काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानटारमा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ९९७५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट खस्दै तामाकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक भेला भट्टले जानकारी दिनुभयो।
दुर्घटनामा परेर ८ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी मन्थली र खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो।
दुर्घटना लगत्तै स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार कार्य सुरू गरेको प्रहरी नायब उपरीक्षक भेला भट्टले जानकारी दिनुभयो।
बसलाई नदीबाट बाहिर निकालिए पनि केही यात्रु अझै पानीमा बेपत्ता भएको आशंकामा तामाकोसी नदीमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण हालसम्म खुल्न नसके पनि तीव्र गति, सडकको अवस्था वा प्राविधिक गडबडी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ भने मृतक तथा घाइतेहरूको पहिचान गर्ने कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।























