काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेटमा (भेप) अवैध सुन राखी तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।
आयोगले महरा, तत्कालीन विमानस्थल भन्सार प्रमुख अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोईराला, रेवन्त खड्का, मधुसुदन पोख्रेलसहित अन्य १७ व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
त्यस्तै ‘राहुल’ रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङ सोङ र दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ र भारतीय नागरिक साहेव रावविरुद्ध पनि मुद्दा दायर भएको छ। आयोगले ती सबै विरुद्ध जनही सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ।



















