काठमाडौँ । कोशी नदीको कटानबाट बराहक्षेत्र धाममा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि सरकारले प्राविधिक अध्ययन गर्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बराहक्षेत्रमा स्थानीयवासी, जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिसँग छलफल गर्दै धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो।
कोशी नदीले वर्षेनी कटान गर्नुका साथै बाढीका क्रममा गेग्रान ल्याउने भएकाले धाम जोखिममा परेको उहाँले बताउनुभयो। नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रममार्फत संरक्षणका आवश्यक संरचना निर्माण गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो।
विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठले बराहक्षेत्र मन्दिर व्यवस्थापन समितिले तयार गरेको डीपीआर अध्ययन गरी थप प्राविधिक काम अघि बढाइने बताउनुभयो।











