बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँध आयोजनाको उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी÷नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित सो बाँध सुन्दरीजलबाट २१ किलोमिटर दूरीमा अवस्थित छ ।
चौबीस मिटर अग्लो बाँध निर्माण गरी बर्सातको पानी सङ्कलन गरेर बाँकी समयमा आवश्यकताअनुसार क्रमशः छाड्ने र बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको आठ लाख ५० हजार घनमिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ ।
त्यसैगरी यस बाँधमा मुख्य ड्याम एउटा, सहायक ड्याम तीनवटा, ड्यामको उचाइ २४ मिटर, ड्यामको माथिको लम्बाइ १७५ मिटर र तालको कुल क्षेत्रफल १२ हेक्टरमा फैलिएको छ । यस ड्यामको निर्माण गोन्जाउ÷रमन÷लामा (संयुक्त) निर्माण कम्पनीले गरेको हो । यो ड्याम निर्माणका लागि २०७१ पुस ३ गते बोलपत्र आह्वान र ठेक्का सम्झौता २०७२ असोज २२ गते गरिएको थियो ।
यो ड्याम निर्माणका लागि ५१ करोड सात लाख ५२ हजार रुपियाँमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म यस ठेक्काअन्तर्गत कुल ४९ करोड १० लाख रुपियाँ खर्च भइसकेको सो आयोजनाले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।





















