काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छापिइसकेको छ।
शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएकोमा आज थप तीन जिल्लाको काम सम्पन्न भएको हो। अब ११ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको आयोगले जानकारी दिएको छ।
छापिएका सबै जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ। हालसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ गरिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि सुरु भएको हो।























