काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौंमा आवश्यक पर्दा तत्काल कम्तीमा ५ हजार कार्यकर्तालाई परिचालन गर्न सक्ने संगठनात्मक आधार निर्माण गर्न जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन तथा संगठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
पोखरेलले संकटका बेला कार्यकर्तासँगको सम्पर्क र समन्वय अझ महत्वपूर्ण हुने उल्लेख गर्दै नेतृत्वको क्षमता कठिन परिस्थितिमै परीक्षण हुने बताए। उनले हतारमा गरिने निर्णयले नकारात्मक परिणाम ल्याउन सक्ने भएकाले धैर्यता, एकता र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्ने धारणा राखे।
पार्टीभित्र समस्या मात्र देखाएर निराशा फैलाउने प्रवृत्तिभन्दा समाधानमुखी संस्कृति विकास गर्नुपर्नेमा जोड दिँदै उनले समस्या छ कि छैन भन्नेभन्दा त्यसको समाधान कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको बताए।
निर्वाचन परिणामबारे चर्चा गर्दै पोखरेलले पार्टीले प्राप्त गरेको आन्तरिक रिपोर्ट उत्साहजनक भए पनि नतिजा अपेक्षाभन्दा फरक आएको उल्लेख गरे। उनले जनतासँगको सम्बन्ध कमजोर हुँदा त्यसको असर चुनावी परिणाममा देखिएको स्वीकार गर्दै जनताले एमालेलाई अस्वीकार नगरेको, बरु सबक सिकाउन वैकल्पिक शक्तिलाई मतदान गरेको दाबी गरे।
महासचिव पोखरेलले सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिँदै संगठनलाई चलायमान र अनुशासित बनाउन नियमित सदस्यता नवीकरण आवश्यक रहेको बताए। जनसंगठनहरूलाई समुदायमा पुगेर सदस्यता विस्तार गर्न र जनतासँग प्रत्यक्ष सम्बन्ध बलियो बनाउन पनि उनले आग्रह गरे।
यसै क्रममा उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई नेपालको भू-राजनीतिक संवेदनशीलताविपरीत र राष्ट्रिय हितविरुद्धको अभिव्यक्ति भएको टिप्पणी गरे। उक्त विषयमा जनतालाई सुसूचित गराउन तथा राजनीतिक रूपमा प्रतिवाद गर्न जनसंगठनहरूलाई सक्रिय हुन उनले निर्देशन दिए।
बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसंगठनहरूको भूमिकाको समीक्षा गरेका थिए। सो अवसरमा उनले संयोजकको जिम्मेवारी विशाल भट्टराईलाई हस्तान्तरण गरे। नयाँ जिम्मेवारी सम्हाल्दै भट्टराईले काम गर्नेहरू अलोकप्रिय र काम नगर्नेहरू लोकप्रिय बन्ने अवस्था स्वीकार्य नहुने बताए। बैठकले निवर्तमान संयोजक ढकालको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको जनाएको छ।



















