काभ्रे । हरेक तरकारीलाई मिठास दिने भान्साको राजा गोलभेडाको अचार त्यतिकै स्वादिष्ट हुन्छ । काठमाडौं उपत्यकाको भान्साको ठूलो हिस्सा ओगट्ने काभ्रेपलाञ्चोकको पाँचखालका किसानको मिठो गोलभेडाभित्रको तितो कथा छ । शनिबार बिहानदेखि सामाजिक संञ्जालमा भाईरल भइरहेको गोलभेडा किसानको वास्तविक पिडा बुझ्न पाँचखाल पुग्दा अवस्था निक्कै भयावह थियो ।
वडा नं. ६ का जयराम दनुवारलाई आजभोली निद्रा नै लाग्दैन् । बेलुकी खाना खाएर विछ्यौनामा टाउको अड्याउछन् तर निद्रा पट्क्कै पर्दैन् । खेतभरी लटरम्ब फलेको गोलभेडा पाकेर राताम्मे भएको खेतको चिन्ताले सताउँछ ।
खेतमा राताम्मे गोलभेडा पाकेको छ तर बिक्री हुदैन । दुई रुपैयाँमा पनि बिक्री नभएपछि खोलामा लगेर फाल्नु पर्ने चिन्ताले दनुवारको निन्द्रा खाईदिएको छ । लिजमा जग्गा लिएर गोलभेडा लगाएर जग्गाको भाडा पनि तिर्नु नसक्ने अवस्था आएपछि को चिन्तामा पर्दैन होला र ?
आफ्नो घर नजिकैको खेत भाडामा लिएर गोलभेडा खेती गरेका थिए । गोलभेडा फलेर बजारमा लानु पर्ने वेलामा बिक्री नहुदा मर्कामा परेको छ ।
‘मैले केही हुन्छ की भनेर अर्काको जग्गा भाडामा लिएर गोलभेडा लगाएको थिएँ । गोलभेडा पनि राम्रै फल्यो तर बेच्ने वेलामा भाउँ नै छैन ।’ दनुवारले दुखेसो पोख्दै भने, ‘दुख गरेर गोलभेडा फलायौँ तर बेच्ने वेलामा व्यापारीले लिनै मान्दैन । भाउँ नै छैन भन्छ, क्रेटको ५० रुपैया देखि २ सयसम्म दिन्छ त्यो पनि पाकेको जती लादैनन् ।’
उनले प्रतिरोपनी १५ देखि २० हजारसम्म बार्षिक जग्गा भाडा तिर्नुपर्ने हुन्छ । गोलभेडाले भाउँ नपाउँदा जग्गा भाडा पनि तिर्न नसक्ने होकी भन्ने चिन्ताले सताएको उनी बताउँछ ।
‘मैले ६÷७ रोपनी जग्गा लिजमा लिएर गोलभेडा लगाएको छु । प्रतिरोपनी १५ देखि २० हजार सम्म बार्षिक भाडा तिर्नु पर्ने हुन्छ । बार्षिक करिब एक लाख २० हजार जपत जग्गा भाडा तिर्नुु पर्छ ।’ उनले भने, ‘जग्गा भाडा पनि तिर्नु नसक्ने होकी भन्ने चिन्ताले सताउँछ । राती निन्द्रा नै लाग्दैन ।’
खेती गर्ने बेलामा मल नपाईने, बीउ नपाईने पाएपनि महंगो पर्ने समस्या त थियो नै जेनतेन गरेर फलाएको तरकारीले पनि भाउँ नपाएपछि झन मर्कामा परेको दनुवारले बताए ।
‘हामीले समयमै मल पाउँदैन पाईहाले पनि एक हजारको मललाई २÷३ हजार तिर्नु पर्ने हुन्छ । अनुदानको मल पाउँने त सम्भावना नै छैन । ५ किलो मललाई दिनभर लाईन बस्नु पर्छ ।’ उनले भने, ‘ती समस्याहरू झेलेरै भएपनि उत्पादन गर्याै बिक्री गर्ने वेलामा भाउँ नै आउँदैन, बिक्री नै हुदैन, फाल्नु पर्ने हुन्छ ।’
पाँचखाल नगरपालिका वडा नं. ६ का माईला दनुवार टण्टलापुर घाममा पसिना पुछ्दै खेतको गह्रामा गोलभेडाको दाना सुमसुम्याउँदै थिए । राताम्य पाकेको गोलभेडाको दाना सुमसुम्याउँदै दनुवारले हामीसँग दुखेसो पोखे, ‘जग्गा भाडामा लिएर गोलभेडा खेती गरीयो तर बेच्ने वेलामा दुई रुपैयाँ किलो पनि बिक्री हुदैन ।’
हिजो मात्र छिमेकीको गोलभेडा बिक्री नभएर खोलामा लगेर फ्यालेको बताए । खेतमै कुहाउदा खेतमा अम्लीयपन बढ्ने डरले टिपेर खोलामा फालेको उनको भनाई छ । ३÷४ दिनमा टिपिरहनु पर्ने गोलभेडा बिक्री नभएका कारण ७÷८ दिनदेखि नटिपेको उनले बताए ।
उस्तै गुनासो सुनाउँछ पाँचखाल नगरपालिका वडा नं. ३ का श्याम कुमार शाहको पनि । प्रति क्रेट ५० रुपैयाँ आउने उनले बताए । ‘गालभेडाको भाउँ नै छैन, किलोको २ रुपैयाँ पर्ने रैछ ।’ शाहले भने, ‘टिपेको ज्याला पनि आउँदैन । तर खेतमै कुहाउनु भन्दा २÷४ सय भनेपनि आउँछ बच्चाहरूलाई पेन्सील किन्न भएपनि हुन्छ भनेर टिपेको व्यापारीले लान्छ की लादैन ठेगान छैन ।’
उनीहरूको मात्र हैन पाँचखाल नगरपालिका वडा नं. ६ का चिरञ्जीवि तिमल्सिना, वडा नं. ४ काशिवराज दनुवार, वडा नं. ४ की सञ्जीता दनुवार, वडा नं. ६ का किरण दनुवार, माईला दनुवार, राधिका दनुवार लगायतको पनि दुखेसो उही छ । हालत उही छ ।
भारतीय तरकारीलाई दोष
पाँचखाल नगरपालिका वडा नं. ६ का चिरञ्जिवि तिमल्सिनाले भारतीय गोलभेडा नेपालमा भित्रीएकाले नेपाली गोलभेडाले बजार नपाएको तर्क राखे । भारतीय गोलभेडा रोकेमा आफुहरूको गोलभेडाले बजार पाउँने र मूल्य पनि पाउँने उनको भनाई छ ।
पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले पनि उही तर्क राखेका छन् । सिमानामा कुनै चेकजाँच विनै तरकारीहरू नेपाल भित्रीएको कारण नेपाली तरकारीले बजार नपाएको खरेलले बताए । भारतीय तरकारी नरोकेसम्म नेपाली तरकारीले भाउँ पाउने सम्भावना नै नरहेको खरेलको भनाई छ । ‘यो त पाँचखालको मात्र हैन देश कै समस्या हो । भारतीय तरकारी नरोकेसम्म नेपाली तरकारीले भाउँ पाउने सम्भावना छैन ।’ नगरप्रमुख खरेलले भने ‘त्यसमा हामीले के गर्न सक्छाँै र केन्द्रिय सरकारले नै रोक्नु पर्छ ।’
किसानका दुख नेताले देखेनन्
नेताहरू भोटमाग्न आएपछि फर्के नआएको जयराम दनुवारले बताए । किसानलाई मारमा परेको वेलामा कुनै पनि नेताहरूले वास्ता नगरेको उनले बताए ।‘भोट माग्न आउने वेलामाचाही हामीलाई खुट्टा नै ढोगुला जस्तो गथ्र्याे तर अहिले हामी किसानहरूलाई मारमा पर्दा कसैले हेर्दैन ।’ उनले भने, ‘किसानलाई दुःख पिर पर्दा जनप्रतिनिधि तथा नेताहरू कुन दुलोमा लुकेर बसेका छन् कुन्नी कसैले चासो देखाएको छैन ।’
आफूहरूले भोट दिएर पठाएको जनप्रतिनिधिहरूले पनि आफूहरूको मर्कामा चुपचाप बसेको किरण माझीले बताए । सुख दुखमा साथ देला भनेर भोट दिएको तर जितेपछि किसानलाई वेवास्ता गरेको उनको भनाई छ ।
तरकारीको बिमाको माग
पाँचखाल नगरपालिका वडा नं. ६ का किरण दनुवारले तरकारीको बिमा गर्नु पर्ने बताएका छन् । तरकारीको बिमा गर्नको लागि स्थानीय सरकारले पहल गर्दिनु पर्ने उनले बताए । तरकारीको बिमा भएमा क्षती भएमा किसानले राहत पाउँने उनको भनाई छ ।
स्थानीय सरकारले तरकारीको मूल्य निर्धारण गर्दिनुपर्ने उनको तर्क छ । ‘स्थानीय सरकारले तरकारीको मूल्य निर्धारण गरिदिए हुन्थ्यो ।’ किरण दनुवारले भने, ‘सरकारले त्यसो गरे हामीलाई सजिलो र फाईदा हुन्थ्यो ।’
फेरि कस्मेटिक कुरा
पाँचखाल नगरपालिकाले यस बिषयमा दीर्घकालिन समस्याको समाधानको लागि हरित महिला औद्योगिक ग्रामको परिकल्पना गरेको नगरप्रमुख खरेलले बताए । बजेटको व्यवस्था गरेर एक सय रोपनी जग्गामा उद्योग सञ्चालनका लागि टेण्डरको प्रक्रियामा पुगिसकेको खरेलले बताए । त्यसमा ५० भन्दा बढी उद्योग सञ्चालन हुने र स्थानीय उत्पादनलाई उद्योग मार्फत प्याकेजीङ गरेर बजार पठाउने उनको भनाई छ ।
असफल नेतृत्व
सामाजिक अभियान्ता श्रीकृष्ण धिमालले पाँचखालका जनप्रतिनिधिले कृषि नगर भनेर नाम भजाए पनि कृषि नीति नबनेको बताए । उनले कोल्डस्टोर बनाउने हल्लामात्रै गरेको र फलफुल तरकारी अन्नबालिको उचित बजार दिन नसक्ने, सिचाइ दिन नसक्ने राजकुलोको सरक्षण गर्ने नसक्ने बाध कुलो बनाउन नसक्ने, खोलामा खाल्डो खनेर पानी तानेर जनताले उत्पादन गरेको तरकारीको बजार सम्म बनाउन नसकेको भन्दै पुर्ण रुपमा असफल बनेको तर्क राखे ।























