बिहिबार, आषाढ १८, २०८३
मुन्दुम पदमार्ग क्षेत्रका पर्यटन व्यवसायीलाई आतिथ्य र दिगो पर्यटन व्यवस्थापन तालिम

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको आयोजना तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको सहकार्यमा मुन्दुम पदमार्ग क्षेत्रका पर्यटन व्यवसायी तथा सरोकारवालाका लागि तीनदिने आतिथ्य व्यवस्थापन, सरसफाइ तथा दिगो पर्यटन व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।

असार १६ देखि १८ गतेसम्म टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुस्थित गोठेसिंह होमस्टेमा सञ्चालन गरिएको तालिममा मुन्दुम पदमार्ग क्षेत्रमा पर्ने षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका तथा खोटाङको साकेला गाउँपालिकाका २८ जना प्रतिनिधिको सहभागिता रहेको थियो।

तालिममा पर्यटन सेवाको गुणस्तर अभिवृद्धि, होमस्टे सञ्चालन, पाहुना सत्कार, खाद्य स्वच्छता, सरसफाइ तथा दिगो पर्यटन व्यवस्थापनका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। मुख्य प्रशिक्षक मोहनबहादुर गजुरेल र सहप्रशिक्षक प्रशान्त वडालले स्थानीय पर्यटनलाई आयआर्जनसँग जोड्न गुणस्तरीय सेवा, स्थानीय संस्कृति संरक्षण तथा वातावरणमैत्री पर्यटन अभ्यास अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

तालिमको समापन कार्यक्रम गाउँपालिका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष रमादेवी राई, वडा नं. ३, ८ र ९ का वडा अध्यक्षहरू तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाकी सामाजिक सुरक्षा अधिकृत एवं कार्यक्रम संयोजक पार्वती रानालगायतको उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले मुन्दुम पदमार्ग क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थानीय समुदायको क्षमता विकास आवश्यक रहेको बताउनुभयो। उपाध्यक्ष राईले तालिमबाट हासिल भएको ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै होमस्टे तथा स्थानीय पर्यटन सेवाको गुणस्तर थप उकास्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिममा सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आतिथ्य सेवा, सरसफाइ र दिगो पर्यटन व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय