
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एक भएर नेकपा बनेको बेलामा एमालेको रकममा चलेर हिसाव नबुझाएको आरोप लगाएका छन्। शुक्रबार भएको जनसंगठन समन्वय संयन्त्रको १२ औं बैठकमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेकपा बनेको भनिए पनि त्यो एकता नै नभएको बताए ।
एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी हुँदाको प्रसंग निकाल्दै एमाले अध्यक्ष ओलीले प्रचण्डले हिसाबसमेत नबुझाएको र आफ्ना गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरे । ‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन। कतिवटा संगठन एकता भएन, भए पनि तेल एकातिर, पानी एकातिर। घुल्न नै पाएन,’ ओलीले भने ।
नेकपाकालमा एमाले सम्बद्धहरूले एउटा पनि छुट्टै भेला वा बैठक नगरेको तर, प्रचण्डले सबै गरेको ओलीले बताए ।
‘हामीले कहिल्यै पनि छुट्टै भेला वा बैठक गरेनौं, प्रचण्डले आफ्नो पार्टी जीवितै राखे। बैठक अलगै गरिरहे। कार्यालय जीवितै राखे,’ ओलीले भने, ‘आफ्नो हिसाबकिताब बुझाएनन्। रकम कहिल्यै बुझाएनन्। एमालेको रकम लिए। एमालेको रकममा चले। एमालेको रकम खाए। एमालेको रकम पिए। सबै गरे।’ पार्टीमा प्रचण्डले एक पैसा पनि दाखिल नगरेको ओलीको आरोप लगाए ।