बुधबार, फाल्गुण ०६, २०८२
काभ्रेको बनेपामा हलिं नेवा गुथिको राष्ट्रिय सम्मेलन हुँदै

काभ्रे ।  नेवा समुदायको साझा संस्था हलिं नेवा गुथिको राष्ट्रिय सम्मेलन काभ्रेको बनेपामा आयोजना हुने भएको छ । हलिं नेवा गुथिं काभ्रे मिसा कचाको आयोजनामा यही फागुन ९ गते शनिबार सम्मेलन हुन लागेको हो ।

पत्रकार सम्मेलनमा काभ्रे मिसा कचा अध्यक्ष अल्का जोशीले सम्मेलनलाई सफल बनाउन सम्पूर्ण नेवा समुदाय र आम काभ्रेबासीमा अपिल गरिन् । काभ्रे जिल्लाकै गौरवको रुपमा सम्मेलन सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको जोशीले बताइन् ।

सम्मेलनमा देशभरका ८० भन्दा बढी शाखाबाट ८ सयदेखि १ हजार जनासम्म प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन बनेपाको कायस्थ बेंक्वेटमा हुनेछ । त्यसअघि बनेपामै सांस्कृतिक पदयात्रासमेत आयोजना हुनेछ । नगर परिक्रमा गर्ने सांस्कृतिक पदयात्रामा लाखे नाच, धिमे बाजा, लाखे प्याख, नेवारी बाँसुरी, नायश्वि बाजा पनि सहभागी गराइने छ ।

फागुन ९ गते शनिबार बिहान ९ः०० बजे बनेपा वकु गणेशस्थान (रेडक्रस पोखरी) बाट नेवारी साँस्कृक्तिक झाँकी पदयात्रा सुरु गरी बनेपा नगर परिक्रमा पछि समयबजीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । १२ः१५ बजेबाट प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा औपचारिक उद्घाटन हुने सम्मेलनको सभापतित्व केन्द्रीय अध्यक्ष सुरेश सैजुले गर्नेछन् । कार्यक्रममा नेवारी परम्परा झल्किने साँस्कृतिक नृत्य, गित, कविता, कथा प्रस्तुतीका साथै सहभागी नेवाः साथीहरु आपसी सद्भाव आदान प्रदान गरी सन्ध्यामा नेवारी भोज (सुकु भ्वयः) खाइसकेपछि सो कार्यक्रम सम्पन्न हुनेछ ।

पत्रकार सम्मेलनमा गुथिका केन्द्रीय अध्यक्ष सुरेश सैंजूले हलिं नेवा गुथि संसारभर रहेका नेवा समुदायको साझा संस्था भएको र नेवा संस्कृतिको संरक्षण संवद्र्धनमा गुथिले काम गर्दै आइरहेको बताए । उनले गुथिले विभिन्न सामाजिक कार्यहरुसमेत गर्दै आइरहेको बताए ।

हलि नेवा गुथि काभ्रे मिसा कचाकी संस्थापक अध्यक्ष इश्वरी वादे श्रेष्ठले प्रत्येक २ वर्षमा गुथिको नेतृत्व परिवर्तनको सम्मेलन आयोजना हुने र यसपटक भने साधारणसभामात्रै हुने जानकारी दिइन् । नेवा संस्कृति, रितिथिति बचाउन सम्मेलनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा लिइएको उनको भनाई छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय