प्रशिक्षार्थीहरूको सन्तुष्टि नै हाम्रो चाहना: रुपेश काफ्ले

बि.एम.के ड्राइभिङ स्कुल काभ्रेपलाञ्चोक जिल्लाको ड्राइभिङ स्कूल क्षत्रको एक परिचित नाम हो। ड्राइभिङ शिक्षा आजको आवश्यकता, शिप सिकौ आत्मनिर्भर बनौ भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यसको संचालक हुन काभ्रे जिल्लाको बनेपा नगरपालिका-८ निवासी रुपेश काफ्ले। विदेशी मुलुकमा गएर दुख गर्नु भन्दा नेपालमा नै केही गरौ भन्ने उदेश्यले बि.एम.के ड्राइभिङ खोलेको बताए । हातमा सिप नभए‌का नेपाली दाजु‌भाइ दिदिवहिनीहरु विदेशमा दुख कष्ट सहन बाध्य हुन्छन्। तर, केही युवाहरु नेपालमै केही गरौं भनेर आफ्नो श्रम स्वदेशमा वेच्न चाहन्छन्। तिनै मध्यको एक युवा हुन रुपेश। उनै काफ्ले सँग बेथानचोक खबरका सुरज श्रेष्ठले गरेको समसामयिक कुराकानी:

० ड्राइभिङ प्रशिक्षण केन्द्रको परिचय पाउँ न ।
– हाम्रो ड्राइभिङ स्कुलको नाम बि.एम.के ड्राइभिङ स्कुल हो । बि.एम.के ड्राइभिङ स्कुल २०७४ सालमा बनेपाको तिनदोबाटोमा रहेको सिद्धार्थ स्कुल अगाडि सञ्चालनमा आएको थियो । त्यहाँ सात वर्ष पूरा गरिसकेपछि अहिले २०८१ सालबाट हामी बनेपाको तिन्दोबाटो बाट सिनागाल जाने बाटो, सिनागाल मार्ग ज्योति शालोम एकेडेमि सङ्गै विद्यासागर स्कुलको अपोजिटमा ड्राइभिङ प्रशिक्षण गराउँदै आएका छौँ ।

0 कति भयो सञ्चालनमा आएको ?
– ७ वर्ष पुरा भयो । अहिले आठ वर्षको दौरानमा कुदिरहेका छौँ ।

0 हालसम्म कति जनालाई प्रशिक्षित गर्नुभयो ?
– अहिलेसम्मको अवधिमा सात हजार जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिएर ट्रायल पास गराउन सफल भएका छौँ ।

0 ड्राइभिङ सिक्न किन जरुरी छ ?
– ड्राइभिङ शिक्षा आजको आवश्यकता र सीप सिकौं आत्मनिर्भर बनौँ भने उद्देश्यका साथ ड्राइभिङ प्रशिक्षण गराउँदै आइरहेका छौँ । हाम्रो नारा मै यो प्रश्नको उत्तर छ । सीप बिना मानिसको जीवन अधुरो र अन्धकार नै रहेको कारणले सीप चाहिन्छ नै भन्छौं ।

0 सात वर्ष पूरा हुँदासम्मको अनुभवहरू के के छन् ? सुनाइदिनुस् न !
– प्रशिक्षार्थीहरूको सन्तुष्टि नै हाम्रो चाहना हो । यो नै हाम्रो मुख्य उद्देश्य पनि हो । यसै अनुरुप पनि प्रशिक्षार्थीहरुलाई एकदमै खुसी बनाएर प्रशिक्षण गराउने क्रममा हामीले सुरुवात गरेका थियौ । त्यसैलाई अहिले हामीले निरन्तरता दिइरहेका छौँ । अहिलेसम्मको अवधि एकदमै राम्रो भएको छ । अनुभवको कुरा गर्दा सीप सिकेर स्वावलम्वन अंगालेका साथीहरुको प्रगति नै हो । उहाँहरुको प्रगति नै हाम्रो उपलब्धी हो ।

0 तपाईको ड्राइभिङ सेन्टरमा के के कुरालाई ध्यानमा राखेर सिकाइन्छ ? क्षेत्रफल कति छ ? प्रशिक्षक कस्ता हुनुहुन्छ ? संरचना कस्तो छ ?
– यातायात व्यवस्था विभागले नयाँ मापदण्ड बनाइदिएको छ । विभागले तोकेको नयाँ मापदण्डअनुसार सातवटा संरचनाहरू हुनुपर्छ भनेर तोकेको छ । ती सातैवटा संरचनालाई टेकेर सात रोपनी जग्गामा ट्रायल स्कुल तयार पारेका छौँ । त्यहाँबाट जिरोदेखी नै प्रशिक्षण गराइरहेका छौँ । हामीले ट्रायलको अवधिसम्म नै उहाँलाई निरन्तर रुपमा सिकाउँछौँ ।

0 एक व्यक्तिले कति दिनमा कोर्ष सक्नु हुन्छ ? कि नजानुन्जेल सिकाइ रहने हो ?
– सीप सिक्नको लागि एउटा व्यक्तिलाई सधैँ यति नै समय लाग्छ भनेर उहाँहरुलाई हेरेर अथवा देखेको भरमा भन्न सकिँदैन । हामीले आठौं वर्षको यो अनुभवलाई समेटेर भन्नुपर्दा १५ दिनदेखि एक महिनासम्म प्रशिक्षार्थी अनुसार प्रशिक्षण गराएर ट्रायल पास गराउन सफल भएका छौँ । सिकेको १० दिनको दिनमा ट्रायल पास भएर आउने विद्यार्थी पनि हामीसँगै हुनुहुन्छ ।

२०/२५ दिन लगाएर पास हुने विद्यार्थी पनि हामी सँगै हुनुहुन्छ । सबैजनामा एउटै हुन्छ भन्ने हुँदैन । सीप सिक्ने सोच बनाएर आएपछि नजानेर नहुने भन्ने त हुँदै हुँदैन । बढीमा एक महिना नत्र १० दिन भित्रमा पनि उहाँहरुले ड्राइभिङ सिकेर ट्रायल परीक्षा पास गर्न सक्नुहुन्छ । यो चाहिँ व्यक्तिमा भर पर्ने कुरा भयो । हाम्रोमा फरक फरक प्याकेजहरू हुन्छ । त्यो उहाँले छान्न पाउनुहुन्छ । ड्राइभिङ सिक्ने क्रममा जति दिन लाग्छ ट्रायल पास भएर नआउन्जेलसम्म हामीले प्रशिक्षण गराइरहन्छौं । हाम्रो मुख्य उद्देश्य भनेको उहाँहरुलाई ट्रायल पास गराउनु नै हो ।

0 नेपालमै ड्राइभिङ सिकेर आय आर्जन गर्न सकिन्छ ?
– नेपालमै बसेर पनि ड्राइभिङ गरेर आयआर्जन राम्रोसँग गर्न सकिन्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने बनेपाको चारदोबाटो चोकमा एउटा गाडी लिएर कुरेर टिप गरेर बस्नेहरु धेरै हुनुहुन्छ । त्यो भनेको उहाँलाई ड्राइभिङ पेसाले दिएको रोजगारी हो । यसरी धेरै चालकहरुले आफ्नो परिवार पालिरहनुभएको छ । थप उदाहरणको लागि धुलिखेल हस्पिटलका चोकहरू, शिर मेमोरियल हस्पिटलका चोकहरुमा पनि यसरी हामीले बसेको देख्न सक्छौ । विभिन्न विद्यालय बसहरू चलाइरहनुभएको चालकहरु पनि हुनुहुन्छ । ड्राइभर नपाउनुको पीडा नै छुट्टै छ भन्नुहुन्छ कतिपयले । त्यसैले सीप चाहिन्छ ड्राइभिङ पेसा गरेरै नेपालमै राम्रोसँग रोजगारी गरेर बस्न सकिन्छ ।

0 ड्राइभिङ सिकेर स्वावलम्बी बनेकाहरुको कुनै उदाहरण छन् ?
– यस्ता धेरैवटा उदाहरणहरू रहेको छ । हाम्रो बनेपाको चार दोबाटो चोकमा टिप गरेर एक ठाउँबाट अर्को ठाउँमा गर्ने या अन्य कुनै ठाउँमा बसेर टिप गरिरहनुभएका धेरै ड्राइभरहरू हाम्रोबाट उत्पादन हुनु भएको छ । हाम्रोबाट यसरी ड्राइभिङ सिकेर आफ्नो काम गरिरहनुभएको धेरै चालकहरु हुनुहुन्छ ।

0 बि.एम.के ड्राइभिङ स्कुलमा कुन कुन सवारी साधन सिकाइन्छ ?
– हामीले सुरुवाती चरणदेखि नै लाइट भेकललाई फोकस गरिरहेका छौँ । लाइट भेकल भन्नाले साना सवारीमा पर्दछ । जस्तै मोटरसाइकल, स्कुटर, साना गाडीहरु सिकाईरहेका छौँ । साना गाडी भन्नाले चारपाङ्ग्रे गाडीहरू हामीले सिकाइरहेका छौँ । प्रशिक्षण गराउने क्रममा विभागले तोकेको अनुसारकै गाडी स्कुटरहरु सिकाउँदै आइरहेका छौँ । जस्तै गाडीमा हामीले अल्टो कार, बाइकमा सुपर स्प्लेण्डर र स्कुटरमा प्लेजर स्कुटरमार्फत प्रशिक्षण गराइरहेका छौँ ।

0 प्रशिक्षार्थीहरूबाट र बाहिरबाट कस्तो खालको प्रतिक्रिया पाइरहनुभएको छ ?
– हाम्रोमा पनि ड्राइभिङ सिक्ने धेरै क्षेत्रका हुनुहुन्छ । आम नागरिक पनि हुनुहुन्छ, सरकारी जागिरेहरु पनि हुनुहुन्छ । त्यो बाहेक विभिन्न सेवामा आबद्ध हुनुहुन्छ । हामीलाई उहाँहरुले धेरै राम्रो प्रतिक्रियाहरू दिइरहनु भएको हुन्छ ।

0 लिखित परीक्षालाई पनि जोड दिनुभएको छ ?
– प्रयोगात्मक मात्र नभएर लेखेका कुराहरूलाई पनि जोड दिनुपर्छ भनेर हामीले लिखित परीक्षालाई समेत जोड दिने गरेका छौँ । अहिले हामीले लिखित तयारी कक्षा भनेर सञ्चालनमा ल्याएका छौँ । प्रत्येक शनिबार बिहान ९ बजे लिखित तयारी कक्षा भनेर संचालन गरिरहेका छौँ । परीक्षा दिइरहँदाखेरि लिखित परीक्षा पनि दिनुपर्ने हुन्छ । त्यो पनि निकै महत्वपूर्ण रहेको छ । त्यसकारण लिखित परीक्षामा कस्ता प्रश्नहरु सोधिन्छ, कसरी लिखित परीक्षा दिनुपर्छ ।

त्यहाँ कतिवटा कस्ता कस्ता किसिमका प्रश्नहरु आउन सक्छ भन्ने जस्ता कुराहरू पनि सिकाइरहेका हुन्छौँ । यसैगरी हाम्रोमा अर्को मर्मत तयारी कक्षा पनि सञ्चालन हुने गरेको छ । त्यो भनेको हरेक शनिबार लिखित तयारी कक्षा सकिएपछि हामीले १० बजेदेखि मर्मत तयारी कक्षा सिकाउँछौ । हामीले गाडी सिकेर मात्र हुँदैन त्यसपछि आएका स–साना समस्याहरुलाई समाधान गर्न सक्नुपर्छ भन्ने हिसाबले यसरी सिकाइरहेका छौँ । आफ्नो गाडी भोलिका दिनमा बाटोमा गएर साना साना समस्याहरुले गरेर अड्केर बस्नु नपरोस् भन्ने हिसाबले यसरी सिकाइरहेका हौँ ।

0 आर्थिक अभावकै कारण ड्राइभिङ सीप सिक्न चाहेर पनि सिक्न नपाउनुभएकोहरुको लागि बि.एम.के ड्राइभिङ स्कुलको तर्फबाट केही विशेष छुट छ ?
– अहिले स्थानीय तहहरुले आफ्नै खर्चमा पनि प्रशिक्षण गराउँदै आएको छ । यसोगर्दा आर्थिक अभाव भएर सीप सिक्न नपाउनुभएकोहरूको लागि धेरै सहज भएको छ । यसैगरी हामी माझ कुनै प्रशिक्षार्थी म ड्राइभिङ सिक्न चाहन्छु तर मेरो आर्थिक अभाव छ भनेर आउनुभयो भने उहाँलाई हामी खाली हात पठाउँदैनौ ।

यसको लागि बिएमके ड्राइभिङ स्कुलले वर्षमा १२ जना महिनाको एकजनाको दरले यसरी निःशुल्क ड्राइभिङ सिकाउन पनि सुरु गरेका छौँ । यसमा हामीले आफैले छनोट गर्नेभन्दा पनि वडा सरकारको सिफारिसको आधारमा हुन्छ । वडाले विपन्न नागरिक हो भने सिफारिस गरिदिएको खण्डमा हामीले यसरी वार्षिक १२ जनालाई यसरी सिकाइरहेका हुन्छौ । यो विपन्न परिवारको लागि मात्र हो ।

0 यहाँहरूले ड्राइभिङ स्कुल सञ्चालन गरिरहँदा देखिएका समस्याहरू अथवा समग्र नेपालमा अहिले यस विषयसँग सम्बन्धि चुनौती के देखिएको छ ?
– मेरो मात्र होइन सबै ड्राइभिङ सेन्टर यसरी खोलेर बस्नुभएकाहरूको केहि आम समस्या छ । राज्यले सहयोग गरिदिने हो भनेदेखि धेरै कुराको समाधान पनि हुन्छ । आजभन्दा केही वर्ष अगाडि ड्राइभिङ स्कुलहरूमा एउटा ड्राइभिङ स्कुलले सिकाएर पठाएको छ, यो विद्यार्थीले राम्रो चलाउँछ भनेर सर्टिफिकेट दिन्थ्यो र त्यसैको आधारमा लाइसेन्सहरु बन्थ्यो तर हालहरु त्यो सिस्टम रद्द भएको छ ।

यसलाई फेरि सुचारु गर्न सकियो भने बजारमा भइरहेका दुर्घटनाहरु थप कम गर्न सक्थ्यो । यसलाई सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने लागेको छ । अहिले ट्रायल दिने क्रममा नै धेरै दुर्घटना भएको सुनिन्छ । त्यसो किन हुन्छ भन्दा यसरी ड्राइभिङ स्कुलहरू जोइन नगरिकन जानुहुन्छ अथवा प्रशिक्षण अवधि नसकिकन सानो हुन्छ । यसले गर्दा धेरै प्रभाव परेको छ । सबै ड्राइभङ स्कुलहरूको लागि एउटै मापदण्ड बनाएर अगाडि बढ्ने हो भनेदेखि सहज हुन्छ ।

0 अन्त्यमा ?
– मेरो कर्म क्षेत्र ड्राइभिङ स्कुल सम्बन्धि कुरा राख्ने मौका प्रदान गरिदिनुभएको मा हार्दिक धन्यबाद ब्यक्त गर्दछु, साथै तपाइहरुल बिस्वास गर्नु भएको बि एम के ड्राइभिङ अहिले पुरानो ठाउ बाट सरेको छ उस्तै नाम र ठाउ सङ्ग नझुकिनुहोस, भन्न चाहान्छु ।

– रुपेश काफ्ले,
सञ्चालक बि.एम.के ड्राइभिङ स्कुल, काभ्रेपलाञ्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस