काभ्रे । पुराना र नयाँ राजनीतिक दललाई कडा चुनौती दिँदै स्वतन्त्र उम्मेदवार जीवन लामा यतिबेला काभ्रे क्षेत्र नं. १ का मतदाताको घर–आँगनमा पुगिरहेका छन्। ‘क्याप’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका लामा विकास, सुशासन र जवाफदेहिताको एजेन्डा बोकेर घरदैलो अभियानमा व्यस्त छन्।
उनले हालसम्म महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका, चौरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाका अधिकांश वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिसकेको बताएका छन्। लामाका अनुसार अबको चरणमा धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकाका विभिन्न टोल–टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ।
घरदैलोका क्रममा उनले स्थानीय बासिन्दाका समस्या प्रत्यक्ष सुन्दै समाधानमुखी योजना सार्वजनिक गरिरहेका छन्। “अबको विकल्प: स्वतन्त्र र सक्षम नेतृत्व हो,” भन्ने सन्देशका साथ लामा भन्छन्, “काभ्रे क्षेत्र नं. १ ले अब पुराना आश्वासन होइन, परिणाम दिने नयाँ नेतृत्व खोजेको छ।”
लामाले आफ्नो उम्मेदवारी पद र प्रतिष्ठाका लागि नभई क्षेत्रका बेथिति, भ्रष्टाचार र निष्क्रियताविरुद्धको साहसी अभियान भएको दाबी गरेका छन्। “हामीले अब नीति, निष्ठा र काममा आधारित राजनीति गर्नुपर्छ,” उनले भने, “स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधार मेरो प्राथमिकता हो।”
स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मले लामाको अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएको उनको दाबी छ। लामाको टोलीले घरदैलोमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव संकलन गर्ने र त्यसैका आधारमा कार्ययोजना तयार पार्ने रणनीति बनाएको छ।
काभ्रे क्षेत्र नं. १ मा यसपटक स्वतन्त्र उम्मेदवारको रूपमा जीवन लामा उत्रिनु चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। पुराना दलप्रतिको असन्तुष्टि र नयाँ नेतृत्वको खोजीबीच लामाको उम्मेदवारीलाई मतदाताले कसरी मूल्यांकन गर्छन् भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।
घरदैलो अभियानको तस्बिरहरु:




























