काठमाडौं । कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उद्योगमा भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ। कतारस्थित भारतीय दूतावासका अनुसार मृत्यु हुनेमध्ये १२ जना भारतीय नागरिक रहेका छन्।
दूतावासले जारी गरेको जानकारीअनुसार उक्त घटनामा ६६ जना घाइते भएका छन्। मृतकहरूको पार्थिव शरीर यथाशीघ्र भारत पठाउने तयारी भइरहेको जनाइएको छ।
घटनाबाट प्रभावित भारतीय नागरिक तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन भारतीय दूतावास कतारी अधिकारीहरूसँग निरन्तर समन्वयमा रहेको बताइएको छ।
मिडिया रिपोर्टका अनुसार गत मार्चमा भएको इरानी आक्रमणपछि बन्द रहेको उक्त ग्यास उद्योग पुनः सञ्चालनमा आएको थियो। उद्योगमा कामदारहरू कार्यरत रहेका बेला विस्फोट भएको जनाइएको छ।















