच मार्ग निर्माण कार्य जारी रहेको छ ।
नगरपालिकाको योजना अनुसार करिब २ वर्ष भित्र चतुरेमा ल्याण्ड फिट साइट सम्पन्न भइसक्नेछ । नगरपालिकाले पहिलो पक्ष (परिवर्तन) सँग गरेको ५ वर्षको सम्झौतामा नगरपालिकाले कुनै जग्गाको व्यवस्था गरेमा सो जग्गासम्म पुहँच मार्ग निर्माण भएपछि दोस्रो पक्ष (नगरपालिका) ले सो जग्गामा नै फोहोर व्यवस्थापनका अन्य कार्य गर्ने सकिने कुरा उल्लेख गरिएको छ ।
परिर्वतनले अहिले बनेपाबाट संकलन गरिएको फोहोर सिस्डोलमा बिर्सजन र्गछ । बनेपाको योजना अनुसार दुई वर्षभित्रै ल्याण्ड फिट साइट निर्माण पश्चात बाँकी अवधी ३ वर्षको फोहोर व्यवस्थापन समेत सोही संस्थाले बनेपा नगरपालिकाले तोकेको स्थानमा विर्सजन गर्ने प्रशासकिय अधिकृत कविराज उप्रेतीले बताए ।
यो सवालमा नगरले उपलब्ध गराएका न्यून तथ्यहरुको अध्ययनबाट केही चुनौतिहरु नभएका होइनन् । जस्तै २०७४ देखि आजसम्मको निति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमहरु व्यवहारमा आउन नसक्नु पहिलो चुनौतीको रुपमा देखिन्छ । पारदर्शीता समस्याकै रुपमा छ भन्न सकिन्छ । यी चुनौतीहरु कि, कसरी आए भन्ने सवालमा नगरपालिका आफैले गहन अध्ययन गर्नु आवश्यक ठहरिन्छ । यसले नगरको नेतृत्वप्रति प्रश्न चिन्ह राम्रै उठाएको अध्ययनले देखाएको छ ।
स्थानीय स्तरमा उपयुक्त भूगोलहरुको सही छनौट र व्यवस्थापन गर्न नसक्नु नै नगरको ठूलो कमजोरी देखिन्छ । नगरले भने जस्तो चतुरे डाँडामा फोहोर विर्सजन हुने सम्भावना अत्यन्तै क्षण रहेको स्थलगत अध्ययनले देखाएको छ । तसर्थ नगरबासीकै सहकार्यमा भूगोलको पहिचान गरी दीर्घकालिन रुपमा फोहोर मैला व्यवस्थापन गर्न सके व्यवसायी नगरी आन्तरिक पर्यटनको गन्तव्य समेत बन्न सक्ने प्रशस्त सम्भावना भेटिएका छन् ।