काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ६ वटा विभिन्न उपसमिति गठन गरेको छ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरेको हो।
समिति सभापति डा. ओजश्वी शेरचनका अनुसार प्रतिनिधिसभा नियमावली अनुसार उपसमितिहरू गठन गरिएको हो र सबै उपसमिति सम्बन्धित समितिका सभापतिको मातहतमा रहनेछन्।
परामर्श तथा समन्वय उपसमितिमा विभिन्न सांसदहरू सदस्य रहेका छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता, शिक्षा, विज्ञान–प्रविधि, सूचना–सञ्चार र खेलकुद सम्बन्धी अध्ययनका लागि छुट्टाछुट्टै उपसमितिहरू बनाइएको समितिले जनाएको छ।
उपसमितिहरूको संयोजनको जिम्मेवारी सम्बन्धित समिति सभापतिले नै गर्ने व्यवस्था गरिएको छ।



















