काठमाडौँ । बढ्दो गर्मी र उच्च तापक्रमका कारण बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख रविलाल मिजारका अनुसार पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको हो।
नगरपालिकाले २५ जेठदेखि २७ जेठसम्म नगरभित्र सञ्चालित ३३ सामुदायिक र ५० संस्थागत विद्यालयमा नियमित पठनपाठन स्थगित गरेको जनाएको छ।
शाखा प्रमुख मिजारले वर्षा भएर तापक्रममा कमी आए तीन दिनपछि विद्यालय सञ्चालन हुने बताए। तर गर्मीको अवस्था यथावत् रहे थप दुई दिन बिदा थप्न सकिने संकेत पनि दिएका छन्।
उच्च तापक्रम र तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सावधानीस्वरूप यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।




















