प्रेम बाल विवाह : कलिलै उमेरमा प्रविधिले गाँस्दैछ वैवाहिक सम्बन्ध
काभ्रे : विश्वभर फैलिएको कोरोना महामारीले धेरै क्षेत्रमा असर मात्र गरेन । यसले बालबालिकालाई प्रविधिसँग नजिक पनि बनाएको छ । जसको लत बालबालिकाहरुमा अझै पनि छ । कोरोनाको पहिलो लहरदेखि नै नेपाल सरकारको निर्देशन अनुसार विद्यालयहरुले वैकिल्पक विधि (प्रविधिको प्रयोग)बाट पठनपाठन सुरु गरेका थिए । विद्यार्थीहरुको हातमा मोबाइल,ल्पापटप, कम्प्युटर, ट्याब लगायतका सामाग्री अनिवार्य जस्तै भयो । यसले बालबालिकालाई प्रविधिसँग नजिक बनायो । बालबालिका प्रविधिमा अभयस्त हुन थाले ।
कोरोनाको दोस्रो लहरसम्म काभ्रेको पनौती नगरपालिका वडा नं १ की १४ वर्षीय रमा थापा (नाम परिवर्तित) पनि प्रविधिसँग अभयस्त भइसकेकी थिइन् । मोबाइलमार्फत सामाजिक सञ्जाल फेसबुकमा जोडिन् । फेसबुकमार्फत उनको महेश तामाङ (नाम परिवर्तित) सँग कुराकानी हुन थाल्यो । फेसबुकबाट चिनाजानी भएका उनीहरुको मित्रता नजिकन थाल्यो ।
ज्यामी कामको शिलशिलमा महेश रमाको गाउँ पुगेका थिए । जसले गर्दा पनि उनीहरुलाई भेटघाट गर्न थप सहज भयो । उनीहरुको सम्बन्ध झन झन प्रगाढ हुन थाल्यो । उनीहरुले विवाह गर्ने निर्णय गरे । रमाको उमेर १४ वर्ष र महेशको उमेर १९ मात्रै थियो । नेपालको कानुन अनुसार २० वर्ष मुनी विवाह गरेमा बालविवाह ठहरिन्छ । त्यसकारण पनि उनीहरुले आफ्नो प्रेम सम्बन्धको बारेमा कसैलाई भन्ने आँट गरेनन् । अन्ततः असोज महिनाको पहिलो साता उनीहरु विवाह बन्धनमा बाँधिए ।
उनीहरुको विवाह बारेमा गाउँघर सबै ठाउँमा हल्ला भयो । उक्त खबर समर्पण वडा बाल समूह सञ्जालमा पनि पुग्यो । उनीहरुको खोजी गर्न घर, परिवार, समाज, बाल सञ्जाल, प्रहरी सबै लागी परे । सबैको सक्रियतामा असोज ४ गते उनीहरु बनेपाको गोदामचोक रहेको पत्ता लागेपछि उनीहरुको उद्धार गरिएको पनौती नगरपालिका वडा नं १ का वडा बालमैत्री सहजकर्ता तुल प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सबैको सहकार्यमा उनीहरुको उद्धार गरी वडा कार्यालयमा ल्याएर प्रहरी प्रशासनको रोहबरमा परिवारलाई जिम्मा लगाइएको थियो ।
बाल विवाह न्यूनिकरणका लागि बाल सञ्जालको सक्रियता
वडामा सञ्चालन गरिएको बाल क्लबले बाल विवाह न्यूनिकरणमा महत्वपूर्ण खेल्न सक्छन् भन्ने यो एउटा उदाहरण हो । बालमैत्री वडा निर्माण गर्नका लागि २०७६/७७ मा वडामा बाल सञ्जालले बाल विवाह रोकथामका लागि विशेष अभियान सञ्चालन गरेको सहजकर्ता सापकोटाले जानकारी दिए । उनका अनुसार सोही वर्ष समपर्ण वडा बाल समूह सञ्जालले २ वटा बाल विवाह रोकेको थियो । १८ वर्षीय किशोरीको मागी विवाह हुदैँछ भन्ने खबर पाएका थियौँ । मागी बाल विवाह हुदैँछ भन्ने खबर पाएपछि सबैको सहकार्यमा हामीले त्यो विवाह रोक्न सफल भएको सहजतकर्ता सापकोटा बताउँछन् ।
वडामा सञ्चालन गरिएको उक्त अभियानको प्रभावकारीता बढेको पनौती नगरपालिका वडा नं १ का वडा अध्यक्ष गुण नाथ सापकोटा बताउँछन् । उनका अनुसार वडामा अभियान सञ्चालन गर्नुभन्दा पहिले मागी बालविवाह पनि हुने गथ्र्यो । अहिले अभियान सञ्चालनपछि मागी बालविवाह शून्य नै छ । भागी र प्रेम बाल विवाह मात्रै भएको पाइएको छ । त्यसको पनि रोकथाम गर्न लागी परेको वडा अध्यक्ष सापकोटाले बताए ।
‘अन्य स्थानको तुुलनामा भागी विवाह नगन्य रुपमा भएको पाएका छौँ,’ उनले भने, ‘त्यसको रोकथामका लागि स्थानीय सरकारको सहयोगमा बाल सञ्जालले विशेष कक्षाहरु सञ्चालन गर्दै आएका छौँ । बाल विवाह गर्दाका बेफाइदा र यसले निम्त्याउने जोखिमका बारेमा विशेष कार्यक्रमहरु पनि गर्दै आएका छौँ । यसका साथै जनस्तरमा चेतना फलाउनका लागि घरदैलोे कार्यक्रम पनि गर्दै आएका छौँ ।’
जिल्लामा तुलानात्मक रुपमा मागी बाल विवाहको संख्यामा कमी आएको जिल्ला बाल सञ्जाल काभ्रेका अध्यक्ष सुबोध धिमालले बताए । उनका अनुसार जिल्लमा मागी बाल विवाहको संख्यामा कमी भएको पाइएपनि प्रेम बाल विवाहमा भने कमी आउन सकेको छैन । प्रविधिको माध्यमबाट साथीभाइसँग चिनाजानी हुदैँ प्रेम सम्बन्धमा गाँसिएर उमेरै नपुगी विवाह भएको उदाहरणहरु जिल्लामा थुप्रै पाइएको उनी बताउँछन् ।
‘यसको रोकथामका लागि स्थानीय स्तरबाट धेरै प्रयासहरु भइरहेका छन्’, उनले भने, ‘स्थानीय सरकारको सहयोगमा गाउँ, नगर र वडा स्तरमा सञ्चालन भएका बाल क्लब, बाल सञ्जाल, किशोरी समूहले बाल विवाह न्यूनिकरणका लागि अभियान नै सञ्चालन गरिरहेका छन् । यसले मागी बाल विवाह रोक्न धेरै मद्दत गरेको छ । तर प्रेम बाल विवाहलाई रोकथाम गर्न भने अझै पनि चुनौती नै भएको छ ।’
बाल विवाहलाई रोकथाम गर्न सबैभन्दा ठूलो भूमिका अभिभावकको रहने बाल अधिकार अभियान्ता हरिबोल आचार्य बताउँछन् । उनका अनुसार अभिभावकले आफ्ना बालबालिकालाई सही निर्देशन गर्न नसकेको अवस्थामा उनीहरु अन्जानमै विवाह बन्धनमा बाँधिएका हुन्छन् । ग्रामीण भेगका अभिभावकमा यस विषयको शिक्षा नभएकाले नै बाल विवाह हुने गरेको पाइन्छ । तुलनात्मक रुपमा सहर भेगका अभिभावक शिक्षित छन् । अभिभावकले आफ्नो कार्य व्यस्तताका कारण बालबालिकालाई समय दिन नसक्नाले नै उनीहरु साथीभाइसँग नजिकिन्छन् । जसको परिणाम, कलिलो उमेरमै उनीहरु वैवाहिक जीवनको बाटो रोज्न तयार हुन्छन् ।
‘यसको लागि प्रविधि एउटा माध्यम भएको छ,’ उनले भने, ‘आफ्ना बालबालिकाले प्रविधिलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने विषयमा अभिभावक नै सचेत हुनुपर्छ । उनीहरुको स्याहारसुसार र निगरानीसँगै अभिभावक एउटा असल साथी पनि भइदिनुपर्छ ।’ अभिभावकसँगै, समाज, गाउँ/नगर नै सक्रिय भएर यसको न्यूनिकरणका लागि अघि बढ्नुपर्ने उनी सुझाउँछन् ।
प्रेम बाल विवाह न्यूनिकरणका लागि पनि स्थानीय स्तरमै जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएको पाइएको जिल्ला बाल सञ्जालका अध्यक्ष धिमाल बताउँछन् । उनका अनुसार तुलनात्मक रुपमा जिल्लाका सहरी क्षेत्रमा यसको रोकथामका लागि कार्यक्रमहरु सञ्चालन भएको पाइएपनि ग्रामीण भेगमा पनि अझै पनि चेतनाको कमी भएकै छ । त्यसकारण ती क्षेत्रमा लुकीछिपी बाल विवाह भइरहेका हुन्छन् । जहाँ २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु हुदैँन भन्ने बारेको कानुनी ज्ञानको अभाव छ ।
बाल विवाह भन्नाले कुनैपनि राष्ट्रको कानुनमा विवाह गर्न भनि तोकिएको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई जनाउँछ । विभिन्न देशहरुमा विवाह गर्नयोग्य उमेर भनेर आ–आफ्नै उमेर निर्धारण गरिएको पाइन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने मुलुकी अपराध संहिता २०७४ मा विवाहको लागि उपयुक्त उमेर २० वर्ष हुनुपर्छ भनि तोकिएको छ । यसरी नेपालको कानुनले दुवैैको उमेर २० वर्ष नपुगि गरेको विवाहलाई बालविवाह भनि पुष्टि गरेको छ । यसरी कसैले पनि कम उमेरमा विवाह गरे गराएमा कानुनी रुपमा अपराध ठहरीनेछ । र, कानुन अनुसार दण्ड जरिवाना हुनेछ । बालविवाह सम्बन्धी ऐन, २०७५ ले बालविवाह गरेमा तीन वर्षसम्म कैद र ७५ हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७३ ले बालविवाह निरुत्साहन गर्दै २० वर्षभन्दा कम उमेरमा भएको विवाह स्वतः बदर हुने भनेको छ ।
यीनै कानुनका विषय र उमेर नपुगी विवाह गर्दाको बेफइदाका साथै त्यसले निम्त्याउने समस्याका बारेमा अभिभावकहरु जानकार नहुदाँ समाजमा बालविवाहका घटनाहरु घट्ने गरेको बाल अधिकारकर्मीहरु बताउँछन् । जिल्लामा बाल विवाहका घटनाहरु हुने गरेको पाइएपनि उजुरी दर्ता भने नगन्य मात्रामा हुने गरेको पाइन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङकमा पनि बाल विवाहको घटनामा निकै कम भएको देखिन्छ ।
आर्थिक वर्ष २०७४/७५देखि २०७७/७८सम्म काभ्रेमा ९ वटा बाल विवाह सम्बन्धि मुद्दा दर्ता भएको कार्यालयको विवरणमा देखिन्छ । विवरण अनुसार आ.व २०७४/७५ मा रोशी गाउँपालिकामा १ र मण्डनदेउपुर नगरपालिकामा १ वटा बाल विवाहको मुद्दा दर्ता भएको थियो । त्यस्तै आ.व २०७५/७६मा बनेपा नगरपालिकामा १ र पनौती नगरपालिकामा २ वटा मुद्दा दर्ता भएको थियो भने २०७६/७७मा तेमाल गाउँपालिकामा १ वटा मात्र मुद्दा दर्ता भएको कार्यालयको तथ्याङकमा उल्लेख छ । आ.व २०७७/७८मा धुलिखेल नगरपालिकामा १, भुम्लु गाउँपालिकामा १ र मण्डनदेउपुर नगरपालिकामा १ वटा बाल विवाहको मुद्दा दर्ता भएको कार्यालयको तथ्याङकमा देखिन्छ ।
कार्यालयको तथ्याङकमा बाल विवाहको संख्या न्यून देखिए पनि जिल्लाको ग्रामीण भेगमा अझै पनि जटिल समस्याकै रुपम रहेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । उनका अनुसार तुलनात्मक रुपमा यो समस्या जिल्लाको महाभारत र खानीखोला गाउँपालिकामा अलि धेरै भएको पाइएको छ । ग्रामीण भेगमा बाल विवाहबारे कानुनी ज्ञानको अभावकै कारण अहिले पनि यो विषय समस्याको रुपमा देखिएको बताउँदै प्रहरी प्रमुख जोशीले भने, ‘यसको न्यूनिकरणका लागि जनस्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।’
बाल विवाह न्यूनिकरणका लागि स्थानीय सरकार, प्रदेश र केन्द्रिय तहबाटै प्रयासहरु भइरहेका छन् । जसका लागि विभिन्न अभियान सञ्चालन गर्नुको साथै योजनाहरु नै निर्माण गरिएका छन् । बागमती प्रदेशले ’प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाहमुक्त हाम्रो प्रदेश’ भन्ने अठोटका साथ स्थानीय तहसँगको समन्वय र सहकार्यमा संवत् २०७८ सम्ममा बालविवाह मुक्त प्रदेश र संवत् २०८० सम्ममा बालमैत्री प्रदेश बनाउने घोषणा गरेको थियो ।
बागमती प्रदेशलाई बालविवाहमुक्त प्रदेश घोषणा गर्नका लागि प्रदेश सरकारले स्थानीय तहहरुलाई प्रोत्साहन गर्ने र कार्यक्रमलाई थप विस्तार गर्ने व्यवस्था गरेको जनाइएको छ । तर अझै पनि त्यस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडी बढ्न नसकेको बाल अधिकार अभियान्ता हरिबोल आचार्य बताउँछन् । यसको लागि स्थानीय तहले बलियो रणनिति बनाएर अघि बढ्नुपर्नेमा उनी सुझाउँछन् ।