शुक्रबार, भाद्र ०५, २०८३
रास्वपाको केन्द्रीय समितिमा ९ सदस्य थपिए, विभिन्न विभागको जिम्मेवारी तोकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गर्दै नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत तोकेको छ।

पुरुषोत्तम सुप्रभात यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा जगदीश खरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

यस्तै डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्तामा मनोनयन गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो।

पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया पनि अघि बढाएको छ। महामन्त्री आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई सुझाव समेटेर अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिने भएको छ। स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।

बैठकले विभिन्न विभागका प्रमुख तथा उपप्रमुखसमेत तोकेको छ। संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी र अर्थ विभागमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ।

यसैगरी, आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ। मधेसमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि संगठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ।

रास्वपाको विधानअनुसार सभापति एक, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, मनोनित ५१ र सात प्रदेश सभापति पदेन केन्द्रीय सदस्य रहने गरी १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय