काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ।
आज शीतल निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीसँग भएको भेटमा उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।
राष्ट्रपति पौडेलले आन्तरिक क्षमता वृद्धि र तीव्र आर्थिक विकासमार्फत मात्र विदेशमा रहेका नेपालीहरूको गौरव बढ्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि बढ्न सक्दैन।”
उहाँले सुशासन, विकास र समृद्धितर्फ देशलाई अघि बढाउन गैरआवासीय नेपालीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलका अनुसार नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा ठूलो लगानी सम्भावना रहेको छ। साथै, भारत र चीनजस्ता विशाल बजार नजिक हुनु पनि नेपालका लागि अवसर भएको उहाँले उल्लेख गर्नुभयो।
यस्तो अवस्थामा आर्थिक विकासका लागि आवश्यक पूर्वाधार निर्माण, औद्योगिकीकरण र आन्तरिक उत्पादन वृद्धि तर्फ देश केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ।



















