काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा संघ उदार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा आज भएको तहगत सम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तर्क्रियामाउनले संघीयताको मर्मविपरीत संघमै अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्ने बताए ।
‘बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा संघ उदार हुनुपर्छ । अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्छ । एक प्रदेश र अर्को प्रदेश जोड्ने मापदण्ड हुनुपर्छ । जनसङ्ख्यालाई पनि आधार बनाएर अर्को तवरले योजना बनाउन सकिन्छ,’ तिमल्सिनाले भने, ‘अहिलेको जस्तो बजेट निर्माण गर्ने प्रणालीले विकास हुन सक्दैन, परिवर्तन गर्न जरुरी छ । संघय सांसद, प्रदेश सदस्य, स्थानीय जनप्रतिनिधिको नाममा बजेट वितरण गर्नेभन्दा व्यस्थित प्रणालीको आधारमा योजनाअनुसार बजेट वितरण गर्ने व्यवस्था हुनुपर्छ । सांसद विधि निर्माण गर्ने कुरामा केन्द्रीत हुनुपर्छ ।’
संघीयताको मर्म अनुरुप समन्वयका लागि तीनै तहका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले राष्ट्रिय सभाले संघीयता कार्यान्वयनसम्बन्धी निचोड निकालेर कार्यान्वयनका लागि निर्देशनसमेत गरेको बताए । अध्यक्ष तिमिल्सिनाले तीन तहबीच भएको बजेट, योजना, कार्यक्रम र कार्यालय सञ्चालनमा भएको दोहोरोपना हटाउनुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।























