डाँडापारीका सहकारीको अवस्था र हाम्रो दायित्व

यहि ७५ साल, बैशाख महिनामा सहकारी सुदृढिकरण अभियान अन्तर्गत खानीखोला गाउँपालिका र महाभारत गाउँपालिका पुग्ने अवसर प्राप्त भयो । यस समयमा बिषेश गरी साविक मिल्चे गाविस तथा बनखु र घर्तिछापमा रहेका बिभिन्न सहकारी संस्थाका पदाधिकारी तथा सञ्चालक सदस्य र शेयर सदस्यहरुसँग घनिभूत छलफल गरियो ।
भ्रमणका उद्देश्य नै सहकारीका बारेमा जानकारी राख्नु भएका कारण उक्त अवधिमा वास्तवमै डाँडापारीका क्षेत्रमा सहकारी कुन ढंगले सञ्चालन भइरहेका छन् भन्ने जानकारी लिनु थियो । उक्त अभियान क्रममा बिताएका र देखिएका बिषय तथा वास्तविकताहरुलाई सम्वन्धित सरोकारवाला निकायहरु सम्म पुर्याउँदा आगामी दिनहरुमा सम्वन्धित निकायले के कसरी काम गर्नुपर्दछ भन्ने बिषयमा योजना निर्माणको स्थान पाउछ र सहकारी अभियानलाई सहजता प्रदान गर्दछ भन्ने उद्देश्य र अभिप्रायका साथ केहि बिषय पस्कने जमर्को गरीएको छ ।
नेतृत्वमा डाँडापारी
यस क्षेत्रका २ वटा गाउँपालिकामा त्यसमाथि पनि सबै वडाहरुमा प्राय धेरै प्रकार सहकारी संस्थाहरु स्थापना भएको देखिन्छ । बिषेश गरी बचत तथा ऋण, बहुउद्देश्यिय, कृषि, दुग्ध सहकारी संस्थाहरु बढी मात्रामा देखिन्छ । यस क्षेत्रमा अधिकांश सहकारी खुलेका छन् चलाउन खोजिएको पनि देखिन्छ तर उक्त संस्थाहरुमा नेतृत्व गरिरहनु भएका अधिकांश सहकारी नेतृत्वकर्र्ताहरु कुनै न कुनै अन्य क्षेत्रसँग जोडिएका छन् ।
भन्नुको अर्थ के हो भने अधिकांश मानिसहरु गाउँमै बसेर हैन शहरमा बसेर उक्त संस्थाको पदाधिकारी अध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदसँग सम्वन्धित भई नेतृत्व सम्हालीरहेका छन् । गाउँमा सहकारीको बारेमा सामान्य बिषयसम्म पनि सिकाउने प्राय ः मानिस पाइदैन । जो जानेका छन् जिनतिन सहकारीका केहि सामान्य रुपमा सहकारी चलाउनुपर्दछ भन्दै चासो राख्दै आएका छन् । शहरमा बसेर सामाजिक संघ संस्था तथा बिभिन्न क्षेत्रसँग गाँसिएकाहरु सितिमिति गाउँ जाँदैनन र सहकारीका ताला चावी उनैसँग छ ।
गाउँमा जो रहेका सहकारी सञ्चालन गर्नेहरुसँगको अन्र्तक्रियामा सहकारीको बारेमा आधारभूत रुपमा समेत जानकारी छैन । के हो सहकारी ? यसले कसरी समुदायमा काम गर्दछ भन्ने ज्ञानको अभावका कारण पनि संस्था चलाउन समस्या देखिएको छ । सहकारी संस्थाका पदाधिकारीहरु समेत कुनै न कुनै रुपमा सामान्य जानकारी गराउन त परै जाओस उक्त संस्थामा सम्पर्क गर्न नै भ्याउदैनन । हामी शहरमा बसेर सहकारी आन्दोल र अभियानका कुरा गर्दछौं, इतिहास हेर्दा जिल्लामा १७ साल देखिको सहकारीकोे अभियानका कुरा पनि गर्दछौं ।
तर सबै हिसावले पछाडी परेको यस क्षेत्रमा किन घनिभूत ढंगले छलफल गर्न हामी किन पुग्न सकेका छैनौं ?अझै पनि जिल्लामा सहकारीको यस्ता समस्या छन भन्ने जानकारी सम्म हामीसँग छैन सिंगो नेतृत्व पंक्ति नै अग्रसर नहुँदा यस क्षेत्रका सहकारी कहाँ पुग्ला ? कतिदिन यस्ता सहकारीहरुलाई साश मात्र बाँकी राखेर कुरिरहने ? किन नेतृत्वले यो कुराको जानकारी नराख्ने ?
खातापाता व्यवस्थापनको अवस्था
सहकारी संस्था विधिवत रुपमा सहकारीका ७ सिद्धान्त अनुरुप चल्नुपर्दछ । यसै सिद्धान्तका आधारमा स्वःसञ्चालनमा आएका यस क्षेत्रका सहकारीको अवस्थालाई हेर्दा सहकारीमा सामान्य निर्णय उतार गर्ने माइन्यूटलाई नै सहकारी सञ्चालनका खाता बनाइ सञ्चालन गरेको अधिकांश सहकारीमा पाइन्छ । सहकारीमा कुन कुन खाता प्रयोगमा आउँछन र के कसरी प्रयोग गर्नुपर्दछ भन्ने सामान्य ज्ञानको समेत अभाव रहेको देखिन्छ । त्यती मात्र कहाँ हो र ? लेखा सुपरिवेक्षण समिति समेत गठन गर्नुपर्दछ भन्ने समेत ज्ञान छैन ।
सञ्चालक समिति बैठक तथा सञ्चालनको अवस्था
सहकारी संस्था दर्ता पश्चात धेरै जसो सहकारी संस्थाहरुले बैठक नै सुरु गरेका छैनन । बैठक सुरु गरेका सहकारी संस्थाको अवस्था पनि सबै शेयर सदस्यहरुलाई एकै स्थानमा भेला गराई समग्र सहकारीको ज्ञानका कुराहरु भन्दा पनि उपस्थित शेयर सदस्यहरुसँग पैसा (बचत) उठाउने गरेको पाइन्छ ।
उठेको रकम सञ्चालक समितिले नै अधिकांश स्थानमा आफैले चलाउने गरेको पाइन्छ । यो सामान्य ज्ञानको अभावमा पनि हुनसक्छ । अधिकांश सहकारीका ब्यक्तित्वहरु शहर केन्द्रित भई आवत जावत गर्ने कारण पनि हलुका ढंगले सहकारीको बारेमा चासो कम भएका कारण पनि बैठक बस्न नसकिएको देखिन्छ । सञ्चालक समितिको बैठक छुट्टै बस्नु पर्ने वा नपर्ने भन्ने सम्मपनि अनुभव छैन ।
समग्रमा देखिएका केहि समस्या
समग्रमा केहि सहकारीकर्मीहरुलाई एकै ठाउँमा राखेर विश्लेषण गर्ने क्रममा सहकारीहरुमा समस्याका चाङहरु रहेको देखिन्छन् जस अनुसार ः नियमित सञ्चालक समितिको बैठक नहुनु, लेखा सुपरिवेक्षण समितिको बैठकले गर्नुपर्ने कार्यहरु थाहा नहुनु, सञ्चालक समितिको भूमिका बारे ज्ञानको अभाव, लेखा सम्वन्धि ज्ञान, खातापाताको बारेमा सामान्य ज्ञानका अभाव, सहकारी संस्थाका कार्यालयहरु नै स्थापना छैनन, सहकारीका बोर्डहरु नै देखिदैनन वा छैनन, सूचना तथा संचार वा चिठिपत्रका प्रणाली कहाँ रकसरी गर्ने ? भन्ने ज्ञान कमी भएको छ , सरोकारवाला निकायहरु सँग सम्पर्क र समन्वय छैन र को को हुन ? त्यी निकाय ? भन्ने बारे थाहा नै छैन, स्थानीय तह र सहकारी बीचको भूमिका बारे थाहा छैन, कुनैपनि प्रकारका आन्तरिक नीतिहरु छैनन र बनाउनुपर्छ भन्नेबारे ज्ञान छैन ऋण लगानी अनधधुन्दसँग गरिएका छन् ।
बचतका ब्याज र ऋणका ब्याज बीचको अवस्था र कसरी सन्तुलन कायम गर्ने भन्नेबारे कसैलाई थाहा छैन, शेयर सदस्यता बृद्धि कसरी गर्ने र सहकारीका राम्रा बिषय समुदायमा कसरी लाने भन्ने बिषय नै थाहा छैन, ऋण लगानी पश्चात दशौं बर्ष सम्म पनि पैसा उठेका छैनन र पैसा नउठेपछि बचत संकलनमा समेत कमी भएको छ । सदस्य सदस्य बीचको सम्वन्ध सहकारीमा कमी हुदै गएको देखिन्छ । यस्ता अनगिन्ती समस्याहरु यस क्षेत्रमा गाँजिएका छन् । यस्ता समस्याहरु समयमा नै समाधान नहुने हो भने भविश्यमा जिल्लाकै सहकारी आन्दोलन र अभियन्ताहरुमा अर्को बिकराल समस्या देखिने प्रष्ट हुन्छ ।
अव हाम्रो दायित्व के त ?
सहकारी विश्व ईतिहास हेर्ने हो भनेपनि १७४ बर्ष भन्दा बढी ईतिहास रचेको सहकारी आन्दोलनले बिभिन्न समयमा आफ्ना गतिविधि तथा अंगिकार गरेको सिद्धान्तका बारेमा थाहा पाएका हामी सहकारी अभियानका ब्यक्तित्वहरुले शहरमा बसेर सहकारीलाई राज्यको तीनखम्बे अर्थ नीतिको रुपमा स्विकार गर्दै लामो भाषण दिंदा पनि नथाक्ने हामीले आफ्ना जिल्लामा दर्ता भई सञ्चालनमा रहेका सहकारीका बारेमा के सिकायौं अनि के थाहा पायौं ? भन्ने प्रश्न उठेको छ ।
सहकारीकै क्षेत्रमा कार्य गर्दै आएका सरोकारवाला निकायहरु आजका दिनसम्म कहाँ थिए ? कसरी यसको अनुगमन भयो ? सुधारका कार्यक्रमहरु कसरी लागु गरियो र कसले प्रारम्भ गर्यो ? भन्ने सम्मपनि हामीसँग कुनै प्रमाण र आधार छैनन । जिल्लामै रहेका डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, बिषयगत कार्यालयहरुले नैतिक रुपमा यसको जिम्मेवारी लिनुपर्दछ । थोरै प्रयासका बाबजुद पनि धेरै काम गर्न सकिने यस्ता क्षेत्रमा किन हामी मौन रह्यौं ? हाम्रो जिम्मेवारी के हो ? भन्ने ख्याल अव पनि गर्न नसकिएको खण्डमा वास्तवमा नै करोडौ रुपैयाका ब्यालेन्स सिट बनाएर हुइयाँ छेड्ने सहकारी तथा त्यसका नेतृत्वकर्ताहरुले मुन्टो लुकाउनु पर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न । किनभने यो हामी सबैको साझा एजेण्डा हो र दायित्व पनि ।
सहकारी जिल्लास्तरमा राम्रो भएमा हामी पनि गौरवले हर्शित हुन्छौं । सहकारी सद्धान्तले पनि सहकारी सहकारी बीचको सम्वन्धका बारेमा स्पष्ट बोलेको छ । यसबाट टाढा भाग्न हामी पाउँदैनौं र सक्दैनौं । त्यसैले आजैका दिनबाट हामीले एउटा संकल्प गर्न सक्नुपर्दछ । सुद्धिकरण र सुदिृढिकरणका लागि सबैले एउटा अभियान मिसन सहकारी डाँडापारीको योजना बनाएर अगाडी बढ्नुपर्दछ । नेतृत्व हत्याएर साधैभरी आफ्नो बर्चस्वमा राख्ने र सहकारीहरुका नेतृत्वकर्तालाई नेतृत्वबाट हटाई स्थानीय तहमा रहेका सहकारी संस्था सञ्चालन गर्न चाहनेहरुलाई मार्ग प्रशस्त गर्दै जिम्मा लगाउन हाम्रो कदम त्यहाँ अगाडी बढ्नुपर्दछ । अनिमात्र हाम्रो नारा र अभियानले सार्थक मान्यता राख्दछ ।
(लेखक जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष हुनुहुन्छ ।)