एजेन्सी । भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा ७ जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। बिहीबार राति भएको दुर्घटनापछि ३ जना कामदार अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।
राज्यद्वारा सञ्चालित जलविद्युत् परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत् निगमको निर्माणस्थलबाट १९ जना कामदारको उद्धार गरिएको छ। घाइते १३ जनाको उपचार भइरहेको छ।
उद्धारकर्मीहरूले पानी भरिएको सुरुङभित्र अस्थायी डुङ्गाको प्रयोग गरी बेपत्ता कामदारको खोजी गरिरहेका छन्। पछिल्ला दिनमा परेको भारी मनसुनी वर्षाका कारण उत्तराखण्डमा बाढी र पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन्।
वातावरणविद्हरूले कमजोर हिमाली भूभागमा अव्यवस्थित तथा अत्यधिक विकास परियोजना सञ्चालन गर्दा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको चेतावनी दिँदै आएका छन्।











