
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको आकार घटाउने तयारी थालेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा कार्यान्वयनमा जान नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई संशोधन गर्ने तयारीमा पौडेल लागेका हुन् ।
आगामी बजेट घट्ने अर्थमन्त्री पौडेलले समेत बताएका छन् । बुधवार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास नदोहोर्याउने बताए । ‘ठूलो आकारको बजेट ल्याउने विगतको अभ्यास छ । तर, हामी त्यस्तो पक्षमा छैनौं । अर्थतन्त्रको संरचनागत परिवर्तन गर्नेमा हाम्रो जोड रहनेछ,’ उनले भनेका छन् ।
विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने तर कार्यान्वयन कमजोर हुँदा सरकारी अधिकारीको क्षमतामा प्रश्न उठाउने गरिएको छ । मध्यकालीन खर्च संरचनाअनुसार आगामी वर्ष १९ खर्बको बजेट सरकारले ल्याउनुपर्ने हो तर त्यसअनुसार बजेट बनाउन राष्ट्रिय योजना आयोगले अनुमति दिएको छैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।