चीनमा ‘पदकविहीन’ प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ।
प्रधानमन्त्री दाहाललाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याडले राजनीतिक रूपमा महत्त्व दिएर राजकीय सम्मानु प्रदान गरे पनि नेपाललाई आर्थिक रूपमा फाइदा पुग्ने कुनै दीर्घकालीन सम्झौता हुन सकेन ।
प्रधानमन्त्री दाहालको उपस्थितिमा चीनसँग भएका १३ सम्झौता खुद्रे योजनामा सीमित भएको भन्दै टिप्पणी भएको छ । यद्यपि सम्झौता कार्यान्वयन भए केही फाइदा भने हुने विश्वास लिइएको छ ।
प्रधानमन्त्री दाहालको उपस्थितिमा भएका सम्झौता मन्त्री, सचिव र दूतावासको तहबाट गर्ने प्रकारका भएको कूटनीतिक क्षेत्रका जानकार बताउँछन् । प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा मात्र सीमित भएको पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले टिप्पणी गरेका छन् ।
‘प्रधानमन्त्री तहको भ्रमणमा हुनुपर्ने सम्झौता एउटा पनि हुन सकेन,’ एमाले नेतासमेत रहेका जवालीले भने ‘भ्रमण उपलब्धिमुलक भएन।’ यो समाचार नागरिक दैनिकमा छ ।