काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रमेशकुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाजस्ता संवेदनशील विषयमा संसद् विभाजित हुनु दुःखद् भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमासम्बन्धी विषयमा सबै राजनीतिक दलबीच साझा धारणा र एकता आवश्यक रहेको बताए। उनले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने मागसमेत गरे।
“राष्ट्रियतासँग जोडिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता हुनुपर्छ,” उनले भने, “संसद्को अभिलेखमा रहेका ती शब्दहरू पनि हटाइनुपर्छ।”
सांसद हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै ती क्षेत्रमाथिको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा स्पष्ट रहेको बताए।
उनले नेपालको आत्मसम्मान, राष्ट्रिय गौरव र सार्वभौमसत्ताको रक्षा गर्नु सबै राजनीतिक शक्ति तथा राज्य संयन्त्रको साझा दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आग्रह गरे।




















