काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको लक्ष्यमा प्रतिबद्ध भएर अघि बढिरहेको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित विकास बहससम्बन्धी कार्यक्रममा बोल्दै उनले नागरिकहरूको परिवर्तनप्रतिको आकांक्षालाई सम्बोधन गर्न सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
मन्त्री खनालले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्य हासिल गर्न मूर्त र दिगो विकास साझेदारीलाई अघि बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहयोगमार्फत नेपालको राष्ट्रिय हितलाई अघि बढाउने काम भइरहेको छ। उनले विकास साझेदारहरूसँगको सहकार्य सुदृढ गर्दै अन्तर्राष्ट्रिय सहयोग परिचालन र बहुपक्षीय मञ्चहरूमा नेपालको प्राथमिकता प्रभावकारी रूपमा प्रस्तुत गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे।
उनले भने, “हाम्रा नागरिकका अपेक्षाहरू फेरिएका छन्, ती आकांक्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ।”
मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्र सामाजिक संघ–संस्थाहरूको काम प्रभावकारी बन्न सक्ने बताउँदै विकास साझेदार संस्थाहरूले दिगो शान्ति, विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राखे।



















