राष्ट्रपतिमा कांग्रेसले ‘ढोक्सा’ थाप्दा धरमरमा सत्ता गठबन्धन

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ दिनपछि अर्थात् १३ फागुनमा हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका जिम्मेवार नेताले राष्ट्रपतिमा सहमतिको खोजी गरिने अभिव्यक्ति दिँदै गर्दा वर्तमान सत्ता गठबन्धनको आयु छोटिने संकेतहरू देखा पर्दै गएको हो ।
त्यसबखत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताहरूको दाबी छ ।
माओवादी केन्द्रका नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएर सत्ताबाट बाहिरिएपछि एमाले र माओवादी केन्द्रबीचको दूरी झनै बढेको छ । सुदूरपश्चिम प्रदेश सरकार जोगाउन प्रधानमन्त्री प्रचण्डले भूमिका नखेलेको भन्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट रहँदै आएका छन् ।
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेर कांग्रेसले सत्ताको नेतृत्व लिएपछि त्यसको असर राष्ट्रपति निर्वाचनमा पर्न सक्ने भन्दै एमाले माओवादी केन्द्रसँग झनै सचेत र सशंकित देखिएको हो । मुख्यतः सोही कारण ती दलका नेताहरूकै सत्ता समीकरण बदलिने अनुमान छ ।