
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थिति उत्पन्न भएको हो ।
२०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७० सालमा लिएको अमेरिकी नागरिकता २०७५ सालमा त्याग गरेका थिए । अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी नेपाली नागरिकताको पुनः प्राप्ति प्रक्रिया लामिछानले नअपनाएको भन्दै अदालतको उत्पे्रषणको आदेशले लामिछानेको उम्मेदवार कायम गर्ने, निर्वाचित भएको घोषणा गर्ने, प्रमाण दिने सबै कार्य बदर भएको छ ।
नेपाली नागरिकता ऐन २०६३ को दफा १० मा आफूखुशी विदेशी नागरिकता लिएमा वा एकैसाथ विदेशी र नेपाली नागरिक हुने स्थितिमा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने स्पष्ट प्रावधान रहेको छ ।
लामिछानेको सांसद पद खारेजीबारे संसद् सचिवालयबाट पत्र प्राप्त भएपछि उपनिर्वाचनका लागि प्रक्रिया अघि बढाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।