कर्णालीमा गृह विद्यालयको अवधारणालाई कार्यान्वयन गरिने भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले बालबालिकाको सिकाइ निरन्तरता र घरमै पढ्ने बानीको विकास गर्न हरेक घरमा पढाइ कुनासहितको गृह विद्यालयको अवधारणालाई कार्यान्वयन गर्ने घोषणा गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिको सक्षम नेतृत्वबाट विद्यार्थीको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यसहित आयोजित सम्मेलनले प्रारम्भिक बालविकास उमेर समूहका सबै बालबालिकालाई बाल विकासमा भर्ना गर्ने घोषणा गरेको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसहित विद्यालय बाहिर रहेका सबै बालबालिकालाई भर्ना गरी पढाइलाई निरन्तरता दिने घोषणापत्रमा उल्लेख छ। व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो विद्यालयलाई सतप्रतिशत विद्यार्थी भर्ना भएको विद्यालय घोषणा गरी कार्यान्वयन गर्ने घोषणा गरेका छन्।
विद्यालयको भौतिक पूर्वाधार सुधार गरी विद्यालयलाई बालमैत्री, बालिकामैत्री, अपांगतामैत्री, वातावरणमैत्री तथा सुरक्षित बनाई बालबालिका रमाएर, सुरक्षित र भयरहित महसुश गरि सिक्ने वातावरण सुनिश्चित गरिने घोषणापत्रमा उल्लेख छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।




















