सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा रुचि देखियो : मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् । आज बुक फ्रि फ्राइडे कार्यक्रमका गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा प्राविधिक विषयको सिकाइप्रति उत्साह देखिएको बताएका हुन् ।

मेयर शाहले भनेका छन्, ‘प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरुको गहिरो रुचि : यो रुचि हाम्रा लागि अवसर सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको हो ।

भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो । प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ । यसपछि हामी अभिमुखीकरण (ओरियन्टेसन) का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रुचि टिप्छौँ । त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रुपमा समावेश गरेर कक्षा चलाउँछौँ । यो विज्ञान र प्रविधिमा आधारित समय हो । हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ ।

अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन् । उनीहरुलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विदार्थीलाई पुस्तकमा भएको सिद्धान्त (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ । महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस