आइतबार, चैत्र २९, २०८२
विश्वसनीयताको आठ वर्ष, अझ जिम्मेवार यात्रातर्फ

बेथानचोक खबर डटकमले आठ वर्षको सफल यात्रा पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ। निजी क्षेत्रबाट सञ्चालित एक व्यावसायिक सञ्चार माध्यमका रूपमा छोटो अवधिमै निरन्तरता, विश्वसनीयता र अग्रणी उपस्थिति कायम गर्नु आफैंमा उल्लेखनीय उपलब्धि हो। यो यात्राले स्पष्ट सन्देश दिएको छ—समर्पित प्रयास, स्पष्ट दृष्टि र सामाजिक उत्तरदायित्वप्रतिको गहिरो बोधले मात्र कुनै सञ्चार माध्यमले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सक्छ।

यस उपलब्धिको श्रेय संस्थागत संरचनालाई मात्र होइन, विभिन्न कालखण्डमा आबद्ध रहनुभएका पत्रकार, कर्मचारी तथा सहकर्मीहरूको अथक मेहनत, इमान्दारिता र समर्पणलाई जान्छ। साथै, पाठकवर्गको अटुट विश्वास, विज्ञापनदाता र सरोकारवालाहरूको साथ–समर्थनले यस यात्रालाई अर्थपूर्ण र सफल बनाएको छ। निजी क्षेत्रबाट दिगो सञ्चार उद्योग निर्माण गर्ने तथा व्यावसायिक पत्रकारितालाई संस्थागत रूप दिने लक्ष्य सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ भन्ने यथार्थलाई यसले पुनः पुष्टि गरेको छ।

वर्तमान समय सूचना प्रवाहको दृष्टिले सहज देखिए पनि चुनौतीपूर्ण बन्दै गएको छ। भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारबाजीको बढ्दो प्रभावले जनमत निर्माण प्रक्रियामा गम्भीर असर पारिरहेको छ। यस्तो परिवेशमा सञ्चार माध्यमको भूमिका झनै संवेदनशील र जिम्मेवार बन्ने गर्दछ। सत्य, तथ्य र सन्तुलित दृष्टिकोण प्रस्तुत गर्नु कुनै विकल्प होइन, यो व्यावसायिक पत्रकारिताको आधारभूत कर्तव्य हो। बेथानचोक खबर डटकम यस मूल्यमान्यताप्रति स्पष्ट, दृढ र अडिग रहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ।

त्यसैगरी, सुस्ताउँदै गएको नेपाली अर्थतन्त्रले सञ्चार क्षेत्रलाई समेत प्रभावित पारेको यथार्थलाई बेवास्ता गर्न सकिँदैन। यद्यपि, चुनौतीहरूकै बीचमा सम्भावनाहरू खोज्दै अगाडि बढ्नु आजको आवश्यकता हो। विगतका उतारचढावसँग जुझ्दै अघि बढेको अनुभवले भविष्यप्रति आशावादी बन्ने आधार प्रदान गरेको छ।

अन्ततः, मुलुकले विभिन्न कठिनाइहरू पार गर्दै विकास, प्रगति र समृद्धिको मार्ग समाउनेछ भन्ने विश्वास हामीमा दृढ छ। यही विश्वासका साथ बेथानचोक खबर डटकमले आफ्नो आगामी यात्रा अझ जिम्मेवार, विश्वसनीय र प्रभावशाली बनाउने अठोट दोहोर्‍याएको छ। यस अवसरमा सम्पूर्ण पाठक, सहयोगी र शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय, निष्पक्ष र विश्वसनीय पत्रकारितामार्फत समाजप्रति आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

सिफारिस

ताजा समाचार

लोकप्रिय