– केशवराज पौडेल
‘चुनावमा मात्रै हैन, अरु समय पनि नेताको अघिपछि हिड्ने, समय– समयमा प्लेन चढ्ने, जिब्रो फेर्ने र देश विदेश घम्ने प्रकृतिका पत्रकारको विगविगी भएसम्म पत्रकारिता स्वस्थ्य हुनै सक्दैन– पत्रकारिता पढिरहेका साथीहरुको जमघटमा रमाइलो कुरा भयो । त्यो समयको फाईदा उठाउँदै मैले एसएलसी पास गरेपछिको स्मरण सुनाउने मौका पाँए ।’ यो दुई दशकअघिको कुरा हो ।
त्यतीबेला डेरीसम्म दुध लाने र गाई, बाख्राको भकारो सोहोर्नु पर्ने जिम्मेवारी थियो । रेडियो घन्काएर भकारो सोहोर्न मात्रै छिरेको थिए, रेडियो नेपालमा समाचार आयो । एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक भएको समाचार बज्यो । नियमित तर्फ झण्डै २८ प्रतिशत उत्र्तिण भएछन् । उर्जा भरिएको शरिर एकाएक शिथिल भयो । परीक्षाफल पाउन निक्कै गाह्रो थियो । मामाको छोराको काठमाडौंमा पत्रिका पसल थियो । उसले पारी गाउँमा रहेको काकाको घरमा भएको टेलिफोन मार्फत खबर ग¥यो– दिदीको छोरो प्रथम श्रेणीमा एसएलसी पास भएछ ।
प्रथम श्रेणीमा एसएलसी पास भएपछि उच्च शिक्षाको लागि बनेपा आएर पढ्ने सल्लाह भयो । धेरैले साईन्स पढ्नु पर्ने बताए । केहीले अनिवार्य व्यवस्थापन पढ्न सुुझाए । त्यसपछि पाँच ओटा कलेजहरुमा फर्म भरे ईनट्रान्स पनि दिए । तर मेरो मन पत्रकारिता पढ्न तर्फ हौसियो । त्यसको खास कारण थिएन, पत्रकार ठूला मान्छे हो भन्ने सुने बाहेक । काभ्रे बहुमुखी क्याम्पसमा आम संचार तथा पत्रकारितामा भर्ना भए । कक्षामा धेरै साथीहरु को इच्छा पत्रकारिता पढ्नमा थियो । त्यतिबेलाका साथीहरु मध्ये हामी दुईमात्रै अहिले कृयाशिल पत्रकारिता गरिरहेका छौ । त्यो बिचमा कति हन्डर खाइयो । पत्रिका बेच्नेदेखि डेलिभरीसम्म गर्ने काम गरे । त्यसको दौरान सबैभन्दा धेरै सुनेको शब्द थियो– पत्रकारिता गर्न पत्रकारिता बिषय नै पढ्नुु पर्छ भन्ने छैन ।
त्यस्ता टिक्काटिप्पणी आएपछि गलत बिषय पो पढिएछ जस्तो पनि लाग्न थाल्यो । तर त्यसको महशुस मलाई पत्रकारिता पढ्न हौसाउने मध्येका एक अविरल थापा जो प्राध्यापक हुनुहुन्छ उहाँसँग भेटेपछि मात्र भयो । उहाँसंगको भेटपछि मैले पत्रकारिताको आर्दश बारे बुझे । त्यसअघि मलाई पत्रकारितामा रहिरहँदा पत्रकार महासंघको नेतृत्व गर्नुपर्छ भन्ने बाहेकका कुरा अग्रजले खासै सिकाएनन् । पत्रकारिता भनेको तत्कालै जानकारी दिने बिषय हो भन्ने बाहेक थप कुरा जानिएको रहेनछ ।
त्यसपछि आम संचार तथा पत्रकारिताको केन्द्रीय विभागमा स्नातकोत्तर तह पुरा गरेपछि हाम्रा प्राध्यापकहरुले दिनुभएको दीक्षाले यसको महत्व अझ धेरै रहेको चाल पाए । किन पत्रकारिता अध्ययन गरेका विद्यार्थीहरु अरु भन्दा पृथक हुन्छन् र उहाँहरुको सोच्ने शक्ति फरक हुन्छ भन्ने पत्ता लगाउन सजिलो भयो । सो अध्ययनले मलाई पत्रकारबीच नै रहेको विभेदको बारेमा प्रष्ट हुने मौका मिल्यो ।
पत्रकारिता गर्न पढिरहन पर्दैन । धेरैले यो होसमा भने या अज्ञानमा, कमजोरी लुकाउन भने या आफ्नो सफलता देखाउन उनै जानुन् । तर यसले एउटा गम्भिरता चाहिंँ के प्रतिविम्बत गर्छ भने अझै पनि घर बनाउन ठेकेदार भए पुग्छ, इन्जिनियर चाहिँदैन भन्ने धङधङीबाट हाम्रा अग्रजहरूको चेतना माथि उठ्न सकेको देखिएन । त्यसलाई चिर्न पत्रकारिता अध्ययन गरेका विद्यार्थीले मेहनत देखाउन आवश्यक छ । फरकपन ल्याएर खोज पत्रकारिता मार्फत समाज रुपान्तरणमा भुमिका खेल्न अपरीहार्य छ । पत्रकारिताको अध्यनले कुन मन्त्र हो, कुन भजन हो, छुट्याउने विवेक आउँछ । कुन ढुंगो हो, कुन शालिग्राम हो, चिन्न सकिन्छ । त्यो छुट्याउने क्षमता र खुवी पत्रकार बाहेक कोहीसँग पनि छैन । पार्टीको कार्यकर्ता भएर नारा सार्न, भत्ता पचाएर एनजीओको प्रतिवेदन छाप्न र प्रायोजकको भट्टीमा रक्सी धोकेर अखबारमा वान्ता गर्न पत्रकारिता नपढ्दा पनि खासै फरक पर्दैन । तर समाजलाई फेर्न र विकासमा योगदान पु¥याउने पत्रकार बन्न पढ्नै पर्छ ।
पढेर सबै आफैंले गर्न सकिने हैन, तर अरुलाई ठिक तरिकाले काममा लगाउने ज्ञानचाहिंँ लिन सकिन्छ नै । आफू कुनचाहिँं पाटोमा योग्य छु भन्ने चेतना पनि अध्ययनले अवश्यै दिन्छ । त्यही मर्म सिकाउने पाटो हो, शिक्षा । पछिल्लो समय सत्ताको नजिक पुग्न, राजनीतिक आस्थाका आधारमा शक्ति आर्जन गर्न र मिडियाका आवरणमा अरु धन्दा चलाइराख्न मिडियाको दोकान खोल्ने मालिकहरूको संख्या बढ्दैछ । त्यसले समग्र पत्रकारिताप्रती आम मानिसको सोचाईमा व्यापक परिर्वतन भइरहेको छ । पत्रकारिताको बारेमा टिप्पणी हुन थालेका छन् ।
पत्रकारका नाममा आफन्त, कार्यकर्ता र आसेपासेलाई जागिर खुवाएर पत्रकारिताको चिरहरण गरी रमिता देखाउने काम बढ्दै गइरहेको छ । प्रेस पास झुन्ड्याएर दादागिरी गर्ने, चरित्रहत्या गर्ने र दलाली गर्नेहरूको फौजले नेपाली सञ्चार जगत कलंकित हुनथालेको छ । त्यसमा निगरानी कोहीबाट हुन सकेको छैन । सरकार, पत्रकार महासंघ, अनुगमन गर्ने निकाय निरन्तर निगरानी गर्ने कार्यबाट चुकीरहेका छन् । सञ्चार माध्यम खोल्न चाहिने न्युनतम विषयगत योग्यता र पृष्ठभूमिको स्पष्ट नीति नहुनु र पत्रकार बन्न चाहिने न्युनतम शैक्षिक योग्यता र तालिमको मापदण्ड नतोकिनुले कार्यकर्ता, दलाल र धुपौरेहरूले कतै पत्रकारिताको नयाँ पुराण लेख्ने त हैनन् भन्ने नैतिक संकट उत्पन्न हुँदैछ । त्यसले पत्रकारिता अध्ययन गर्नेको संख्यामा कमी ल्याउन थालेको छ ।
पढेर केही गर्छु भन्नेहरू काममा सहज पहुँच नपाउने, व्यावसायिक मर्यादा अपनाउन खोज्दा जागिर नपाउने वा हात धुनुपर्ने, महिनौं भोकै काम गर्नुपर्ने र योग्यता अनुसार काम, तलब सुविधा र बढुवा नपाउने खेल पनि जारी छ । त्यसमा पत्रकार महासंघले नेतृत्व लिन सकेको छैन । उ श्रमजिवीको पक्षमा खासै उभिएको पनि छैन । पत्रकार महासंघ आफै कुनै दलको अमुक भातृ संस्थाको रुपमा रुपान्तरण हुन थालेको विश्लेषण पनि गरिन थालिएको छ ।
मिडिया उद्योग अरु कारखानाजस्तो हैन भनेर बुझ्न अब यसका मालिकले पनि यो विषय पढे खासै फरक पर्दैन । विना विश्वविद्यालयको पढाइ पनि स्वअध्ययन, तालिम, ज्ञान र अनुभवको कसीले राम्रो स्थान र पेसागत मर्यादा बनाएका केही अपवाद भने नकार्न सकिन्न । अर्को धेरैलाई आमसञ्चार पत्रकारिता पढेपछि विशुद्ध समाचार लेख्ने पत्रकारमात्र बन्ने हो भन्ने भ्रम अझै विद्यमान छ । त्यसलाई तोड्न विश्वविद्यालयले पनि आफ्ना कोर्षलाई बदल्न आवश्यक छ । पत्रकारिता पढेका विद्यार्थीले यसरी पत्रकारितामा परिर्वतन ल्याउन सक्छन् भन्ने उदारहण पेस गर्ने विद्यार्थी उत्पादन गर्न आवश्यक छ ।
विश्वमा प्रविधिको विकाससँगै आमसञ्चारका अनेक हाँगाबिँगा विकसित भइसकेका छन् । यसको अध्ययनपछि मूलधारको सञ्चारकर्ममा प्रवेश गर्ने राजमार्ग त खुला हुन्छ नै, साथसाथै वैकल्पिक मार्गमा यात्रा गर्ने सुविधा पनि उपलव्ध हुन्छ, जसलाई धेरैले नजरअन्दाज गरेको देखिन्छ ।
आमसञ्चार एवं पत्रकारिता विषय अन्तर्गत मिडिया थ्यौरीका अलावा मिडिया म्यानेजमेन्ट, पव्लिक रिलेसन्स, एडभरटाईजिङ, वेब डिजाइनिङ, मिडिया ल, फोटोग्राफी र भिडियोग्राफी, मिडिया मार्के्टिङ, मिडिया रिसर्च लगायत अन्य धेरै विषयहरूको पढाइ हुन्छ, जसको वर्तमान बजारमा दक्ष जनशक्तिको राम्रो माग छ ।
आमसञ्चार एवं पत्रकारिता विषय पढ्नेहरूका लागि अर्को लोभलाग्दो अवसर भनेको सूचना अधिकृत वा सूचना अधिकारी भएर विभिन्न कार्यालयमा काम गर्न पाउनु हो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने प्रस्ट व्यवस्था गरेको छ । त्यसैगरी सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने कामका लागि एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहनेछ र आयोगमा प्रमुख सूचना आयुुक्त र अन्य दुईजना सूचना आयुक्त रहनेछन् भनिएको छ । तर ती आयुक्त नियुक्तिको लागि योग्यता भने मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको स्नातक हुनुपर्नेछ भनिएको छ । यसरी अन्य विषय पढेकालाई पनि समावेश गरेर सरकारले नीतिगत रूपमै आमसञ्चार एवं पत्रकारिता विषय पढेकालाई अन्याय गरेको छ । ती पद र सूचना अधिकारीको हकमा पनि यही विषयमै स्नातक वा स्नातकोत्तर अनिवार्य गरेको हुनुपर्ने प्रावधान भएमा धेरैले यो विषय पढेरै सरकारी रोजगारी पाउने निश्चित हुनेछ भने यस विषयप्रतिको आकर्षण पनि कायम रहनेछ ।
डाक्टरी गर्न त्यही विषय पढ्नुपर्ने, वकालत गर्न कानुन नै पढ्नुपर्ने तर सूचना र सञ्चारमा काम गर्न यही विषय पढाउने कलेज र जनशक्ति पनि उपलव्ध हुँदाहुँदै चोर बाटोबाट अरुलाई प्रवेश गराउनु ठूलो बेइमानी हो । यो प्रावधानको लागि सरोकारवाला सबैले सरकारलाई दबाब दिनु वा पैरवी गर्न ढिलो गर्नुहुन्न वा आवश्यक परे अदालतमै मुद्दा हाल्न ढिलाइ गर्नुहुन्न ।
कक्षामा रटाएको र किताबको पानामा पढेको—पढाएको जस्तोमात्र पनि कार्यकक्षमा हुँदैन र न्युजरुम वा प्रोडक्सनरुमा बनाएको सबै सामग्री ब्रह्मास्त्र हुन्नन् भनेर बुझ्न यी दुईबीच सहकार्य जरुरी छ । नजानेको सिक्दैमा कोही सानो हुँदैन र सिकाउँदैमा महात्मा पनि भइहाल्दैन । नजानेको काम सानै उमेरकोसँग सिक्न पनि हीनता पाल्नु हुँदैन । जानेको काम बामे सर्दै गरेकोलाई सिकाउन पनि झिँजो मान्न हुँदैन । जिन्दगीले कहिले कसलाई गुरु कहिले कसलाई चेला बनाइराख्छ भन्ने आर्यसत्यलाई मनन गर्नसके ज्ञानले सति जानुपर्ने थिएन ।
अनि हाम्रो पनि कुरा गरौ । पत्रकारितामा स्नातक र स्नातकोत्तर तह उत्र्तिण गरेपनि किताबी ज्ञान बाहेक समाचार लेखन, सम्पादन र भाषिक शुद्धतामा ध्यान दिन नसक्दा न्यूज रुममा हाँसोका पात्र बन्नु परेको छ । हामी पढेका र हामीलाई जे पनि आउँछ भन्ने घमण्ड विद्यमान छ । तर त्यो हैन । त्यसका लागि समाचार लेखन, सम्पादनमा विशेष अनुभव चाहिन्छ । त्यसका लागि मेहनत गर्नुपर्छ । किताबी ज्ञान र समाचार फरक कुरा हुन् । त्यो भनेको इच्छा शक्ती हो । खोज्न, लेख्नका लागि आफूलाई समर्पित गर्न सक्नुपर्छ ।
(लेखक: गोरखापत्र दैनिक काठमाडौंमा पत्रकारिता गर्नुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष, काभ्रे हेडलाईन डटकमका सम्पादक, नेपाल फोटो पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष समेत हुनुहुन्छ । लामो समय पत्रकारिताको बिषयमा प्राध्यापन समेत गर्नुभएका उहाँ बेथानचोक खबर डकटम र खबर चौतारी साप्ताहिकका पूर्व सम्पादक हुनुहुन्छ ।)



















