काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे स्पोर्ट्स क्लबको (केएससी) आयोजनामा भएको “केएससी जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०८२” भव्य रूपमा सम्पन्न भएको छ।
विभिन्न क्लब तथा संस्थाबाट आएका जुनियर खेलाडीहरूको सहभागितामा भएको प्रतियोगितामा राक्सिराङ तेक्वान्दो डोजाङ पहिलो, सेतीदेवी तेक्वान्दो डोजाङ द्वितीय गोलमादेवी तेक्वान्दो डोजाङ तृतीय भए ।
प्रतियोगितामा बुडोल तेक्वान्दो डोजाङ अनुशासित टिम, गोलमादेवी तेक्वान्दो डोजाङका रबिन तामाङ र सेतीदेवी तेक्वान्दो डोजाङका सपना तामाङ उत्कृष्ट खेलाडी घोषणा भए ।कार्यक्रममा उत्कृष्ट अभिभावक सुवासचन्द्र लामा र सहयोगी प्रतापसिं लामा सम्मानित भए ।
केएससीका अध्यक्ष राजेश बोलखेको सभपतित्वमा सम्पन्न खेलको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री बादेले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र स्वास्थ्य विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले नयाँ खेल प्रतिभा पहिचान गर्न तथा खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
केएससीका अध्यक्ष बोलखेले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहयोगी संस्था, अभिभावक तथा खेलाडीहरूलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बनेपा ६ का वडा अध्यक्ष सचितानन्द केसी, धुलिखेल १ का वडा अध्यक्ष सन्त तामाङ , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवा लगायतको सहभागिता रहेको थियो ।



















