
मोरङ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई राप्रपाको समर्थन नभएको बताएका छन् । सर्वोच्च अदालतको परमादेशले गठित एमाले नेता कार्की नेतृत्वको सरकारलाई राप्रपाले समर्थन नदिएको लिङ्देनले बताए । विराटनगरमा शनिबार पत्रकारसँग कुराकानीमा अध्यक्ष लिङ्देनले अहिलेको कोशी सरकारको बारेमा राप्रपामा कुनै किसिमको धारणा नबनाएको बताएका हुन् । ‘कोशीमा राजनीतिक स्थायित्व चाहिएको हो भने कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ,’ उनले भने, ‘राप्रपाको प्रदेश र सरकार दुवै प्राथमिकताको विषय नै होइन ।’
उनले कांग्रेस र एमालेलाइृ अझै पनि मौका रहेको भन्दै प्रदेश सरकार टिकाउन दुई दललाई मिल्न आग्रह गरे । ‘राप्रपा कुनै पक्षमा नलागिदिँदा प्रदेशसभा नै विघटन हुने परिस्थिति कांग्रेस र एमाले नमिलेको अवस्थामा मात्रै आउँछ र त्यो अवस्थामा मात्रै राप्रपा निर्णयक भूमिकामा आउँछ,’ उनले भने, ‘तर पहिलो कुरा यो व्यवस्थाका संस्थापकहरु मिलेर यो व्यवस्थालाई जोगाए राम्रो हुने थियो । त्यसका लागि कांग्रेस र एमालेसँग अझै मौका छ ।’
अहिले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा (३) अनुसारको नै रहेको र अब उक्त धाराको उपधारा (५) अनुसार सरकार गठन भएपछि मात्रै राप्रपाले निर्णय गरेर अघि बढ्ने लिङ्देनले बताए । ‘उपधारा (५) को सरकार गठनको बेलामात्रै राप्रपाले मध्यावधि चुनाव उपयुक्त कि एमालेसँगै सहकार्य गरेर निरन्तरता दिने वा अन्य कसैलाई समर्थन गर्न उपयुक्त हुन्छ वा आफूले नै नेतृत्व गर्नु उपयुक्त हुन्छ भन्ने निर्णय गर्छौं,’ उनले भने, ‘अहिले कोशीमा सत्ता साझेदारीका लागि कुनै दलसँग कुनै किसिमको ठोस सहमति भएको छैन ।’