माध्यमिक शिक्षा परीक्षा (एसईई) र आन्तरिक मूल्याङ्कनको एक सन्दर्भ
  • युवराज भट्टराई

“एसईई परीक्षा त हामीले सोचे भन्दा त फरक पो हुने रहेछ त है !” गणित विषयको चैत्र १० गतेको परीक्षा हलबाट निस्कदैं गरेका परीक्षार्थीहरूको एउटा समूह आपसमा कुराकानी गर्दै  थिए । म परीक्षाको सिलसिलामा मेरो एक जना आफन्त परीक्षार्थीलाई परीक्षा सकिसकेपछी लिन परीक्षा केन्द्र नजिक पुगेको थिएँ । अर्को विद्यार्थीले अगाडि बढ्दै थप्यो, ” यति धेरै तनाव लिएर नपढेको भए पनि हुने रहेछ नि !”  बाँकी विषयको परीक्षा सकिन नपाउँदै उनीहरू एसईईको विश्लेषण गर्न सक्ने सामर्थ्य राख्न सक्ने भैसकेका थिए । यद्यपि उनीहरुको विश्लेषण आँफैमा बहुअर्थी हिसाबले विश्लेषण गर्न सकिने थियो ।

नेपालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षामा मूल्याङ्कनको विषयमा बिभिन्न टीका-टिप्पणी हुने गरेका छन् । विद्यार्थीको भनाइलाई हेर्दा प्रश्नपत्रको कठिनाई स्तर, उनीहरूको सम्बन्धित विद्यालयमा भएका परीक्षा र एसईई परीक्षा केन्द्रमा हुने परीक्षाको फरकपन वा उनीहरूको परीक्षा तयारीको सन्दर्भलाई लिएर उनीहरुले टिप्पणी गरेका हुन् सक्छन्। हाम्रा परीक्षाहरू कति मर्यादित र व्यवस्थित हुने सकेका छन् भन्ने तथ्यलाई विद्यार्थीका यी संवादहरू, समयमा समयमा हुने चर्चा र अनुसन्धान प्रतिवेदनबाट स्पष्ट नै छ यद्यपि यो सबै तिर लागू नहुन सक्दछ ।यसको अर्थ विद्यार्थीहरूले सोचेभन्दा सजिलो प्रश्नपत्र पाए वा उनीहरूले तयारीका क्रममा अनुमान गरेकोभन्दा फरक ढाँचामा प्रश्न आयो भन्ने पनि हुन सक्दछ । नेपालमा हुने राष्ट्रिय परीक्षाहरू कहिलेकाहीँ अनपेक्षित कठिन वा सजिलो हुन सक्छन्, जसले विद्यार्थीहरूको मानसिक तयारीलाई असर पार्छ। यसले मूल्याङ्कन प्रणालीको विश्वसनीयतालाई पनि चुनौती दिन्छ।

शैक्षिक वर्ष २०८१ सालको माध्यमिक शिक्षा परीक्षा यही चैत्र महिनाको सात गतेबाट शुरु भएको छ । विगतका वर्षहरुमा विद्यालय शिक्षाको ढोका भनेर मानिने यो परीक्षामा अहिले केही सहज बन्दै गएको देखिन्छ । एकाध परीक्षा केन्द्रहरू बाहेक बाहिर देखिने मानिसहरूको भीड क्रमशः घट्दै गएको छ ।  यो वर्ष देशभरमा नियमिततर्फ पाँच लाख १४ हजार ७१ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुनकोलागि फारम भरेका छन्  । परीक्षा सञ्चालनकालागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।

एसईईको बारेमा गरिने चर्चा परिचर्चा ‘सिजनल’ बन्न पुगेका हुन्छन् । यिनीहरू खासगरी कि परीक्षाको समय वा नतिजा प्रकाशन हुँदा वा चैते असारे विश्लेषणमा सिमित रहेको पाइन्छ । बाँकी दस महिनासम्म कुनै विश्लेषण देखिदैन । न त्यो पाठ्क्रमसँग सम्बन्धित विषय होस् वा शैक्षणिक प्रक्रिया, परीक्षा प्रणाली, शिक्षक पेसागत सहायताको कुरा वा अनुगमन, निरीक्षण र सुपरीवेक्षणसँग होस् । पाठ्यकमको सन्दर्भमा कुरा गर्दा, त्यो बढी बोझिलो, धेरै विषयवस्तु भएको (content-loaded), बढी सैधान्तिक, तोकिएको समयमा कार्यन्वयन गर्न शिक्षकलाई कठिन हुने जस्ता आलोचना सुन्नमा आउँछन् । पाठ्यक्रम निर्माण र कार्यान्वयनमा मुख्य भूमिकामा रहनु पर्ने सरोकार पक्ष शिक्षकलाई पर्याप्त ‘स्पेस’ नदिएको समेत आरोप लाग्ने गरेको छ । पाठ्यक्रम निर्माण र परिवर्तन वा परिमार्जनपछि कार्यान्वयनमा लैजाँदा बहुसंख्यक शिक्षकहरूपाठ्यक्रम सम्बन्धी अभिमुखीकरणबाट लाभान्वित हुनसकिरहेका छैनन् ।

विद्यालय शिक्षाको वर्तमान मुल्याङ्कन प्रणालीले विद्यार्थीले सिकेका र सिक्नु पर्ने समग्र पक्षलाई प्रतिविम्बन नगरेको आभाष हुन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यन्वयनमा आएपछि कक्षा १ देखि ३ सम्म शत प्रतिशत, कक्षा ४ देखि ८ सम्म पचास प्रतिशत र कक्षा ९ देखि १२ सम्म पचिस प्रतिशत आन्तरिक मूल्याङ्कन कार्यन्वयनमा आएको छ । यसै गरी प्राविधिक प्रकृतिका विषयहरुमा आन्तरिकतर्फ पचास प्रतिशत र बाह्यतर्फ पचास प्रतिशत नै मूल्यांकन हुने व्यवस्था छ । आन्तरिक तर्फको मुल्यांकनलाई थप व्यवस्थित बनाउन विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड, २०८० लागू भई कार्यन्वयनमा आएतापनि शिक्षकले त्यसलाई कति अबलम्बन गर्न सकेका छन् ? भन्नेमा विविध प्रश्नहरु उब्जिएका छन् ।

माध्यमिक शिक्षा परीक्षामा सामेल हुने विद्यार्थीहरूको मूल्याङ्कन अन्तर्गत साधारण धारमा आन्तरिक तर्फ पचिस प्रतिशत र बाह्य परीक्षामा पचहत्तर प्रतिशत रहने प्रावधान छ भने प्राविधिक धार र साधारण धारका केहि प्रयोगात्मक मानिने विषयहरूमा आन्तरिक तर्फ र बाह्य परीक्षा दुवैमा यो पचास-पचास प्रतिशत छ । आन्तरिकतर्फ हुने परीक्षाको मूल्याङ्कनकोलागि सम्बन्धित विषय शिक्षक नै जिम्मेवार हुने प्रावधान छ । पाठ्यक्रममा आधारित भै विभिन्न प्रयोगात्मक कार्यहरु गराउने, परियोजना कार्य दिने,विद्यार्थीको सिकाइ प्रक्रियामा सहभागिता र  सिकाइको प्रस्तुतिकरण, छलफल , विद्यालय उपस्थिति आदि जस्ता रुब्रिक्स निर्धारण गरिएको छ । तर त्यसको कार्यान्वनको पाटोलाई विश्लेषण गर्दा अवस्था दयनीय र चिन्तनाजनक देखिन्छ किनभने एसईई को समग्र नतिजा विश्लेषण गर्दा विद्यार्थीहरुले उच्चतम ग्रेड अङ्क प्राप्त (‘ए प्लस’  र ‘ए’) गरेको देखिन्छ भने बाह्य तर्फको लिखित परीक्षामा सोही विद्यार्थीको न्युनतम अङ्क र ग्रेडदेखिन्छ । यसको मुख्य कारण शिक्षकहरुले आन्तरिक मूल्याङ्कनमापदण्ड, २०८० मा भएको व्यवस्थालाई प्रभावकारीरूपमा  कार्यान्वन गरेको देखिदैन किनभने त्यसमा भएका रुब्रिक्स पूर्णरूपमा प्रयोग गर्दा कमजोर विद्यार्थीको अङ्क स्वत: कम हुने देखिन्छ ।

मूल्याङ्कन प्रणालीलाई वस्तुनिष्ठ र व्यवहारिक बनाउन पहिलो चरणमास्पष्ट मापदण्ड र कार्यान्वयनमा एकरूपता ल्याउनआवश्यक छ। आन्तरिक मूल्याङ्कनकालागि प्रयोग गरिने रुब्रिक्स सबै शिक्षकहरूले एउटै तरिकाले प्रयोग गर्न सकून् भनेर सरकार वा परीक्षा नियामक संस्थाले एकीकृत निर्देशिका तयार गर्नुपर्छ। विद्यालयहरूमा शिक्षक तालिम सञ्चालन गरी मूल्याङ्कन प्रक्रिया बुझाउने र उचित अनुगमन गर्ने व्यवस्था गर्नु जरुरी छ। साथै, मूल्याङ्कनका मापदण्डलाई विद्यार्थीहरूसमक्ष स्पष्ट रूपमा राखी उनीहरूलाई परियोजना कार्य, प्रयोगात्मक अभ्यास, र अन्य सिकाइ गतिविधिमा सक्रिय रूपमा संलग्न गराउनु पर्दछ।

यसरी नैमूल्याङ्कनलाई व्यवहारिक बनाउनविद्यार्थीको वास्तविक सहभागिता सुनिश्चितगर्नुपर्छ। विद्यार्थीहरूले कागजी रूपमा मात्र परियोजना कार्य बुझाउने र शिक्षकहरूले उपस्थितिलाई मात्र आधार बनाएर मूल्याङ्कन गर्ने प्रवृत्ति हटाउनुपर्छ। विद्यार्थीहरूले प्रयोगशालामा प्रत्यक्ष रूपमा प्रयोगात्मक कार्य गर्नु, रिपोर्ट लेख्न स्वयं संलग्न हुनु, र समूह कार्य तथा छलफलहरूमा सहभागिता जनाउनु अनिवार्य गरिनुपर्छ। मूल्याङ्कनलाई जीवनोपयोगी बनाउने उद्देश्यले विद्यार्थीहरूलाई स्थानीय समुदायसँग सम्बन्धित परियोजना कार्य दिन सकिन्छ, जसले उनीहरूलाई वास्तविक समस्या समाधान गर्न सिकाउनेछ।

वर्तमान विद्यालयीय मूल्याङ्कन प्रणालीमा विद्यार्थीहरूलाई परियोजना कार्य कागजी रूपमा मात्र बुझाउने अभ्यास हटाउनु आवश्यक छ। मूल्याङ्कनको वास्तविक उद्देश्य विद्यार्थीहरूको ज्ञान, सिप, र व्यवहारिक दक्षताको विकास गर्नु हो ।तर कतिपय अवस्थामा उपस्थितिलाई मात्र आधार बनाएर मूल्याङ्कन गरिन्छ, जसले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई कमजोर बनाउँछ। त्यसैले, विद्यार्थीहरूले प्रयोगशालामा प्रत्यक्ष रूपमा प्रयोगात्मक कार्य गर्नु, रिपोर्ट लेख्न स्वयं संलग्न हुनु, र समूह कार्य तथा छलफलहरूमा सक्रिय सहभागिता जनाउनु अनिवार्य गरिनुपर्छ।

मूल्याङ्कनलाई जीवनोपयोगी बनाउन विद्यार्थीहरूलाई स्थानीय समुदायसँग सम्बन्धित परियोजना कार्य दिन सकिन्छ। यस्तो मूल्याङ्कनले विद्यार्थीहरूलाई वास्तविक समस्या समाधान गर्न सिकाउँछ। उदाहरणका लागि, विज्ञान विषयमा विद्यार्थीहरूलाई स्थानीय स्रोतहरूको अध्ययन गराई पानी शुद्धीकरणका उपायहरू खोज्न लगाउन सकिन्छ। यस्तै, जैविक मल उत्पादनको प्रक्रिया अध्ययन गराउने हो भने तिनीहरूले विद्यालय वा घरको जैविक फोहोरलाई सदुपयोग गर्न सक्नेछन्। सौर्य ऊर्जा जस्ता वैकल्पिक ऊर्जाका स्रोतहरूको प्रभावकारिता विश्लेषण गर्न विद्यार्थीहरूलाई स्थानिय सौर्य प्यानल प्रणाली अध्ययन गर्न लगाउन सकिन्छ। यसले उनीहरूलाई दिगो विकास र प्रविधिसँग जोड्न मद्दत गर्छ।

गणित विषयको मूल्याङ्कनलाई व्यवहारिक बनाउन विद्यार्थीहरूलाई स्थानीय समुदायका विभिन्न पक्षहरू गणना गर्न लगाउन सकिन्छ। उदाहरणका लागि, विद्यार्थीहरूले घर निर्माणमा लाग्ने लागत गणना गर्न, खेती उत्पादनको वार्षिक तथ्यांक निकाल्न, स्थानीय जलस्रोतको आयतन मापन गर्न, वा बैंकिङ प्रणालीमा ब्याज गणना सम्बन्धी अभ्यास गर्न सकिन्छ। यस्ता गतिविधिहरूले विद्यार्थीहरूलाई गणितीय सूत्र र गणना केवल पाठ्यपुस्तकमा मात्र नभई दैनिक जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा सिकाउँछ।

अंग्रेजी विषयमा विद्यार्थीहरूको मूल्याङ्कन गर्दा स्थानीय समस्या समाधानमा रिपोर्ट लेख्न, ऐतिहासिक वा प्राकृतिक स्थलहरूको भ्रमण निबन्ध तयार पार्न, स्थानीय हस्तकलाका उत्पादनहरूको विज्ञापन सामग्री निर्माण गर्न, वा सफल व्यक्तित्वहरूसँग अन्तर्वार्ता लिएर अंग्रेजीमा प्रस्तुत गर्न लगाउन सकिन्छ। यसले विद्यार्थीहरूको भाषा सीप, संवाद क्षमता, र व्यावसायिक लेखन दक्षता बढाउन मद्दत गर्दछ।यसरी, विद्यार्थी मूल्याङ्कनलाई व्यवहारिक बनाउँदा उनीहरूले पाठ्यक्रमका अवधारणाहरूलाई जीवनका वास्तविक परिप्रेक्ष्यमा प्रयोग गर्न सिक्नेछन्। यसले उनीहरूको सोच्ने क्षमता, निर्णय लिने सीप, र नवीन समाधान निकाल्ने क्षमतालाई बढावा दिनेछ, जसले उनीहरूलाई भविष्यका चुनौतीहरूसँग जुझ्न सक्षम बनाउनेछ।

मूल्याङ्कनकोविश्वसनीयता बढाउन आन्तरिक र बाह्य मूल्याङ्कनबीच तालमेलहुन आवश्यक छ। आन्तरिक मूल्याङ्कनलाई बाह्य परीक्षासँग मिल्दोजुल्दो बनाउने गरी विद्यालयस्तरमा नै नियमित परीक्षा सञ्चालन गर्नुपर्छ। विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनको अंक बाह्य परीक्षाको स्तरअनुसार मिल्ने गरी मूल्याङ्कन विधि विकास गर्नुपर्छ। साथै, मूल्याङ्कन प्रक्रियामा पारदर्शिता बढाउन बाह्य निरीक्षण प्रणाली लागू गर्न सकिन्छ, जसले गर्दा शिक्षकहरू मूल्याङ्कन गर्न बाध्य हुनेछन्। यी सुधार उपायहरू लागू गर्न सकियो भने मात्र मूल्याङ्कनलाई व्यवहारिक, निष्पक्ष, र प्रभावकारी बनाउन सकिन्छ।

माध्यमिक शिक्षा परीक्षामा आन्तरिक मूल्याङ्कनको प्रभावकारिता कमजोर हुनु र शिक्षकहरूले निर्धारण गरिएको मापदण्डको प्रभावकारी कार्यान्वयन नगर्नु शिक्षाको विश्वसनीयतालाई नै प्रभावित गर्छ। समग्रमा आन्तरिक मूल्याङ्कनमा देखिएका समस्या र समाधानका उपायहरू यहाँ बुँदागत रूपमा उल्लेख गर्नु सान्दर्भिक होला ।

मुख्य समस्याहरू:

१. अन्तरको असमानता: आन्तरिक मूल्याङ्कनमा उच्च ग्रेड पाउने विद्यार्थीहरूले बाह्य परीक्षामा कम ग्रेड प्राप्त गर्नु शिक्षकहरूको मूल्याङ्कनको निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठाउँछ।

२. रुब्रिक्सको पालना नहुनु: आन्तरिक मूल्याङ्कनका लागि निर्धारित रुब्रिक्स प्रयोग नगर्दा वास्तविक योग्यता भन्दा बढी अंक दिने प्रवृत्ति हावी हुन सक्छ।

३. शिक्षकहरूको मूल्याङ्कनको भूमिका: शिक्षकहरू विद्यालय प्रशासन वा अन्य कारणले गर्दा वास्तविक मूल्याङ्कन गर्न नसक्ने वा गर्न नचाहने सम्भावना रहन्छ।

४. विद्यार्थीको वास्तविक क्षमता मापन नहुनु: आन्तरिक मूल्याङ्कन प्रभावकारी रूपमा लागू नभए, विद्यार्थीको वास्तविक क्षमता र आवश्यक सुधार क्षेत्रहरू पहिचान गर्न गाह्रो हुन्छ।

५. आन्तरिक मूल्याङ्कनमा समानता नहुनु:विद्यालयहरूमा मूल्याङ्कनका मापदण्ड एउटै भए पनि, शिक्षकहरूको व्याख्या फरक हुन सक्छ। कतिपय विद्यालयमा विद्यार्थीलाई सजिलै उच्च अंक दिइन्छ भने कतिपयमा कडा मूल्याङ्कन गरिन्छ, जसले गर्दा विद्यार्थीहरूबीच असमानता देखिन्छ।

६. विद्यार्थीको वास्तविक संलग्नता कम हुनु:परियोजना कार्य, प्रयोगात्मक कार्य, र प्रस्तुति जस्ता मूल्याङ्कनका आधारहरू कागजी रूपमा मात्र पूरा गर्ने प्रवृत्ति छ। कतिपय अवस्थामा शिक्षक वा विद्यार्थीहरूले मात्र औपचारिक रूपमा प्रतिवेदन तयार गर्ने तर सिकाइमा सक्रिय संलग्नता नहुने समस्या छ।

७. बाह्य परीक्षा र आन्तरिक मूल्याङ्कनको तालमेल अभाव:आन्तरिक मूल्याङ्कनमा ‘ए प्लस’ वा ‘ए’ पाएका विद्यार्थीले बाह्य परीक्षामा ‘सी’ वा ‘डी’ ग्रेड ल्याउनु तालमेल नहुँदा मूल्याङ्कन प्रणालीमाथि नै प्रश्न उठ्छ। यसले मूल्याङ्कनको विश्वसनीयता कमजोर बनाउँछ ।

सम्भावित समाधानहरू:
१. सक्षमअनुगमन र समीक्षा प्रणाली: आन्तरिक मूल्याङ्कन प्रक्रियामा अनुगमन गर्न बाह्य मूल्याङ्कनकर्ताहरूको व्यवस्था गरिनुपर्छ।
२. शिक्षक तालिम कार्यक्रम: रुब्रिक्स सही रूपमा प्रयोग गर्ने तालिम दिएर मूल्याङ्कनलाई निष्पक्ष बनाउन सकिन्छ।
३. व्यावहारिक मूल्याङ्कनको सुधार: परियोजना कार्य र प्रयोगात्मक मूल्याङ्कनको प्रभावकारी कार्यान्वयन गर्न विद्यार्थीको कार्य प्रस्तुति, छलफल, र वास्तविक प्रयोगात्मक सत्रको मूल्याङ्कन गर्नुपर्ने हुन्छ।
४. द्वन्द्वरहित मूल्याङ्कन प्रणाली: आन्तरिक मूल्याङ्कनका अंकहरू विद्यार्थीको वास्तविक क्षमता झल्काउने गरी निष्पक्ष हुनुपर्नेछ।

५. मूल्याङ्कनको समानता सुनिश्चित गर्न स्पष्ट निर्देशिका:शिक्षकहरूले रुब्रिक्स समान रूपमा लागू गर्न सकून् भनेर परीक्षा नियामक संस्थाले मूल्याङ्कनको स्पष्ट निर्देशिका र तालिम कार्यक्रम ल्याउनु आवश्यक छ।

६.विद्यार्थी संलग्नता बढाउने उपायहरू:विद्यार्थीहरूले वास्तविक रूपमा परियोजना कार्य, प्रयोगात्मक कार्य, र प्रस्तुति गर्नुपर्छ भनेर निगरानी राख्नुपर्ने हुन्छ। शिक्षकहरू, अभिभावक, र विद्यालय प्रशासनको सहकार्यमा विद्यार्थीलाई जिम्मेवारीबोध गराउने नीति ल्याउनुपर्छ।

७. आन्तरिक र बाह्य मूल्याङ्कनको समायोजन:विद्यालयस्तरमा नै परीक्षण परीक्षा वा बाह्य परीक्षासँग मिल्दोजुल्दो परीक्षा लिएर विद्यार्थीको वास्तविक तयारी मूल्याङ्कन गर्नुपर्छ। साथै, आन्तरिक मूल्याङ्कनलाई बाह्य मूल्याङ्कनसँग तुलना गरी आवश्यक सुधार गर्नुपर्ने हुन्छ।

निष्कर्षः

नेपालको माध्यमिक शिक्षा परीक्षामा आन्तरिक मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्छ, किनकि हालको प्रणालीले निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठाएको छ। मूल्याङ्कनमा एकरूपता नहुनु, विद्यार्थीको संलग्नता कम हुनु, र आन्तरिक तथा बाह्य मूल्याङ्कनबीच तालमेल अभाव जस्ता समस्याले गर्दा विद्यार्थीहरूको वास्तविक क्षमता मापन गर्न गाह्रो भएको छ। यसले गर्दा शिक्षाको गुणस्तर कमजोर हुनुका साथै विद्यार्थीहरूको सिकाइ प्रभावकारिता घट्ने जोखिम रहन्छ।

यी समस्याहरूलाई समाधान गर्न स्पष्ट मूल्याङ्कन निर्देशिका, शिक्षक तालिम, र विद्यार्थीको सक्रिय संलग्नता सुनिश्चित गर्नुपर्छ। साथै, आन्तरिक मूल्याङ्कनलाई बाह्य परीक्षासँग समायोजन गर्ने र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने आवश्यक छ। यदि मूल्याङ्कन प्रणालीलाई सुधार गर्न सकियो भने मात्र विद्यार्थीहरूको वास्तविक क्षमताको उचित मूल्याङ्कन गर्न सकिन्छ र शिक्षाको गुणस्तर सुधार गर्न सकिन्छ।

मूल्याङ्कन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्छ। डिजिटल प्रविधिको प्रयोग गरी विद्यार्थीको प्रगति र सिकाइको नियमित रेकर्ड राख्दा निष्पक्षता कायम गर्न सकिन्छ। अनलाइन परीक्षण, प्रोजेक्ट बेस्ड मूल्याङ्कन, र शिक्षक-विद्यार्थी अभिमत संकलन गरी मूल्याङ्कन प्रक्रियालाई अझ पारदर्शी र प्रभावकारी बनाउन सकिन्छ।शिक्षक, विद्यार्थी, र अभिभावकबीच समन्वय बढाउनु पनि महत्वपूर्ण छ। आन्तरिक मूल्याङ्कनको प्रभावकारिता बढाउन विद्यालयहरूबीच प्रतिस्पर्धात्मक मूल्याङ्कन प्रणाली लागू गर्न सकिन्छ। साथै, मूल्याङ्कन प्रक्रियामा विद्यार्थीहरूलाई आत्ममूल्याङ्कन तथा सहकर्मी मूल्याङ्कनमा संलग्न गराउने हो भने उनीहरूमा आत्मनिर्भरता र उत्तरदायित्वको भावना विकसित हुनेछ, जसले सिकाइको गुणस्तर अभिवृद्धि गर्नेछ।

(लेखक जनक माध्यमिक विद्यालय, काभ्रेपलाञ्चोकका विज्ञान शिक्षक, जनक बहुमुखी क्याम्पसका प्राध्यापक र नेपाल खुला विश्वविद्यालयका फ्याकल्टीसमेतहुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एम्. एस्सी. र नेपाल खुला विश्वविद्यालयबाट एम्. फिल. गर्नुभएको छ भने हाल उहाँ त्रिभुवन विश्वविद्यालयमा गणित शिक्षा विषयमा विद्याबारिधिका शोधार्थी समेत हुनुहुन्छ ।)

सिफारिस

ताजा समाचार

लोकप्रिय