काभ्रे । एक महिनादेखि हराइरहेका सशस्त्र प्रहरीका असई र एक युवती काभ्रेपलाञ्चोकको पाँचखालमा मृत अवस्थामा भेटिएका छन्।
पर्साको बहुदरमाई–८ रामनगरी घर भएका सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टर पाँचखालमा कार्यरत असई शक्ति राम र कैलाली घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उनीहरू पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा एउटै रुखमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार शव सडेको अवस्थामा फेला परेको र घटनाको समय केही दिनअघि नै भएको हुनसक्ने अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना सम्पर्कविहीन भएपछि खोजतलास भइरहेको थियो।
उनीहरूको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















