काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिले नेपालले नै भारतको भूमि अतिक्रमण गरेको सन्देश दिन खोजिएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट धारणा राख्दै उनले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय गम्भीर बनेको भन्दै प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने अडान दोहोर्याए।
थापाले नेपाली जनताले लामो समयदेखि नेपालको भूमि अतिक्रमणविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट उल्टै नेपालले भारतको सीमा मिचेको भन्ने धारणा स्थापित गर्न खोजिएको दाबी गरे। उनले उक्त अभिव्यक्तिको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू र नेपाली सेना समेत लागेको आरोप लगाए।
“यो राष्ट्रिय महत्वको विषय हो, यसको समाधान गर्ने जिम्मेवारी सबैको हो,” उनले भने।
थापाले प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण पर्याप्त नभएको पनि बताए। “स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ किन संसद्मा आएर जवाफ दिन चाहनुहुन्न ? यो स्वेच्छाचारिता हो कि अधिनायकवादी प्रवृत्ति ?” भन्दै उनले प्रश्न उठाए।




















