प्रेस सेन्टर काभ्रेद्धारा शुभकामना आदान-प्रदान

काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रे शाखाले बिजय दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४६ एवम् छठ लगायतका पर्वको अवसरमा शुभकामना आदान-प्रदानसँगै समसामयिक राजनीतिक परिवेशका बारेमा अन्तरक्रिया गरेको छ ।

बनेपामा आयोजित कार्यक्रममा सहभागी राजनीतिक दल तथा सञ्चारकर्मीहरूले लोकतान्त्रिक व्यवस्था, प्रेस तथा अभियोगी स्वतन्त्रताका साथै यसअघिका राजनीतिक उपलब्धि रक्षाको लागि पनि सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने धारणा राखे ।

संविधानसभा सदस्य समेत रहेका नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति सदस्य सूर्यमान दोङले लोकतान्त्रिक व्यवस्था रक्षाको लागि निर्वाचन स्वीकारेर जानुको विकल्प नभएको बताए । वर्तमान व्यवस्थामाथि प्रश्न उठेको र प्रतिगामी र विदेशी शक्तिले टाउको उठाउन खोजेको भन्दै उनले लोकतान्त्रिक शक्तिहरूबीच संवाद र सहकार्य हुनुपर्ने तर्क गरे ।

खानीखोला गाउँपालिकाका अध्यक्ष समेत रहेका माओवादी केन्द्रको बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङले जेन्जी पुस्ताको नाममा भएको आन्दोलनको उपलब्धिबारे ‘शल्यक्रिया’ गर्नुपर्ने बताए । पार्टी र नेताहरू बिग्रिएको कुरा सत्य भएको तर्क गर्दै उनले पार्टी र आन्दोलनलाई नयाँ ढंगलेबाट पठाउनुपर्ने तर्क गरे ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्यालले जेन्जी पुस्ताको आन्दोलनमा २३ गते आफ्नो नैतिक समर्थन र एक्यवद्धता रहेपनि २४ गतेको आन्दोलनमा भएको घुसपेठ र क्षतिबारे गम्भीर छानबिन गर्नुपर्ने बताए । पार्टीहरू निर्वाचनबाट भाग्न नखोजेको भन्दै उनले संसद पुनर्स्थापना गरी संविधान संशोधनमार्फत कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने तर्क गरे ।

बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईले सत्ता र पदमा पुगेपछि पद नछोड्ने प्रवृत्तिका कारण केही समस्या देखिएको तर्क गर्दै दुई कार्यकालभन्दा बढी नपाइने नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद कुमार न्यौपाने, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले समसामयिक राजनीतिक परिवेशबारे आफ्नो धारणा राख्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने अवस्था आउन नहुने बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय