एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मंगलबार भएको मतदानबाट उनी निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धीलाई मात्रै २ मतले पछाडी पारेर नेतृत्व हात पार्न सफल भएका हुन् । उपाध्यक्ष विष्णु पौडेल निकटका कँडेल यस अगाडी पनि प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए । अध्यक्ष केपी ओल नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले सर्वसहमत नेतृत्वका लागि गरेको आग्रह विपरित केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल निकटका नेताहरुले अध्यक्षमा दावी नछोडेपछि अन्ततः निर्वाचनमार्फत नेतृत्व छानिएको थियो । जसमा पौडेल निकटका कँडेल बिजयी भएका हुन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका महासचिव शंकर पोरखेल निकटका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।विजयी कंडेलले ४७९ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी रिजालले भने ४७७ मत प्राप्त गरेका थिए ।
पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।
महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् ।मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । विजयी उम्मेदारहरुलाई बुधबार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् ।पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् ।