कोशीमा कांग्रेस–एमाले मिलेर सरकार चलाउन राप्रपाको सुझाव

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई सहयोग नगर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए ।
‘सरकार निर्माणको प्रक्रिया र धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन। कांग्रेस र एमाले मिलेर सरकार चलाउन भन्ने हाम्रो सुझाव हो,’ सँगै रहेका एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीतिर लक्षित गर्दै लिङ्देनले भने।
कोशीमा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। सो प्रदेशमा ठूलो पार्टी रहेको एमालेका ४० सांसद छन्। यस्तै, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ , एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन्।