चैत्र ९ गते! कहिले बिर्सन नसक्ने दिन, मेरो लागि “कालोदिन”

– सुरज श्रेष्ठ

दिन गए, महिना गए अनि वर्ष पनि
तिम्रै सम्झनामा गए,
भोक प्यास नभनी तिम्रै काखमा फेरि मलाई, लुटपुटिने मन छ आमा,
मलाई फेरि उही, सानै हुने मन छ ।

कति थिए होलान् तिम्रा, मन भित्रका चाहना
हाम्रा खुशीका लागि गथ्र्यौ होला, अनेकौँ बहाना
आयो पापी काल, टिपी लग्यो टपक्क
सम्झी आउँदा, यो मन बिझ्छ चसक्क ।।

मैले जीवन र जगत, जन्म र मृत्युलाई यसबेला राम्ररी बुझ्ने मौका पाएँ । प्राण भन्ने के हो ? यो कसरी जाँदो रहेछ भन्ने कुरा मैले आमाको मृत्युमा प्रत्यक्ष अनुभव गरे । मानिसमा एक मुठी सासको कति महत्व रहेछ भन्ने कुरा बल्ल बुझे ।

मानिसले सर्वप्रथम त आफूले आफैलाई नचिन्दा नै समाजमा दुःख, कष्ट, रिस, राग, डाहा, इष्र्या जस्ता कुराबाट यो जीवन जगत आक्रान्त बनेको छ । जबसम्म गहिरिएर यी कुराको अध्ययन गर्दैनौं तबसम्म हामीले दुःख पाइरहन्छौं । आखिर सबभन्दा ठूलो कुरा त स्वास प्रस्वास नै रहेछ । सुस्मरुपले आफूभित्रको स्वास प्रस्वासलाई राम्ररी चिन्न सकेमा जन्म र मृत्युलाई सजिलैसँग चिनिदोरहेछ । मैले यी कुराको अनुभव मेरी आमाको मृत्यु पछि सिक्ने मौका पाएँ ।

आज चैत ९ गते । मेरो जीवनको कालो दिन हो । त्यो दिनदेखि म आफै पनि मृत्युसँग लडिरहेको छु । जिन्दगीको सबै खुशी लुटिएको दिन हो । खोइ कहाँ गएर अन्त्य हुन्छ, थाहा छैन । समय त कति छिट्टै बितिसकेछ, तर मलाई आज हो जस्तो लागिरहेको छ । आज भन्दा १३ बर्ष अगाडि आजकै दिन मेरो भाग्य खोसिएको दिन । आजकै दिन मेरी आमाले मलाई टुहुरो बनाएर गएको दिन । लाग्छ यस्तो दिन कसैलाई पनि आई नपरोस् ।

त्यो अपत्यारिलो घटना मेरो मस्तिष्कमा अझै पनि ताजै छ । त्यो दिनलाई सम्झदैँ मन भारी हुन्छ, सम्हालिन गाह्रो हुन्छ । आमा, साँच्चै नै साह्रो गाह्रो छ, तिमी बिनाको यो जिन्दगी ।

आमा, तिमी अहिले हामी माझ नभए पनि तिमीसँग जोडिएको हरेक पल, हरेक क्षण मेरो मनभरि छ, मेरो हृदयभरी छ । तिमीसँग बिताएका हरेक समय मेरो मनमा अझै ताजा छ । तिमीलाई नसम्झेको कुनै पल छैन । जति जति तिमीलाई सम्झन्छु, मेरो बालापनसँग जोडिएका मेरा यादहरुले सताउँछ । ती यादहरुले मेरो मन भकानिन्छ । आँखाहरु यसै रसाउन थाल्छन् । अनि तिम्रो हसिलो अनुहार आँखा अगाडी डुलिरहन्छन् । लाग्छ, तिमी मेरै सामु छौ। बाबु भनेको झैँ लाग्छ। तर, यी सब कल्पना मात्रै हुन् ।

सबैकी आमा प्यारी भएजस्तै, मेरी आमा पनि प्यारी थिईन । अरुभन्दा धेरै फरक थिईन, मेरी आमा । जति नै दुःख, जति नै पीडा भएपनि कहिल्यै चिन्ता गर्नु हुदैँन है भनेर बेला–बेलामा हामीलाई सम्झाई बुझाई गर्थिन ।

त्यो समयमा आमाले परिवारको लागि गरेको दुःख मेरो मनमा अहिले पनि गुमिरहेको छ । हाम्रो सानो परिवार थियो । दुःखसुख गरेर दैनिकी चल्थ्यो । कामको शिलशिलामा बुबा विदेशीनु भएपछि घरको सम्पूर्ण जिम्मेवारी आमाकै काँधमा थियो । बुबा विदेशिनु भएपनि हाम्रो स्याहारसुसारमा आमाले कुनै कमी हुन दिएनन् ।

गाउँघरमा खेती किसानी नै आम्दानीको श्रोत हुन्थ्यो त्यो बेला । आमाको दैनिकी गाउँवेशी, मेलापात, गाईबस्तुको स्याहारसुसार र खेती किसानी गर्दैमा बित्थ्यो । झिस्मिसे उज्यालोेदेखि झमक्कै रात पर्दासम्म आमाको हात खाली हुदैनथ्यो । दिनभरीको कामको थकान भएपनि साँझ एकैछिन आफ्ना छोराछोरीसँग समय बिताउँथिन । यसरी नै हाम्रा दिनहरु बित्दै थिए ।

आमाले जीवनमा धेरै संघर्ष गरे। संघर्ष गर्दा गर्दै मेरी आमाको जीवन रित्तियो । रित्तियो आमाका अधुरा सपनाहरु । आमाले गरेको संघर्षको बारेमा लेख्नका लागि मेरा हातहरु थाक्दैनन् । मेरा शब्दहरु सकिदैनन् । मृत्युपश्चात मान्छे खरानी भएर कहाँ पुग्छ थाहा छैन । तर, मेरी आमा मेरै मनमा छिन् । मेरै मस्तिष्कमा छिन् । मसँगै छिन्, मेरी आमा ।

सिफारिस

ताजा समाचार

लोकप्रिय