काठमाडौं । राष्ट्रियसभाको सोमबार बसेको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्बासी, किसान, खानेपानी, शिक्षा, सीमावर्ती नाका र कृषि निर्यातलगायत जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीहरूको माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
सांसद जगत तिमिल्सिना र रोशनी मेचेले नेपालको संविधान तथा बालबालिकासम्बन्धी ऐनअनुसार १८ वर्षमुनिका व्यक्तिलाई राजनीतिक दलको सदस्य बनाउन नपाइने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय धान दिवसको सन्दर्भमा सांसद मीना सिंह रखालले किसानलाई पानी, मल र बीउको अभाव हुन नदिन सरकार सचेत हुनुपर्ने बताइन्। सांसद रञ्जित कर्णले सप्तरीको राजविराजमा लालपुर्जा माग गर्दै आन्दोलनरत किसानहरूको माग सम्बोधन गर्न आग्रह गरे।
सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालित सेतो नम्बर प्लेटको सवारीसाधनमा रातो नम्बर प्लेट प्रयोग गरिएको भन्दै त्यसको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद वासुदेव घिमिरेले हालै सम्पन्न कक्षा १२ को परीक्षामा देखिएका त्रुटिप्रति आपत्ति जनाउँदै सुधारको आवश्यकता औँल्याए।
त्यसैगरी, सांसद सम्झना देवकोटाले गोरखाको हिमाली क्षेत्रमा रहेका दुईवटै सीमा नाका बन्द हुँदा स्थानीय जनजीवन प्रभावित भएको उल्लेख गर्दै कम्तीमा पर्यटकीय पदमार्ग सञ्चालनका लागि भए पनि नाका खोल्न माग गरिन्।
सांसद सोमनाथ पोर्तेलले सुपारी निर्यातमा अवरोध भएको विषय उठाउँदै सुपारीको डीएनए परीक्षण गर्ने निर्णय फिर्ता लिन र किसानको हितअनुकूल नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरे।















