बच्चामा मुटुसम्बन्धी समस्या भएमा केही लक्षण देखिन्छन् : डा. विष्ट

बालबच्चामा मुटुसम्बन्धी कुनै समस्या भएको कसरी थाहा हुन्छ ? त्यसको कुनै लक्षण देखिन्छ ? उनीहरुमा मुटुको के कस्तो समस्या हुनसक्छ ? यसको पहिचान र उपचार कसरी हुन्छ ? हरेक आमाबुवामा उठ्ने प्रश्न हो यो । यसै विषयमा मुटुरोग विशेषज्ञ डा. माधव विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

बालबालिकामा मुटुसम्बन्धी कस्तो समस्या देखिन्छ ?
बालबच्चामा जन्मने बित्तिकै धेरै स्वास्थ्य समस्या देखिन सक्छन् । जसमध्ये एक हो बाल मुटुरोग । बालमुटु रोगमध्ये जन्मजात मुटुरोग, मुटुमा प्वाल हुने, चालमा घटबढ, मुटु बाथरोग लगायत पर्छन् ।

बच्चामा मुटुको समस्या जन्मजात हुन्छ कि पछि हुन्छ ?
यो प्राणघातक रोग बालबालिकामा जन्मजात नै हुनसक्छ । कतिपय बालबालिकामा भने जन्मिएपछि पनि मुटुरोग देखिन सक्छ । गर्भावस्थामा मुटु र रक्तवाहिनी नसाको विकासमा समस्या आएमा यो रोग लाग्न सक्छ । गर्भावस्था पहिलो ६ हप्तामा बच्चाको मुटुले आकार लिन थाल्छ र बच्चाको मुटुको धड्कन आउँछ ।

यस समयमा हुदयमा पुग्ने रक्तकोषिका पनि विकसित हुन थाल्छन् । यस अवधिमा कतिपय औषधि, आनुवंशिक कारण धेरै बालबालिकालाई मुटुको समस्या हुनसक्छ । त्यस्तै, कतिपय बालबालिकामा जन्मेपछि मुटुको समस्या देखिन थाल्छ । जसमा एउटा बाथ हृदयरोग हो ।

बाथरोगले निम्त्याउने मुटुरोग पनि एक समस्या हो । यो रोग संक्रमणका कारण लाग्छ । घाँटीमा टन्सिल भएर मुटुमा हान्छ र यसले जटिलता निम्त्याउँछ । त्यो संक्रमणले भल्बमा असर गर्छ । खासगरी यसले मुटुको भल्ब जाम हुने, मुटुको कोठामा भएको भल्बहरु कमजोर बनाउने, खुकुलो बनाउने जोखिम हुन्छ ।

साथै, मांसपेशीको सुजन र मुटुको धड्कन अनियमित बनाइदिन्छ । बच्चा जन्मिएको ७ देखि १५ वर्षको उमेरमा मुटुको बाथरोग जोखिम हुन्छ । त्यस्तै अर्को भनेको रिमाटिक फिभर हो । यसले पनि पछि गएर बच्चाको मुटुको भल्बमा असर गर्छ ।

आमाको गर्भमा रहँदा बच्चाको मुटुमाथिको प्वाल सक्रिय हुन्छ । जब बच्चा जन्मिन्छन्, त्यो प्वाल स्वतः बन्द हुन्छ । तर कतिपय बच्चामा यस्तो हुँदैन । जन्मिसकेपछि पनि त्यो प्वाल बन्द हुँदैन, यो एउटा समस्या हो । कति बच्चाको मुटुमा एकदमै सानो प्वाल हुन्छ । यसले खासै दुःख दिंदैन, तर कतिमा भने ठूलो प्वाल हुनसक्छ ।

के कारणले बच्चामा मुटुको समस्या हुनसक्छ ?
यसमा ठोस कारण भन्ने छैन । गर्भमा शिशु रहँदा आमालाई संक्रमण भएमा शिशुमा मुटुरोग देखिन सक्छ । त्यस्तै, परिवारमा पहिला कसैलाई मुटुरोग छ भने पनि शिशुमा देखिने सम्भावना हुन्छ ।

जन्मजात मुटुरोगमा के कस्ता समस्या हुन सक्छन् ?
जन्मजात देखिने मुटुरोगमा बच्चाको उमेर अनुसार मुटु फेल हुने, बच्चाहरुले दूध चुस्न नसक्ने, स्वाँ-स्वाँ हुने, निमोनिया भइराख्ने हुन्छ । त्यस्तै, मुटुले सही ढंगले काम नगरे जन्मजात हृदयरोगबाट पीडित बालबालिकाको फोक्सोमा संक्रमण हुने सम्भावना रहन्छ । यस्ता बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ ।

बच्चामा मुटुको समस्या भएमा के लक्षण देखिन्छ वा कसरी थाहा पाउन सकिन्छ ?
शिशुलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, ओठ अनुहार निलो हुने, मुटु हल्लिने, छाती दुख्ने, चाँडो थाक्नेजस्ता यसका लक्षण हुन् ।

सन्तान गर्भमा रहँदा पनि मुटुरोग छ छैन थाहा पाउन सकिन्छ ?
अहिले प्रविधिले फड्को मारिसकेको छ । बच्चालाई मुटुको समस्या छ वा छैन भनेर इको कार्डियो गरेर हेर्न सकिन्छ । जन्मजात नै मुटुसम्बन्धी समस्या छ भने त्यसलाई पनि पत्ता लगाएर उपचारको निक्र्यौल गर्न सकिन्छ ।

यो रोग निको पार्न सकिन्छ ?
मुटुको प्वालको अवस्था हेरेर निको हुन्छ वा हुँदैन भन्न सकिन्छ । जन्मजात नै प्वाल भएका बच्चालाई बचाउने सम्भावना कम हुनसक्छ । यस्तो समस्या भएको बच्चा जमिन्मंदै कालो नीलो देखिने हुन्छ ।

बच्चामा मुटुको समस्या भएमा कस्तो उपचार गर्न सकिन्छ ?
मुटुमा ठूलो प्वाल भएका बच्चालाई निमोनिया भइरहने हुँदा विशेष उपचारको आवश्यकता पर्छ । एकदेखि डेढ वर्षभित्रमा शल्यक्रिया गरेर ती ठूला प्वाल बन्द गर्नुपर्छ । धेरै ढिलो भए प्वाल बन्द गर्न नसकिने हुन्छ ।

मुटुको प्वाल टाल्न शल्यक्रिया सकिन्छ । तर मिल्ने पाइप छ भने शल्यक्रिया नगरी पनि सकिन्छ, तर पाइप नमिल्ने छ भने ओपन हार्ट सर्जरी गरेर पनि टाल्न सकिन्छ । त्यस्तै यो शल्यक्रिया गर्दा रगतको नसा अलग ठाउँबाट आएर अलग ठाउँमा जान सक्छ, त्यसलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ ।

कुन अवस्थामा बच्चालाई अस्पताल ल्याउनुपर्छ ?
बच्चालाई कुनै पनि स्वास्थ्य समस्या भएमा दूध चुस्न छाड्यो । ज्वरो आयो, निमोनिया, रुघाखोकी, तौल नबढ्ने भएमा अस्पताल लैजानुपर्छ ।

मुटुको समस्या भएमा बच्चामा कुनै जटिलता आउन सक्छ ?
मुटुरोग देखिएका बालबालिकामा जटिलता भनेको मुटु फेल हुने हुन्छ । मुटुको चाल गडबड भएर मृत्यु समेत हुनसक्छ ।

बच्चालाई मुटुसम्बन्धी समस्याबाट मुक्त गर्न के गर्ने ?
बच्चा गर्भमा हुँदा नै नियमित स्वास्थ्य जाँच गराउने, चिकित्सकको अनुसार औषधि खाने, खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ । यो बेलामा संक्रमणबाट जोगिनुपर्छ । कुनै लक्षण देखिनासाथ चिकित्सककहाँ पुयाउनुपर्छ । बच्चाको खानपान र पोषणमा विशेष ध्यान दिनुपर्छ ।

@अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस