भक्तपुर । भक्तपुरमा माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीका तीन दर्जनभन्दा बढी युवाहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेको ‘मुल घरमा नै फर्क’ अभियान अन्तरगत आज जिल्लाका तीन दर्जनभन्दा बढी युवाहरुले सामुहिक राजिनामा दिई एमालेमा नै फर्कने तयारी गरेका छन् । एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालको केन्द्रीय अनुशासन आयोगको प्रमुख दिपक थापाको नेतृत्व तथा पहलमा तीन दर्जनभन्दा बढी युवाहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
नेकपा एस परित्याग गरी एमालेमा फर्कने तयारीमा रहेकाहरुमा युवा संघ, अनेरास्ववियुलगायतका केन्द्र, जिल्ला तथा स्थानीय तहका युवाहरु रहेका छन् । राजिनामा दिनेहरुमा युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर इन्चार्ज तेजबहादुर श्रेष्ठ, रञ्जन मोहन सैजु केन्द्रीय सदस्य तथा भक्तपुर अध्यक्ष, दिवस वैद्य केन्द्रीय सदस्य, सञ्जीव लामिछाने अनेरास्ववियु जिल्ला अध्यक्षसहित जिल्ला, स्थानीय तहका अध्यक्ष, पदाधिकारीहरु सहित तीन दर्जनभन्दा बढी युवाहरु रहेका छन् ।
नेपालमा कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य पुरा गर्न एमालेको विकल्प नभएको भन्दै कम्युनिष्टहरु छरपष्ट भएर परिवर्तन सम्भव नहुने भएकाले आगामी दिनमा एक ढिक्का भई एमालेमा नै फर्कने तयारीका साथ पार्टी परित्याग गरेको बताए । विकास र समृद्धिको नेतृत्व गर्ने एमाले नै भएकाले कम्युनिष्टलाई फुटाएर कांग्रेसलगायतका दक्षिणपन्थी पार्टीहरुले स्वार्थ पुरा गर्ने खेलमा एकीकृत समाजवादीका नेतृत्व फसेकाले आफुहरुको पुरानो घर एमालेमा नै फर्किएर मुलुकको नेता पार्टी एमाले बनाई अगाडी बढ्ने तयारी रहेको बताइएको छ ।
आगामी दिनमा अरु पार्टीको पछि लाग्ने नभई अरु पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीको पछि लाग्ने बनाउने तयारीका साथ एमालेमा फर्कन लागेको बताए ।आज सामुहिक राजिनमा दिँदै निकालिएको विज्ञप्तीमा भनिएको छ, ‘आज मिति २०८०/०४/२७ गतेका दिनबाट हामीहरु नेकपा एकीकृत समाजवादीको सवै जिम्मेवारी त्यागी पार्टी र संगठनको साधारण सदस्यता समेत नरहने गरी सामुहिक राजिनामा दिएका छौं ।’



















