पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै असर पर्ने अर्को समस्या पनि देखिएको छ। नारायणी नदीलाई बासस्थान बनाएका माछा, गोहीलगायतका जलचरको पारिस्थितिक प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पु-याएको विज्ञहरूको भनाइ छ।
उनका अनुसार नदीको सतहमा हुने लेउ नै माछालगायतका जलचरको प्रमुख आहारा र बासस्थान हो। लेउ नै बन्न नपाउने अवस्था आएपछि यसले जलचरको खाद्य सुरक्षामा पनि चुनौती थपिएको छ। नेपालमा पाइने १२५ प्रजातिका माछामध्ये धेरैजसो नारायणी नदीमा छन्। विशेषतः बग्ने पानीमा रहने धेरै प्रजातिका माछा नारायणीमा पाइन्छन्।
घडियाल गोही, मगर गोही, डल्फिनलगायतका दुर्लभ जीव, पाँच प्रजातिका कछुवा, सहर, ट्याङ्ग्रा, जलकपुरजस्ता विश्वमै दुर्लभ हुँदै गएका माछाको पनि प्रमुख बासस्थान नारायणी हो। जलचरविज्ञ वेद खड्काका अनुसार बासस्थानमा आएको समस्याकै कारण कतिपय गोहीले पानीमै अन्डा पार्ने गरेका छन्। नदीबाहिरको बगरमा पार्नुपर्ने अन्डा पानीमा पार्दा खेर जाने गरेको उनको भनाइ छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।




















