सहकारी मात्र नभै कुनै पनि संस्था राम्रोसँग सञ्चालन हुनका लागि सुशासनको आवश्यकता पर्दछ । हाम्रा सहकारीहरू कसरी सञ्चालन भइरहेका छन् भन्ने ज्ञान सञ्चालकहरूमा हुनु महत्त्वपूर्ण मानिन्छ । सहकारी संस्थाहरू मात्रात्मक रूपमा अत्यधिक छन् तर गुणात्मक वृद्धिका कसरी गर्ने भन्ने बारेमा पनि विचार पु¥याउनु पर्छ । सहकारी संस्थाहरूले आफ्ना संस्थाका बारेमा गरेका नवीनतम सोचको विकास, विधि, पद्धती र आबद्ध शेयर सदस्यहरूमा दिलाइएको विश्वास के, कति हदसम्म नीतिगत तथा विधि सङ्गत छन भन्ने कुराको ख्याल गर्नु पर्दछ ।

सहकारी संस्थाहरू सञ्चालनका सन्दर्भमा कार्यालय स्थापना र कर्मचारी व्यवस्थापन गरेर मात्र पुग्दैन । यसका लागि संस्था भित्रका अन्य अन्तर विषयवस्तुहरू पनि व्यवस्थापन गर्दै जानुपर्दछ । त्यसैले सहकारीको गुणात्मक विकासमा सञ्चालकहरूले विशेष ख्याल गर्नु पर्दछ । सुशासनका विषयमा हामीले धेरै समय अगाडिदेखि बहस तथा पैरवी गर्दै आइरहेका छौँ तर व्यवहारमा लागु हुने कुरा कति भएको छ भन्ने बारे बुझ्नु जरूरी भएको छ । आजको प्रतिस्पर्धात्मक समयमा हाम्रो कार्यशैली र व्यवहारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाहिरबाट कसैले न कसैले नियालिरहेको हुन्छ । त्यसैले सहकारीमा परिवर्तन ल्याउनका लागि हामी चनाखो हुनु पर्दछ । हामी दिलैदेखि सहकारी निर्माण गर्न अग्रसर भएको खण्डमा हामीले गुणात्मक सहकारी निर्माण गर्न सक्छौँ र हामीप्रति कसैले औँला ठड्याउने आँट गर्ने छैन ।

शाब्दिक अर्थमा सुशासन भनेको शासन गर्ने विषयसँग सम्बन्धित छ । मानव सभ्यताको विकाससँगै सुशासनको विकास भएको पाइन्छ । सुशासन यस्तो प्रक्रिया हो जसमा सहकारी संघ संस्थाहरूले कसरी निर्णय लिने, निर्णय प्रकृयामा कोकसलाई संलग्न गराउने र को कसले के के जिम्मेवारी लिने भन्ने कुराहरू पर्दछन् । सुशासनको ढाँचाभित्र संस्थामा रहेका वा गरेका सबै खालका सम्झौताहरू, अवलम्वन गरेका प्रक्रियाहरू, हाम्रा स्थानीय र व्यक्तिगत प्रचलन तथा अभ्यासहरू र नीतिहरू पर्दछन् । जसले शक्ति कसको हातमा हुने, निर्णयहरू कुन प्रक्रियाबाट हुने र को जवाफदेही हुनुपर्ने स्पष्ट किटान गरेको हुन्छ । त्यसका विधि तथा प्रक्रियाहरूका बारेमा बोलेको हुन्छ । त्यसैले भन्ने गरिन्छ कि सुशासन प्रक्रियाहरूको सेट हो, दस्ताबेज होइन ।

हामीले दैनिक जीवनमा काम गर्दै र सिक्दै अनि सिकेका विषय वस्तुहरूलाई व्यवहारमा परिणत गर्दै अघि बढ्नु पर्छ । त्यसैले सुशासन विकाससँग सम्बन्धित शब्द मानिन्छ । सुशासनको कार्यरूप मानव सभ्यताको सुरूवातसँगै भएको र जसलाई पछि आएर ठुला विकास संगठनहरूले प्रवर्धन गरेको पाइन्छ । सबै भन्दा पहिले विश्व बैङ्क तथा संयुक्त राष्ट्र संघले अविकसित मुलुकहरूको विकास साझेदारीको बखत विकास कार्य भइरहेको भन्ने निश्चित रहनको लागि तयार गरेको रणनीति हो भन्न सकिन्छ ।

सहकारी संस्थामा संस्थागत सुशासन एउटा संस्थाको व्यवस्थापन नियन्त्रण तथा निर्देशनको लागि दिइने सूचना, संरचना र प्रक्रिया हो । जसमा संस्थाका संञ्चालक समितिका सदस्यहरू तथा विभिन्न कर्मचारीहरूलाई उनीहरूले गरेका कामहरूसँगै गलत कार्य तथा अवलम्बन गरेका प्रक्रियाहरूको थालनी र कार्यान्वयन प्रति जवाफदेही बनाउन नियन्त्रण गर्ने उपायहरूको रूपमा यसको प्रयोग भएको हो ।

सुशासनको अवधारणा सहकारी संस्थामा बनाउनका लागि पहिला शासनका आधारभूत विषयमा स्पष्ट हुन जरूरी हुन्छ । जसका लागि सहकारी संस्थामा भएगरेका विभिन्न क्रियाकलापहरूको प्रणाली, क्रियाकलापहरूको प्रक्रिया तथा शैली, क्षमता, दक्षता र लक्ष्य तथा परिणामका बारेमा विश्लेषण सहित बुझ्न जरूरी छ ।

सहकारी संस्थामा हाम्रो कार्य गर्ने प्रणाली कस्तो छ ? र सहकारी संस्थाभित्र विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दाका बखत नेतृत्वले आफु अन्तर्गतका तह वा निकायमा प्रयोग गर्ने भाषा, शैली, व्यवहार तथा दिने निर्देशनात्मक विषयहरू कस्तो रहन्छ भन्ने नै हो । सामान्य रूपमा निरङ्कुश रूपमा लादिएका क्रियाकलाप तथा भनाइहरूले सहकारीमा सुशासन हुन सक्दैन । त्यसैले सुशासनका लागि प्रजातान्त्रिक रूपमा सबैलाई समेटेर गरिएका कार्यहरू नै उत्कृष्ट हुन्छन् ।

सहकारी संस्थामा प्रक्रिया तथा शैलीहरू समेत सोही अनुसार अगाडि बढ्नु उपयुक्त मानिन्छ । जसका लागि सहभागिता, जवाफदेहिता, पारदर्शीता तथा विश्वासनीयता जस्ता विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । त्यसो गरेको खण्डमा सुशासन कायम गर्न सकिन्छ र यसको विकास हुन्छ ।

संस्थामा कुनै पनि कार्यहरू सञ्चालन गर्दा सबै पक्ष अर्थात् शेयर सदस्य, सञ्चालक समिति लेखा सुपरिवेक्षण समिति लगायत सम्पूर्ण तह वा निकायहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता खोजिएको हुन्छ । आर्थिक क्रियाकलाप तथा भए गरेका निर्णयहरूको सबैले बुझ्ने गरी पारदर्शिता कायम गर्नका लागि अग्रसर हुनु पर्दछ । संस्थामा रहेका शेयर सदस्यहरूको विश्वासको जग नै सहकारी हुनु पर्दछ । त्यस्ता सहकारी संस्था जहिले पनि सुशासनयुक्त संस्थाको रूपमा कायम रही राम्रोसँग अगाडि बढ्न सक्छन् ।

संस्थालाई राम्रोसँग अगाडि बढाउनका लागि संस्था भित्रको व्यवस्थापकीय, प्राविधिक तथा संस्थागत पक्षलाई व्यवस्थित गर्नु पर्दछ । जसका कारण संस्थाले अवलम्बन गरेका कार्य दिशा पुरा गर्न वा लक्ष्य तथा परिणाम हासिल गर्न सकिन्छ र संस्थामा सुशासन कायम हुन्छ । सुशासनका विभिन्न तत्त्वहरू हुन्छन् । जस अनुसार निम्न विषयहरू सहित सहकारी संस्थाहरू सञ्चालनमा आएमा सुशासनयुक्त सहकारीको निर्माण गर्न सकिन्छ ।

सर्वसम्मत निर्णय
संस्थामा कुनै पनि विषयमा छलफल गर्दै जाँदा निर्णयमा पुग्नका लागि अल्पमत तथा बहुमत भएमा वा पक्ष र विपक्ष भई मत बाझिने अवस्था भएमा सङ्कोच सिर्जना हुन जान्छ । जसका कारण सहकारी संस्था जुन गतिमा अगाडि बढ्नु पर्ने हो सो अनुरूप अगाडि बढ्न सक्दैन । त्यसै कारण पनि सहकारी संस्थामा हामीले कुनै पनि निर्णयहरू निर्णयार्थ प्रस्तुत गर्दा वा छलफल अगाडि बढाउँदा सर्वसम्मत निर्णयको पहल गर्नु पर्दछ ।

पारदर्शिता
संस्थामा आर्थिक सामाजिक, सांस्कृतिक तथा विभिन्न विषयमा छलफल तथा कार्यान्वयनका तहमा निर्णय गरी कार्यान्वयन गर्दा पारदर्शिता कायम गर्न सक्नु पर्दछ । विशेष गरी नेतृत्व तह यस्ता विषयमा चनाखो बन्नु पर्दछ । सुशासनको दृष्टिकोणबाट सहकारीसंघ÷संस्थामा भएका हरेक क्रियाकलापहरू जस्तै– आर्थिक क्रियाकलाप एवम् सम्पूर्ण प्रक्रियाहरू निश्पक्ष र पारदर्शी हुनु पर्दछ । वित्तीय विवरणहरू प्रमाणित गर्ने, संस्थाका क्रियाकलापहरू, कर्मचारी छनौट प्रक्रिया सूचनाहरू समेत पारदर्शी र स्पष्ट हुनुपर्दछ ।

जवाफदेहिता
सुशासनको दृष्टिकोणबाट हेर्दा सहकारी संस्थामा हरेक पक्ष वा विशेष गरी नेतृत्वले सहकारी संस्थाको हितका लागि र आफूले गरेका निर्णय र कामप्रति जवाफदेही हुने व्यवस्था मिलाउनु पर्दछ । साथै संस्थाको कामप्रति कसैले जानकारी लिन चाहेको समयमा स्पष्ट जवाफ दिन सक्ने हुनु पर्दछ ।

जिम्मेवारी
संस्थामा हरेक क्रियाकलापहरूको जिम्मेवारी नेतृत्वको हुन्छ । संस्थामा आइपरेका विभिन्न पक्षको अनुगमन मूल्यांकन समेत नेतृत्व पक्षले गर्नु पर्दछ । नेतृत्वले सबै जिम्मेवारी आफ्नो काँधमा मात्र सिमित नराखी योग्यता, क्षमता तथा दक्षताका आधारमा अन्य कर्मचारी तथा व्यवस्थापकहरूमा समेत बाँडफाँड गर्दै अगाडि बढ्नु पर्दछ ।

सहभागिता
सहभागिताको पक्षलाई पनि सुशासनमा मुख्य आधारको रूपमा लिन सकिन्छ । संस्थाको बैठकका निर्णय लिन दिन सक्ने आधार कस्तो छ भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले निर्णय अर्थपूर्ण भयो वा भएन सहभागिता कस्तो रह्यो, शेयर सदस्य तथा सरोकारवालाहरूको उपस्थिति कस्तो रह्यो, अधिकारको विकेन्द्रीकरण भयो कि भएन भन्ने कुरालाई समेत नेतृत्वले ध्यान दिनु पर्दछ ।

कानुनी निष्पक्षता
सहकारी संस्थाहरू प्रचलित ऐन, कानुन र नीतिले चल्नुपर्दछ । संस्थामा हरेक गतिविधिहरू सञ्चालन भइरहेका हुन्छन् । ती कार्यक्रमहरू नीतिसङ्गत छन् वा छैनन् भन्ने आधारहरू स्पष्ट पार्न सक्नु पर्दछ । निर्माण भएका र साधारण सभाबाट स्वीकृति प्राप्त नियमावलीहरू, आचार संहिता तथा कार्यविधिहरू स्पष्ट रूपमा अनुसरण गर्दै सोही अनुरूप चल्नु पर्दछ । नीति नियम विपरीत जानेलाई दण्ड सजायको स्पष्ट व्यवस्थाका साथै राम्रो गर्नेलाई उत्प्रेरणा र पुरस्कारको व्यवस्था समेत हुनुपर्दछ ।
माथि उल्लेखित आधरहरूलाई समेट्दै सहकारी संसथाहरू अगाडि बढ्ने हो भने निश्चित रूपमा सहकारीमा सुशासन कायम भई संस्थाका शेयर सदस्यहरूको विश्वास जित्न सकिन्छ ।

(लेखक जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष हुनुहुन्छ ।)


तपाईको प्रतिक्रिया